अरूलाई भन्न र सुनाउन नसकेका भावनाका कुरा लेख्दै टुन्नाबेल थापा गीत लेख्थे। अनि तिनै लेखेका गीतको लिरिकल भिडिओ उनी आफ्नो युट्युब च्यानल टुन्नाबेल थापामा राख्थे। सुरूआती दिनमा आफ्नो भावना पोख्ने माध्यम बनेको संगीतमा अहिले उनले आफ्नो जीवन नै दिएका छन्।
पहिलो पटक टुन्नाबेलले सन् २०१२ मा लिरिकल भिडिओ युट्युबमा राखेका थिए।
‘कसैलाई सुनाउन नसक्ने कुरा लेखेर गाउने गर्थें,’ उनले भने, ‘तिनै गीतको लिरिकल भिडिओ बनाएर युट्युबमा हालिदिन्थें।’
काठमाडौंमा जन्मे हुर्केका २७ वर्षीय टुन्नाबेलको खास नाम दीपेन्द्रविक्रम थापा हो। उनका अनुसार बुवाले दाइलाई घरमा मुन्ना भनी बोलाउँथे। दाइको नाम मुन्ना राखेपछि सबैले उनलाई टुन्ना भनेर बोलाउन थाले।
‘दाइलाई मुन्ना भन्ने गर्नुहुन्थ्यो। त्यसपछि त घरमा सबैले मलाई मायाले टुन्ना-टुन्ना भनेर बोलाउन थाल्नुभयो,’ उनले भने, ‘मलाई पनि यो नाम प्रिय लाग्थ्यो। त्यसपछि गीत-संगीतको क्षेत्रमा मेरो स्टेज नाम 'टुन्नाबेल थापा' राखें।’
सानो हुँदा टुन्नाबेललाई के बन्ने थाहा थिएन। यही बन्छु भनेर कुनै उद्देश्य पनि राखेका थिएनन्।
सानोमा उनी खुबै टेलिभिजन हेर्थे। उनी ११ वर्ष हुँदाको कुरा हो टुन्नाबेलले टेलिभिजनमा आस्था ब्याण्डका सुदीप गुरूङले 'एक मौका' गीतमा गितार बजाएको देखे। त्यसपछि उनलाई गीत-संगीतमा रुचि जाग्यो।
‘आस्था ब्याण्डको सुदीप दाइले गीतार बजाएको देखेपछि मैले हजुरआमालाई गितार किन्न लगाएँ,’ उनले भने, ‘हजुरआमाले गितार किनिदिनुभयो अनि बजाउन सिकें।’
उनी आफैं गितार बजाउन सिक्थे। साथीहरूसँग भेटघाट हुँदा उनी गितार बजाएर रमाइलो गर्थे। साथीहरूले पनि राम्रो बजाउँदो रैछस् भनेर हौसला दिन्थे।
त्यसरी आफ्नो भावना पोख्न र रमाइलो गर्न संगीत क्षेत्रमा लागेका उनलाई विस्तारै गीत-संगीततिर रुचि बढ्दै गयो, पछि उनी त्यसैमा होमिए।
सन् २०१३ मा एक्युस्टिक ब्याण्डमा आबद्ध भए। त्यहाँ उनले ड्रम्स र काहोन बजाउँथे। सन् २०१७ मा वन्डरफुल्स ब्याण्डमा ब्याक भोकलिस्ट बने अनि गितार पनि बजाए। सन् २०१९ मा फेन्ट्यास्टिक ब्याण्डमा सोही भूमिका निभाए।
‘म कुनै पनि ब्याण्डमा गायक थिइनँ,’ उनले भने, ‘सबै ब्याण्डमा पर्दा पछाडि बसेरै काम गरें।’
ब्याण्डमै काम गर्दा पनि लिरिकल भिडिओ भने बेलाबखत टुन्नाबेल हालिरहन्थे। त्यहाँ आफूले सीमित दर्शक कमाउन सकेको उनी बताउँछन्।
‘९ वर्ष अगाडि नै गीतहरू युट्युबमा राख्दा केही दर्शकहरूले मेरो गीत रूचाइदिनुभयो,’ उनले भने, ‘जसले केही गर्नुपर्छ भनेर प्रेरणा र हौसला दिन्थ्यो।’
यसो त टुन्नाबेलले २०१७ मा 'बुझ न' गीतको लिरिकल भिडिओ बनाएर हालेका थिए। पछि सन् २०१९ मा डान्सर, कमेडियन तथा संगीतकार सविन कार्कीसँग सहकार्य गरी सोही गीतको म्युजिक भिडिओ बनाए।
‘उक्त गीतको म्युजिक भिडिओ धेरै जनाले मन पराइदिनुभयो,’ उनले भने, ‘नसोचेको प्रतिक्रिया उक्त भिडिओमा पाएँ। जसले मलाई नयाँ स्थानमा पुर्यायो।’
