काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा रथ यात्रा, लाखे, पुलुकिसी, सवाभक्कु लगायत नाच कुन ठाउँमा छन् भन्ने जानकारी दिन 'गल्ली म्याप्स' एप्ससँग सहकार्य गरेको छ।
मानिसले कुनै सूचना थाहा नपाएर जात्रा हेर्नबाट बञ्चित नहोऊन् भनेर इन्द्रजात्राका विभिन्न क्रियाकलाप कहिले कुन ठाउँमा हुन्छ भन्ने कुरा समेटी जात्राका लाइभ सूचना 'गल्ली म्याप्स' एप्सबाट दिइएको एप्सका सह- संस्थापक जनम महर्जनले जानकारी दिए।
उनका अनुसार एप्स प्रयोग गरी जात्राका कुन क्रियाकलाप कुन ठाउँमा र आफूभन्दा कति पर छ भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ।
‘कुनै बेला तपाईं लाखे हेर्न घण्टौं कुर्नुहुन्छ तर पनि लाखे नहेरी फर्कनुहुन्छ,’ उनले भने, ‘किनभने लाखे आएर गयो कि आउँदैछ भन्ने कुरा नै थाहा हुन्न। तर अब त्यतिकै फर्किनु पर्दैन। लाखे हेर्न घरबाट निस्कनु अगावै एप्सबाटै लाखे, पुलुकिसी, सवाभक्कु भएको ठाउँमा जान सक्नुहुन्छ।’
पहिले लाखे, पुलुकिसी, सवाभक्कु लगायतसँग हिँड्न एक जना मान्छे राख्नुपर्ने र उसैले सबैलाई कता आइपुगेको भनेर जानकारी दिनुपर्ने स्थिति रहेको उनी बताउँछन्।
'जात्रा मनाउने मान्छेहरू लाखे, पुलुकिसी, सवाभक्कुलाई पूजा गर्न थाली लिएर घरबाहिर बसिरहनुहुन्थ्यो,' उनले भने, 'त्यतिबेला स्थानीयको कामै लाखे पुलुकिसीसँग हिँड्ने मान्छेलाई बारम्बार फोन गरेरे कता आइपुग्यो भनेर सोध्नुहुन्थ्यो।'
तर अब एप्समा लाखे, पुलुकिसी, सवाभक्कु कुन ठाउँमा छन् भनेर हेरी मात्र घरबाहिर पूजा गर्न निस्किँदा हुन्छ। पहिले बाहिर घण्टौं कुरेर पूजा गर्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।
यसो त महर्जन यस एप्सले प्रविधि र संस्कृतिलाई जोड्न समेत मद्दत पुगेको जिकिर गर्छन्।
'हामीले नेपालमा पहिलोपटक प्रविधि र संस्कृतिलाई सँगै जोडेर लाने प्रयास गरेका छौं,' उनले भने, 'अहिलेसम्म यसरी कुनै पनि एप्सले संस्कृति र प्रविधिलाई सँगै लिएर हिँड्ने काम गरेको थिएन।'
उनका अनुसार लाइभ लोकेसन दिन लाखे, पुलुकिसी, सवाभक्कु र रथमा जिपिएस जडान गरिएको छ। जसले गर्दा ती कुन ठाउँमा छन् भनेर लाइभ लोकेसन देख्न सकिन्छ। त्यसैगरी सात दिनसम्म मनाइने इन्द्रजात्राका सबै दिनका गतिविधिहरू कता भइरहेका छन् भनेर लाइभ थाहा हुने उनले बताए।
पहिले काठमाडौंमा आफूहरू पनि जात्रा हेर्न जाँदा जात्रा कता भइरहेको छ भनेर थाहा नहुँदा जात्रा हेर्न नपाएको हुँदा यो उपाय निस्किएको उनी बताउँछन्।
'पहिले साथीहरूसँग हामी काठमाडौंमा जात्रा हेर्न जान्थ्यौं,' उनले भने, 'तर जात्रामा लाखे हेर्न कुरेर बस्यो, आउँदैनथ्यो। कुनै बेला त घुमिरहेको बेला रथयात्रा भएको पनि हेर्न छुटेको हुन्थ्यो। यी सबै कुरा कता के के भएका छन् भन्ने कुरा थाहा नपाएरै हुने गर्थ्यो। त्यसैको समाधानका लागि पनि यो एक उपाय निकालिएको हो।'
आफूले भोगेको समस्या अरूले भोग्न नपरोस् भनेर गल्ली एप्सका संस्थापकहरू काठमाडौं महानगरपालिका गए। त्यहाँ आफ्ना योजना सुनाए। महानगरले पनि साथ दिने भएपछि उनीहरू झन् उत्साहित भए।
'हामीले गल्ली एप्स त दुई वर्षअघि नै बनाएका थियौं,' उनले भने, 'अरू काम गर्नुपर्दैन थियो। इन्द्रजात्रा एउटा फिचर मात्र बनाउनुपर्थ्यो। जुन दुई सातामा बनायौं।'
एप्सबाट रथको रूट, पूजा हुने विशेष स्थानहरू सबै थाहा पाइने महर्जनले बताए।
उनका अनुसार यस एप्सको इन्द्रजात्रा फिचर प्रयोग गर्न भने एप्स अपडेट गर्नुपर्छ।
यस्तै, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भने पूजाआजा गर्ने श्रद्धालु, रथ यात्राका क्रममा दायित्व पूरा गर्ने गुठीयार र जात्रा हेर्न आउनेलाई सहजता प्रदान गरेको बताइन्।
'जात्राका क्रियाकलापका विषयमा जानकारी दिन एप्लिकेसनको प्रयोग गर्न थालेका छौँ,' उनले भनिन्, 'पहिलो प्रयोगबाट आएका सफलतालाई ग्रहण गरेर अरू सूचनाहरू पनि थप्दै जानेछौँ।'