दुई वर्षदेखि बन्द रहेको काठमाडौंको खुलामञ्च फेरि सर्वसाधारणका लागि खुला हुने भएको छ।
खुलामञ्चमा हरियाली बनाएर फेरि सर्वसाधरणको पहुँचमा हुने गरी खुला गरिन लागेको काठमाडौं महानगरपालिका-२८ का वडाध्यक्ष भाइराम खड्गीले जानकारी दिए।
उनका अनुसार खुलामञ्चको नामजस्तै सबैको लागि खुला गरिने भएको हो। जसका लागि चौरमा दुबो रोप्न यसअघि खुलामञ्चमा निर्माण भएका कंक्रिट ढलान पनि डोजर चलाएर सबै हटाइएको छ।
‘नामजस्तै खुलामञ्च आफैंमा खुला हो,’ उनले भने, ‘पहिले जसरी नै हरियाली र व्यवस्थित बनाएर खुलामञ्च सर्वसाधारणका लागि पनि खुला गरिनुपर्छ भनेर महानगरपालिका लागि परेको हो। त्यसको लागि थप व्यवस्थित बनाउँदै छौं।’
२०७८ वैशाख १५ देखि खुलामञ्च बन्द गरिएको थियो। महानगरपालिकाका मेयर बालेन शाहले गत जेठमा खुलामञ्च खोल्ने भनेका थिए। त्यसको व्यवस्थापनको जिम्मेवारी भने महानगरका २७ र २८ का दुई वडाध्यक्षलाई दिने निर्णय भएको थियो।
‘खुलामञ्चमा जसरी पहिले गोष्ठी र आमसभा हुन्थे, त्यस्ता आमसभासमेत गर्न दिने गरी खुला गर्न लागेका छौं,’ उनले भने, ‘तर त्यसका लागि पहिले हरियाली र राम्रो बनाउँदैछौं।’
भूकम्पपछि भत्किएको दरबार हाई स्कुल पुनर्निर्माण गर्दा र वीर अस्पतालको निर्माण सामग्री खुलामञ्चमा राखिएको थियो। भूकम्पअघि स्थानीयले जसरी खुलामञ्च प्रयोग गर्न पाउँथे अब झन् व्यवस्थित ढंगले प्रयोग गर्न पाउने वडाध्यक्ष खड्गीको भनाइ छ।
‘पहिलेका दिनहरूमा वडा नम्बर २४, २७ र २८ का स्थानीयहरू जसरी यहाँ फुटबल, क्रिकेट खेल्न र बिहान-बेलुकी हिँडडुल गर्न आउँथे, अब पुनः सोही वातावरण बनाउँदै छौं,’ उनले भने, ‘विज्ञहरूलाई अपाङ्गमैत्री हुनेगरी नक्सा बनाउन आग्रह गरेका छौं। उहाँहरूले नक्साको काम गर्दै हुनुहुन्छ।’
खड्गीका अनुसार विज्ञहरूले बनाउने खुलामञ्चको नक्सामा वरिपरि हिँड्नका लागि ट्र्याक बनाइने छ। बीचमा भने दुबो रोपेर मैदान बनाउने योजना छ। जुन बिहान-बेलुका खेल्नको लागि प्रयोग हुनेछ भने दिउँसो आमसभा गर्न।
खुलामञ्चलाई हरियाली बनाउने भनेर महानगरका जनप्रतिनिधिको एक वर्षे कार्यकाल पूरा भएको अवसर पारेर ३०० भन्दा बढी रूख रोपिएको खड्गीले बताए।
यसो त उनी ती बिरूवा रोप्दासमेत विशेष ख्याल पुर्याएको बताउँछन्।
‘हामीले वृक्षारोपण गर्ने भन्दैमा जुन पायो त्यहीँ बिरूवा रोपेका छैनौं,’ उनले भने, ‘काठमाडौंमा जनघनत्व बढी र बिरूवा कम छन्। त्यसैले विज्ञले सुझाएअनुसार अक्सिजन दिने बिरूवाहरू रोपेका थियौं।’
खुलामञ्चलाई कसरी बनाउने भनेर अझै डिजाइनिङको काम भइरहेको हुँदा कति खर्च लाग्छ भन्ने कुरा एकिन नभएको खड्गी बताउँछन्।
‘नक्सा कोर्नेलगायत सबै काम सकिएपछि मात्रै अनुमानित खर्च कति लाग्छ थाहा हुन्छ,’ उनले भने।
खड्गीका अनुसार खुलामञ्च पहिले जसरी नै निःशुल्क गर्ने कि निश्चित शुल्क निर्धारण गर्ने भन्ने कुराको अहिलेसम्म निधो भएको छैन।
‘आमसभा गर्न वडाको अनुमति लिनुपर्ने र शुल्क निर्धारण गर्ने विषयमा केही छलफल भएको छैन,’ उनले भने, ‘निर्माण कार्य सकिएपछि महानगरपालिकाबाट नै त्यसबारे निर्णय गर्ने छौं।’
खुलामञ्च २४ सै घन्टा खुला गरिँदा त्यहाँभित्र अनैतिक काम हुने हो कि भन्ने खड्गीको आशंका छ।
‘२४ सै घन्टा खुला गरिँदा अनैतिक काम हुन्छ,’ उनले भने, ‘त्यही भएर निश्चित समयअवधि तोकी सुरक्षाको व्यवस्था मिलाएर खोल्छौं।’
२०७३ वैशाख २२ गते पुरानो बसपार्क भएको स्थानमा महानगरपालिकाले काठमाडौं भ्यू टावर बनाउने भएपछि खुलामञ्च अतिक्रमण गरी अस्थायी बसपार्क निर्माण गरिएको थियो। उक्त अस्थायी बसपार्क २०७७ मा महानगरले हटाउने निर्णय गरेको थियो। महानगरले खुलामञ्चमा भएका बसपार्कका संरचना हटाई २०७८ वैशाख १६ गते सबै संरचना डोजर लगाएर हटाएको थियो।
त्यसपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत वर्षको इन्द्रजात्रा र दशैं-तिहारमा कोर सिटीमा ट्राफिक व्यवस्थापन गर्न चार पाङ्ग्रे सवारी साधन पार्क गर्न खुलामञ्चमा खोलिएको थियो।
यसअघि खुलामञ्चमुनि तीनतले भूमिगत पार्किङ बनाउने योजनासमेत बनाइएको थियो। जसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न गत कात्तिकमा नगर विकास कोषलाई दिने निर्णय भएको थियो।
‘अकुपाई टुँडिखेल’ अभियानकर्ताले भने मध्य सहरको खुला चउर मासिने र जलभण्डारमा क्षति पुग्ने भन्दै विरोध गरेका थिए।
त्यसपछि भूमिगत पार्किङ बनाउने निर्णयबाट महानगरपालिका पछि हटेको थियो।
यो पनिः
यस कारण गलत छ खुलामञ्चमुनि पार्किङ