दाङका थारू समुदायले सोमबार दसैं मनाएका छन्।
चामलको सेतो पिठो, बाबरीको फूल तथा पात र मकैको जमरा लगाउँदै थारू समुदायले दसैं मनाउँछन्। आजको दिन गाउँमा 'मटाऔं' मान्न गाउँभरका मानिस खानपिन, रक्सी, जमरा र टीकासहित मटाँवाको घर जान्छन्। मटाँवा अर्थात् 'गाउँका राजा' को घरमा एकआपसमा सेतो टीका र जमरा लगाउँदै पर्व मनाउँछन्।
पुरूषहरूको टीका सकिनासाथ महिलाहरू त्यसै गरी मटाँवाको घरमा जम्मा भएर एकआपसमा टीका लगाउने गर्छन्।
सामूहिक पूजा पूर्व थारू समुदायका मटाँवा वा गुरूवाले आफ्नो देवता भूँयारको पूजा गर्छन्।
दशमीका दिन थारू समुदाय आफ्नो देशका 'राजा' मानिने 'गुरूवा' सँग टीका थाप्न जान्छन्। दशमीका दिन भने रातो टीका लगाउने प्रचलन रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मटाँवा महासंघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बताए।
मुख्यमन्त्री चौधरीले पनि सोमबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाँउस्थित उनको घरमा पुगेका गाउँका चौधरी समुदायका सर्वसाधारणलाई सेतो टीका लगाइदिँदै र लगाउँदै दसैं मनाएका छन्।
आजको टीकालाई 'संसारको टीका' भन्ने चलन रहेको र सबै मटाँवाको घरमा खानपिन, जममरासहित जम्मा भई आपसमा टीका लगाउने चलन रहेको उनले बताए।
'पौराणिक कालमा रङ उपलब्ध नभएकाले विगतदेखि नै थारू समुदायले चामलको सेतो टीका लगाउने चलन रहिआएको छ,' मुख्यमन्त्री चौधरीले भने।
उनका अनुसार दहीत समुदायले पञ्चमीकै दिन चम्पा लगायत विभिन्न प्रकारका सुगन्धित फूलहरू राखेर, माहुरीको चाका घिउमा पकाएर, सुगन्धित धूप बनाएर पूजा-आराधना गर्छन्। परम्परागत रूपमा संस्कृतिको अनुशरण गर्दै आएका थारू समुदायले आज पनि बजारम पाइने धूप वा अगरबत्ती प्रयोग गर्दैनन्।
सुगन्धित धूप र वाण आफैंले बनाउने चलन थारू समुदायमा छ। वाण बनाउँदा मटाँवाले आफ्नै शरीरका विभिन्न अंगहरू छेडेर रगतमार्फत तयार गर्ने चलन रहेको पनि उनले बताए।
त्यस्तै 'प्रगन्नाको राजा' अर्थात् देशको राजा गुरूवाको घरमा भने रातो टीका लगाउने चलन पहिल्यैदेखि मुख्यमन्त्री चौधरीले बताए।
'अहिले संघीयता भनिए जस्तै विगतमा दंगीशरण थारू राजाको पालामा दाङ जिल्लालाई सात राज्यमा विभाजन थियो,' मुख्यमन्त्री चौधरीले भने, 'त्यसैका आधारमा थारू समुदायले दसैं मनाउने चलन आज पनि छ।'
त्यसअनुसार दहीत अर्थात् आफ्नो थरअनुसार आफू 'छिल्ली प्रगन्ना' राज्य अन्तर्गत पर्ने मुख्यमन्त्री चौधरीले बताए। छिल्ली प्रगन्नामा दहीत राजा अर्थात् गुरूवा भएको राज्य प्राचीनकालमा रहेको उनले बताए।
'मेरो घर पातु प्रगन्नामा हो। यो प्रगन्नाको राजा चिसको गुरूवा रहेकाले दसैंका दिन थारू समुदायले चिसकै गुरूवाकहाँ गएर सामूहिक रूपमा रातो टीका लगाउने चलन छ,' मुख्यमन्त्री चौधरीले भने।
अर्को राज्य 'पछल्ला प्रगन्ना' मा सोहीअनुसार टीका लगाउने चलन छ।
दंगीशरणको अन्तिम राजा रत्न पारखु रहेको र उनी गोरखनाथबाट दीक्षान्त प्राप्त गरेपछि राजकाज छोडेर संन्यासी बनेपछि सबै जातजातिलाई स–साना राज्य बाँडिदिएको मुख्यमन्त्री चौधरीले उल्लेख गरे।
थारू समुदायले आज घरघरमा बलि दिने चलन पनि छ। सोमबार बिहानै आफ्नो स्थितिअनुसार तीनवटा भन्दा धेरै १०, १२ र १५ वटासम्म कुखुराको बलि दिने र ढिक्री पुज्ने चलन छ।
विगतमा थारू कलासंस्कृति ओझेलमा पर्दै जान थाले पनि पछिल्लो समय फेरि थारू समुदाय आफ्नो कलासंस्कृति संरक्षणमा सक्रियतापूर्वक लाग्न थालेको मुख्यमन्त्री चौधरीले दाबी गरे।
'देशभरका ६ हजार मटाँवाहरू थारू कलासंस्कृति जगेर्ना गर्न सिकाइरहेका छन्। पछिल्लो पुस्ता आफ्नै मौलिक कलासंस्कृतिको संरक्षणमा अग्रसर हुन थालेको छ,' उनले भने।
टीका लगाउन जाँदा गाउँका मानिसहरू मटाँवा र गुरूवाका घरमा विशेष तालमा मादल पनि बजाउँछन्।