काठमाडौं महानगरपालिकाले विश्व सम्पदामा सूचीकृत बसन्तपुर दरबार क्षेत्रमा प्राचीन स्मारक तथा धार्मिक आस्थामा आँच आउने खालका गतिविधि गर्न रोक लगाएको छ।
दरबार परिसरमा पर्यटकहरूलाई व्यापारीहरूले सामान किन्न भन्दै हैरानी दिन थालेपछि दरबार परिसरमा किनबेच गर्न रोक लगाइएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए।
उनका अनुसार अहिले परिसरभित्र पर्यटकलाई असहज हुने गरी कुनै पनि सामान बिक्री गर्न पाइँदैन।
‘हातमा बोकेर परिसरभित्र पानी चिया, पोष्टर र मकै किनबेच गर्न निषेध गरिएको छ,’ उनले भने, ‘यस्तै दरबार परिसरभित्र माग्न समेत पाइँदैन।’
सम्पदा क्षेत्र संरक्षणका लागि पहिले भएको कानुनलाई अहिले पालनामात्र गरेको उनी बताउँछन्। सिने जगतसम्बन्धी गतिविधि गर्न भने महानगरले रोक नलगाएको उनी बताउँछन्। यसका लागि प्रक्रिया सरल भएको उनले बताए।
‘प्यान र चुक्ता पुर्जी भए सहजै अनुमति पाइन्छ,’ उनले भने, ‘पुरातत्व विभागबाट पत्र लिएर आएपछि हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यालयमा निवेदन दिए फिल्म छायांकन गर्न पाइन्छ।’
नेपाली फिल्म एकदिन छायांकन गर्न २० हजार रुपैयाँ तोकिएको छ भने म्युजिक भिडिओका लागि १० हजार रुपैयाँ तोकिएको छ।
यस्तै दरबार परिसरमा राति सुत्न, बास बस्न समेत नपाइने भएको छ।
‘रातको समय सम्पदा परिसरभित्र त्यस्ता गतिविधि हुँदा मन्दिर फोहोर हुन्छ’, उनले भने, ‘त्यसैले हामीले यसमा पनि रोक लगाएका हौं।’
दरबार परिसरमा पोष्टर टाँस्न र कुनै पनि विज्ञापन गर्न पाइँदैन। परिसरभित्र राजनीतिक सभा, सम्मेलन एवं कार्यक्रम पनि गर्न नपाइने उनी बताउँछन्। स्थानीय संस्कृति एवं दरबार क्षेत्र लक्षित परम्परागत कार्यक्रमका लागि भने महानगरसँग पूर्वअनुमति लिनुपर्ने उनले बताए।