काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले 'ह्युमन मिल्क बैंक' सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ।
गत वर्ष अस्पतालको वार्षिकउत्सव अर्थात् कृष्ण जन्माष्ठमीको दिन पारेर आमाको दूध भण्डारण गर्न मिल्ने ह्युमन मिल्क बैंक सञ्चालनमा ल्याएको बृहत स्तनपान व्यवस्थापन केन्द्रकी प्रबन्धक स्मृति पौडेलले बताइन्।
उनका अनुसार ह्युमन मिल्क बैंक सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको स्तनपान प्रवर्द्धन गर्नु हो। यो सेवा नि:शुल्क पाइने उनले बताइन्।
‘ह्युमन मिल्क बैंक आमाको दूध पाउने ठाउँ मात्र नभई एक स्तनपान व्यवस्थापन केन्द्र हो। धेरै आमाहरूले स्तपान गराउँदा कठिनाइ भोगिरहनुभएको हुन्छ,’ उनले भनिन्, ‘त्यस्ता आमाहरूलाई स्तनपान सहजीकरण गर्नु हो।’
कतिपय अवस्थामा बच्चाले दूध खाँदैनन्। कोही अस्वस्थ भएर खान सक्दैनन् भने कुनै अवस्थामा आमाको दूध नआउने र आमा कुनै स्वास्थ्य अवस्थासँग जुधिरहँदा दूध खुवाउन मिल्दैन। त्यस्ता शिशुलाई यहाँबाट दूध प्रदान गर्ने गरेको उनी बताउँछिन्।
पौडेलका अनुसार अहिले ह्युमन मिल्क बैंकमा जम्मा भएको दूध प्रसूति अस्पतालमै जन्मिएर भर्ना भएका शिशुहरूलाई मात्र गरिँदै आएको छ। बाहिरी अस्पतालमा जन्मिएका शिशुहरूलाई चाहिएको खण्डमा भने कस्ता शिशुलाई दिने भनेर प्राथमिकता निर्धारण गरिएको उनी बताउँछिन्।
'सामान्यतः ३० हप्ताभन्दा कम समयमा जन्मिएका बच्चा र एक हजार ग्रामभन्दा कम तौल भएको बच्चालाई प्राथमिकतामा राखिएको छ,' उनले भनिन्, 'त्यसैगरी बच्चालाई किन दान गरिएको ह्युमन मिल्क आवश्यकता छ भनेर डाक्टरले प्रेस्क्रिप्सन दिएको अवस्थामा दूध उपलब्ध गराउने गरिएको छ।'
यसो त उनी ह्युमन मिल्क बैंकमा जुनसुकै आमाले पनि दूध दान गर्न सक्ने बताउँछिन्।
'आमाले दूध दान गर्न चाहे ६ महिनाभित्र तीन वटा परीक्षण गर्नुपर्छ,' उनले भनिन्, 'जसमा एचआइभी, भेनेरल डिजिज रिसर्च ल्याबोरोटरी टेस्ट (भिडिआरएल), हेपटाइटिस-बी सर्फेस एन्टिजेन टेस्ट (एचबिएसजी) परीक्षण पर्छन्। यी जाँच गर्दा नेगेटिभ आए र दीर्घकालीन रोग नभए दूध दान गर्न पाइन्छ।'
आमाहरूले दान गरेको दूधलाई बिपिए फ्रि प्लाष्टिकको बट्टामा राखिन्छ। तीन महिनासम्म पास्चराइजेसन नगरी दूध राख्न सकिने पौडेल बताउँछिन्। पास्चराइजेसन गरिएको दूध भने माइनस २० डिग्री सेल्सियस तापक्रममा राखिएको छ महिनासम्म भण्डार गरेर प्रयोग गर्न सकिने उनी बताउँछिन्।
दूधमा रहेका किटाणुलाई नष्ट गर्ने प्रक्रियालाई नै पास्चराइजेसन भनिन्छ। पास्चराइजेसनले दूधको पौष्टिकतामा कुनै असर नपुर्याउने उनी बताउँछिन्। पास्चराइज गर्दा दूधलाई ६२ डिग्रीसम्म तताइन्छ भने तताएको दूधलाई दश मिनेटमै ४ डिग्री तापक्रममा झारिन्छ।
पास्चराइजेसन गरिएको दूधलाई एक सय मिलिलिटरको बोतलमा माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिज गरी राखेपछि शिशुलाई आवश्यकता अनुसार दूध उपलब्ध गराइन्छ।
यो दूध बाहिरी बजारमा पाइने दूधभन्दा धेरै पोषिलो हुने उनी बताउँछन्। अहिले अस्पातालमा दैनिक डेढ लिटर दूध संकलन भइरहेको छ भने ८० प्रतिशत मात्र माग पूर्ति भइरहेको उनको भनाइ छ।
'बच्चाको मृत्युदर घटाउन दूधले ठूलो भूमिका खेल्छ। आमाको दूध खाएको शिशु बिरामी हुने सम्भावना एकदमै न्यून हुन्छ। विभिन्न खालका संक्रमणबाट बच्चालाई जोगाउन समेत आमाको दूधको धेरै भूमिका हुन्छ,' उनले भनिन्।