अचेल काठमाडौंको बिजुलीबजारको आर्कब्रिजमा झिलिमिली बत्ती राखेसँगै राति अबेलासम्म पुलमा रौनक देखिन थालेको छ।
काठमाडौं महानगरको वडा नम्बर १० र ११ र मा पर्ने बिजुलीबजारको आर्कब्रिजमा फलामे डण्डीमा पहेँलो रंगको झिलिमिली बत्ती राखेसँगै अहिले मानिसहरू फोटो खिच्न र टिकटकका लागि भिडिओहरू बनाउन आउनेको लर्को लाग्न थालेको छ। फोटो र भिडिओ बनाउनकै लागि कतिपय मानिस त राति गाडी चढेरै आउने गरेका छन्।
अहिले पुलमा झिलिमिली बत्ती राखेसँगै सबैको आकर्षण केन्द्रबिन्दु बिजुलीबजारको आर्कब्रिज बनेको महानगरपालिका १० का वडाध्यक्ष रामकुमार केसी बताउँछन्।
उनका अनुसार यो पुल निर्माण कार्य केही वर्षअघि भएता पनि केही साताअघि मात्रै झिलिमिली बत्ती जडान कार्य सम्पन्न भएको हो।
'यो झिलिमिली बत्ती जडान गरेको धेरै समय भएको छैन,' उनले भने, 'पहिले रंगीचंगी बत्ती राखिएको थियो। त्यो हटाएर एकैनासे बत्ती जडान गरिएको हो।'
यस्तै, टेण्डरमा एकमुष्ठ काम भइरहेको हुँदा यस पुलमा बत्ती जडान गर्न कति लागत लागेको यकिन नभइसकेको उनी बताउँछन्।
'सबै ठाउँमा काम सकिएपछि कुन ठाउँमा कति लागत लाग्यो थाहा हुन्छ,' उनले भने।
यस्तै, यो बत्तीमा सेन्सर जडान गरिएको छ। जसले गर्दा उज्यालो भएपछि आफैं निभ्ने र अँध्यारो भएपछि आफैं बल्छ।
वडाध्यक्ष केसीका अनुसार महानगरको ‘सुन्दर महानगर कार्यक्रम’ मा पहिलो चरणमा पुलहरूमा विद्युतीय बत्ती जडान गर्ने योजना रहेको छ। जसको लागि २५ करोड बजेट विनियोजन गरिएको उनले बताए।
यस्तै, महानगरलाई उज्यालो सहर बनाउन समेत काम गरिरहेको उनले बताए।
'राति काठमाडौं महानगरको कुनै पनि ठाउँमा हिँड्दा कसैले असुरक्षित महशुस गर्न नपरोस्,' उनले भने, 'त्यसको लागि समेत काम भइरहेको छ। त्यसको टेन्डर आह्वानको काम समेत भएको छ।'