त्यसपछि भने उनी ब्याण्ड छोडेर सोलो गीत गरिरहेका छन्।
उनले आफ्नो मनमा लागेका कुराहरू गीतमार्फत् भन्ने प्रयास गर्छन्। भर्खरै मात्र टुन्नाबेलको 'साथ' गीत सार्वजनिक भएको छ। त्यसमा मानसिक स्वास्थ्यबाट गुज्रिएको मान्छेलाई कस्तो कुरा आवश्यक पर्छ भनेर देखाउने कोसिस गरेको उनी बताउँछन्।
‘मनमा लागेका कुराहरू नै संगीतमार्फत् देखाउने प्रयास गर्छु,’ उनले भने, ‘यो गीतमा पनि मैले मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका मान्छेलाई माया र हेरचाहको खाँचो हुन्छ। माया र हेरचाह देखाउनुपर्छ भनेर भन्ने प्रयास गरेको छु।’
आफैं मानसिक अस्वस्थताबाट गुज्रिएका टुन्नाबेलले यो गीत एक वर्षअघि नै लेखेका थिए। यी कुराबारे खुलेर बोल्नुपर्छ भनेरै गीत बनाएको उनी बताउँछन्।
‘म १३ वर्षको उमेरदेखि नै एन्जाइटी डिस्अर्डरबाट गुज्रिएको थिएँ,’ उनले भने, ‘धेरै समयसम्म एन्जाइटी डिसअर्डर हो भन्ने कुरा थाहा थिएन। पछि थाहा पाएपछि साथी र घरपरिवारले सहयोग गरे।’
टुन्नाबेल गीत संगीतको क्षेत्रमा लागेको १० वर्ष भयो। उनी इन्डिपेन्डेन्ट, पप र अक्युस्टिक संगीतको विधामा काम गर्ने गरेको बताउँछन्।
‘मलाई एउटै विधाको संगीतमात्र गर्नुपर्छ भन्ने लाग्दैन,’ उनले भने, ‘जुनसुकै विधाको भए पनि संगीत गर्न पाए एकदमै खुसी हुन्छु।’
यसो त उनी सबै गीतका भिडिओमा केही न केही कथा भन्ने प्रयास गरिरहन्छन्। संगीतमार्फत् म्यासेज दिँदा भन्न खोजेको कुरा शक्तिशाली बन्ने उनको विश्वास छ।
‘कुनै बेला केही विषयमा गीत बनाउनु पर्छ भनेरै गीत बनाउँछौं,’ उनले भने, ‘तर कतिपय समय भने यतिकै दिमागका फुरेका कुराहरू लेखेको कुरालाई नै गीतमा ढाल्ने गरिन्छ।’
टुन्नाबेल अहिले संगीत क्षेत्रमा राम्रो कमाइ भएको बताउँछन्। इन्टरनेटले गर्दा काम गरेर देखाउन सहजता भएको उनको बुझाइ छ।
‘अहिले पहिलेजस्तो स्थिति छैन। यो पनि एक पेशा हो। पहिले संगीतलाई जसरी साइड कामको रूपमा लिने गरिन्थ्यो, अहिले छैन,’ उनले भने, ‘राम्रो काम गर्नेलाई दर्शकमाझ पुग्न इन्टरनेटले गर्दा एकदमै सहज भएको छ। राम्रो कमाइ पनि हुन्छ।’
लाइभ शो गर्न रूचाउने टुन्नाबेलले पछिल्लो समय भने कमै स्टेज शो गर्ने गरेका छन्।
भन्छन्, ‘लाइभ शो गर्दाको मज्जा बेग्लै नै छ। स्टेजमा हुँदाको रमाइलो बयान गर्न सकिँदैन। तर लाइभ शो मात्र गर्दा नयाँ रचनाहरू गर्न समय मिल्दैन। त्यसैले नयाँ रचना गर्न लाइभ स्टेज शो कम गरेको हो।’
अगामी दिनका लागि नयाँ मौलिक गीतका लागि काम गरिरहेको टुन्नाबेल बताउँछन्।
‘लोक संगीतमा आधारित नयाँ गीत तयार गरिरहेका छौं,’ उनले भने, ‘जतिसुकै आफूले आफैंलाई पश्चिमा शैली मन पराउने भने पनि गीतमा नेपालीपन हटाउन सकिँदैन। अब एउटा गीत मोटोपनको बारेमा रहेको छ भने अर्को मायाबारे छ जुन बिस्तारै आउने छ।’