आगामी नयाँ वर्षदेखि धरहराबाट अवलोकन गर्न पाइने भएको छ।
काठमाडौंको सुन्धारामा धरहरा निर्माणको काम सकिनै लागेकोले वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको हो।
आगामी वैशाख १ गतेदेखि सर्वसाधारणको लागि धरहरा खुल्ने निर्माण कम्पनी रमन कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रमेश पौडेलले जानकारी दिए।
धरहरा निर्माण कार्य सकिएपछि भवन निर्माण विभागलाई हस्तान्तरण गरिने उनले बताए। भवन निर्माण विभागले धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा कसलाई दिने टुंगो लगाइसकेको छैन।
काठमाडौं महानगरपालिका वा छुट्टै व्यवस्थापन समिति बनाएर धरहरा सञ्चालन गर्ने निश्चित भइसकेको छैन।
रमन कन्ट्रक्सननले करिब ३ अर्ब ४८ करोड रुपैयाँमा धरहरा निर्माणको ठेक्का लिएको थियो।
०७५ असोज १४ गते ठेक्का लागेको थियो। त्यसयता कम्पनीलाई पाँच पटक म्याद थप गरिएको थियो। गत वर्ष थपिएको समय भने यही असोज मसान्तमा सकिँदै छ।
धरहरा निर्माणको भौतिक प्रगति ९० प्रतिशत सकिएको छ। धरहरा निर्माण कार्य सकिए पनि अन्य केही काम बाँकी छन्।
‘धरहरा कमाउन्ड बाहिर मिन्ट म्युजियम र टक्सार विभागको प्रशासनिक भवन निर्माण भइरहेको छ। त्यहाँ भूकम्पसम्बन्धी जानकारी दिने सामग्री राख्ने तयारी छ। टक्सार विभागको सिक्का छाफ्ने पुरानो मेसिन पनि राखिनेछ,’ उनले भने।
धरहरामा तीन तले अन्डरग्राउण्ड पार्किङ पनि छ। चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिन्छ।
धरहरा चढ्ने मुख्य प्रवेशद्वार पूर्वपट्टी छ। पूर्व, उत्तर र दक्षिणमा टिकट काउन्टर छ। उत्तरबाट भूमिगत पार्किङतर्फ जान मिल्छ।
‘पूर्वपट्टी रहेको पेभिलियनको बाटो हुँदै सर्वसाधरण धरहरा चढ्न आउनेछन्। त्यसको केही अगाडि आएपछि धरहरालाई थप मौलिक र आकर्षित बनाउन दायाँबायाँ गरी २२ वटा धारा राखिएको छ,’ उनले भने।
यस्तै भूमिगत पार्किङबाट माथि आउन 'एस्कालेटर' राखिएको छ। धरहराको सौन्दर्यता थप बढाउन इस्कालेटर छोप्न ग्लास पिरामिड बनाइँदै छ।
धरहराको पश्चिम भागमा क्यान्टिन बनाइएको छ।
उनकाअनुसार धरहराको टुप्पोबाट देखिने बगैंचा र फाउन्टेन अर्को आकर्षको केन्द्र हो। जसले धरहरा सौन्दर्यमा चकम थप्ने काम गर्ने छ। अहिले धरहरा निर्माण कार्य ४२ रोपनी क्षेत्रफलमा भएको उनले बताए।
‘पहिले १२ रोपनी जग्गामा फैलिएको धरहरा अहिले विस्तार गरी ४२ रोपनी क्षेत्रफलको बनाइएको हो,’ उनले भने, ‘पहिलेको ९ तले धरहरा अहिले २२ तले बनाइएको छ। जसको उचाइ ९१ मिटर छ। दुई तले बेसमेन्टमा पुराना सौन्दर्यका सामग्रीहरू बेच्ने स्थल बनाउने योजना छ।’
०७२ को भूकम्पले भत्किएको धरहरा र सुन्धाराको पुनः निर्माण कार्य भने अझै बाँकी छ। पुरातत्व विभागले धरहरा र सुन्धारा बनाउने जिम्मेवारी लिए पनि अहिलेसम्म कुनै निर्माण कार्य भएको छैन।
०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेका थिए।