सौन्दर्य प्रतियोगिताका परम्परागत मापदण्डलाई चुनौती दिँदै मिस युनिभर्स नेपाल-२०२३ को उपाधि जेन दीपिका ग्यारेट एलिजाबेथ बोहोराले जितेकी छन्।
अमेरिकाको वासिङ्टन डिसीमा जन्मेकी २२ वर्षीया दीपिकाले गोदावरीमा भदौ २३ गते भएको ग्रान्ड फिनालेमा मिस युनिभर्स नेपाल २०२३ को ताज पाएकी हुन्।
आम सौन्दर्य प्रतियोगिताको मापदण्डलाई चिर्दै मिस युनिभर्सको ताज पाउँदा एकदमै खुसी भएको उनी बताउँछिन्।
‘मिस युनिभर्स नेपाल जित्दा एकदमै खुसी लागेको छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘मिस युनिभर्स जितेर आम ब्युटी स्ट्यान्डर्डभित्र नपर्ने, मानसिक र शारीरिक समस्यासँग जुधिरहेका प्लस साइजका महिलाको प्रतिनिधित्व गर्न पाउँदा एकदमै खुसी लागेको छ।’
मिस युनिभर्स नेपालमा सहभागी हुने बेला ताज पाउनु दीपिका स्वयंका लागि कल्पना बाहिरको कुरा थियो। समाजले बनाएको कथित ब्युटी स्ट्यान्डर्डभित्र पर्दिनँ भन्ने कुराको राम्रो हेक्का उनमा थियो।
अहिले मिस युनिभर्स नेपालको ताज पहिरिएपछि धेरैले सौन्दर्य प्रतियोगिताको ब्युटी स्ट्यान्डर्ड ब्रेक गरेको प्रतिक्रिया दिने गरेको उनी बताउँछिन्।
‘अहिले धेरैले ब्युटी पेजेन्टको स्ट्यान्डर्ड ब्रेक गरेको भनेर बधाई दिनुभएको छ,’ उनले भनिन्, ‘मैले सौन्दर्य प्रतियोगिता जितेपछि ब्युटी पेजेन्टलाई हेर्ने नजरियामा समेत परिवर्तन आएको भनेर म्यासेज गर्नुहुन्छ। यो देख्दा र सुन्न पाउँदा एकदमै खुसी लाग्छ।’
यसो त दीपिका अनुभव लिनुका साथै आत्मबल बढाउन र फेसनसम्बन्धी ज्ञान लिने उद्देश्यका साथ मिस युनिभर्समा भाग लिएकी थिइन्। तर बिस्तारै सिक्दै र बुझ्दै जाँदा उनी ताज जित्न लागिपरिन्।
बाल्यकालदेखि नै मानसिक स्वास्थ्यसँग जुधेकी उनको बाल्यकाल कठिन नै थियो।
‘मानसिक स्वास्थ्यसँग लडिरहँदा मलाई मान्छेको अगाडि बोल्नसमेत डर लाग्थ्यो,’ उनले भनिन्,‘सबैले जिस्काउने र मनोबल घटाउने कारणले गर्दा म सबैसँग त्रसित हुन्थें।’
मनोबल बढाउन आफैंले बिस्तारै काम गर्दै अघि बढ्नुपर्नेमा दीपिका जोड दिन्छिन्। आफूले आफ्नो मनोबल बढाउँदै अघि बढेमात्र जीवनमा सफल हुन सक्ने उनको विश्वास छ।
उनलाई सानैदेखि सौन्दर्य प्रतियोगितामा भाग लिने इच्छा थियो। तर सानोमा आफ्नो मानसिक र शारीरिक बिरामीले ती आकांक्षालाई मारेको उनी बताउँछिन्।
‘मेरो शरीरको तौलले गर्दा आत्मविश्वास एकदमै कम थियो,’ उनले भनिन्,‘म बाहिरी रूपले समेत आकर्षक बनावट भएकी महिलामा पर्दिनँ। तर जब मिस युनिभर्समा सहभागिता जनाएँ। यी सबै कुराबाट मुक्त हुँदै गएँ। म अरूभन्दा फरक भएका कारणले नै राम्री छु भन्ने कुरा झन् राम्ररी बुझें।’
नेपालको कानुनअनुसार गैरआवसीय नेपालीले नेपालमा सोझै काम गर्न पाउने प्रावधान थिएन। त्यही भएर दीपिका नर्सिङ पढाइ सकेर विदेश जाने सोचमा थिइन्। सोही बीचमा उनले अनुभव बटुल्न एक जिममा म्यानेजरको रूपमा काम गरिन्।
‘जिममा म्यानेजरको रूपमा काम गर्दैगर्दा मैले मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेललाई भेटें,’ उनले भनिन्, ‘मैले सोफियालाई मलाई पनि मिस युनिभर्समा जाने इच्छा छ भनेर सुनाएको थिएँ।’
सोफिया र साथीहरूले पनि सहभागी हुन र आफ्नो लक्ष्य प्राप्तिका लागि प्रोत्साहित गरेपछि फाराम भरेको उनी सुनाउँछिन्।
‘त्यतिबेला लिएको एक कदमले अहिले मेरो जीवन परिवर्तन भएको छ,’ उनले भनिन्।
दीपिका भविष्यमा मोडल र प्रेरणादायी वक्ता बन्न चाहन्छिन्।
‘मलाई मोडल, गायिका र प्रेरणादायी वक्ता बन्न मन छ,’ उनले भनिन्, ‘मलाई बडी पोजिटिभिटीबारे सबैलाई जानकारी गराउन मन छ।’
जीवनमा कसले के भन्छ भनेर पछि लाग्नुको सट्टा आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न र मेहनत गरी लागि पर्न उनी सुझाउछिन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी