‘सानीमाको मन कति कालो,
भाइलाई स्कुल मलाई चाहिँ गोठालो
सानीमा मार्देऊ बरू बगाइदेऊ पानीमा’
२०६१ सालमा सानो हुँदा गाएको उक्त 'सौतेनी आमा' गीतले महेश काफ्लेलाई बाल गायकको रूपमा धेरैमाझ चिनायो।
त्यसपछि उनले सामाजिक विषयवस्तुमा आधारित बाल गीत सौतेनी आमा भाग-२, सानीमा पिण्ड दिने छोरो त मै हुँ नि लगायतका बाल गीतहरू गाए। तर पनि सबैले सौतेनी आमा बोल गीतको गायक नै भनेर चिन्थे।
बुवा भोजराज काफ्ले सांगीतिक क्षेत्रमा भएको हुँदा सानैमा यस क्षेत्रमा आउने वातावरण मिलेको महेश बताउँछन्।
‘बुवाले सानैमा दाइ (दिनेश काफ्ले) को गीत रेकर्ड गरिदिनुभएको थियो,’ उनले भने, ‘दाइले गाएको गीत- आमा रातो सारी चुरा पोते किन नलाको त्यसबखत एकदमै चलेको पनि थियो।’
दाइले गाएको गीत एकदमै हिट भएपछि महेशलाई पनि गीत रेकर्ड गराउन मन लाग्यो।
यसो त बुवाले रेडिओ नेपालमा गाएका गीतहरू उनले सानैदेखि सुन्ने गर्थे। स्कुलमा पनि कहिलेकाहीँ गाउने गर्थे।
‘दाइले गाएको गीत धेरै चर्चित भएपछि मैले पनि गाउन पाए पनि हुन्थ्यो भन्ने भान हुन्थ्यो,’ उनले भने, ‘काठमाडौंमा बस्ने गरेका बुवासँग खुलेर बोल्न सक्ने भइसकेको थिइनँ। त्यो हुँदा भन्न डर लाग्यो, कसरी भन्ने दुविधा भयो।’
त्यसपछि महेशले आफ्नो इच्छा आमालाई सुनाए। आमाले छोराको इच्छा बुवालाई सुनाएता पनि उनले पत्याएनन्। किनकि बुवालाई जेठो छोराले मात्र गाउँछ भन्ने थाहा थियो।
‘आमाले तीन चार पटक भनेपछि कस्तो गाउँदो रहेछ भनेर बुवाले मैले गाएको सुन्नुभएको थियो,’ उनले ती पल सम्झिएर हाँस्दै भने, ‘एक किसिमको अडिसन नै दिएपछि मात्रै गाउने मौका पाएको थिएँ।’
सिन्धुलीको टाडीमा जन्मे हुर्केका २६ वर्षीय गायक, रचनाकार तथा संगीतकार महेशले कक्षा ५ सम्म गाउँकै कमला माध्यमिक विद्यालयमा पढे। त्यसपछि भने उनी काठमाडौंको कोटेश्वरमा बसेर पढ्न थाले।
बुवाका कारण महेशले अग्रज कलाकार र रेडिओ नेपालका विभिन्न किस्साहरू सुन्ने अवसर पाएका थिए। जसका कारण विस्तारै सांगीतिक क्षेत्रतिर आकर्षित भएको उनी ठान्छन्। त्यसपछि महेशले ११ वर्षसम्म कुनै गीत गाएनन्। उमेर बढ्दै जाने क्रममा उनको आवाज परिवर्तन भयो। अर्कातिर गीत-संगीत क्षेत्रभन्दा बढी पढाइतिर केन्द्रित भएको उनी बताउँछन्।
‘सानो हुँदा र ठूलो भएपछि गीत गाउनु दुई भिन्न कुरा हुन्,’ उनले भने, ‘बाल्यकालको र ठूलो भएपछि गीत गाउने रेन्ज फरक हुन सक्छ। अझ किशोर अवस्थामा प्रवेश गर्दा हुने आवाज परिवर्तनले गीत गाउन कतिलाई कठिन हुन्छ।’
महेशलाई ११ वर्षसम्म गीत नगाउँदा पनि गायनको छटपटी भने कहिल्यै भएन।
समयक्रमसँगै मानिसहरूको इच्छा आकांक्षा परिवर्तन हुने उनी सम्झन्छन्।
‘कोही सानोमा गायक छ भने पछि भिन्न क्षेत्र रोज्न सक्छ,' उनले भने, 'यदी त्यसो भयो भने उसलाई गायक बन्न प्रेसर दिनु हुँदैन। जुन क्षेत्रमा रुचि लाग्छ सोही क्षेत्रमा लाग्न दिनुपर्छ।’
महेशका अनुसार उनलाई जीवनमा म्युजिक नै गर्नुपर्छ भन्ने थिएन। त्यसैले २०७० सालतिर प्लस टु सकिएपछि लोक सेवा र सेकेण्ड लेफ्टिनेन्टको फर्म भर्न समेत गएको उनी बताउँछन्।
‘मैलै भरेका फर्महरू भराइमा मात्र सीमित भयो,’ उनले भने, ‘किनकि मलाई म यो कामको लागि बनेको होइन भन्ने आभाष हुन्थ्यो।’
सोही क्रममा उनले खेलकुद पत्रकारको रूपमा इमेजमा २०७१ सालमा काम गर्न थाले।
‘इमेजमा काम गर्दा धेरै मान्छेलाई चिन्ने मौका पाएँ,’ उनले भने, ‘त्यतिबेला कामको सिलसिलामा नयाँ मानिसहरूसँग भेट्दा मेरो बाल्यकालको कुरा समेत हुने गर्थ्यो। जसका कारण साथीभाइहरूले मेरो पृष्ठभूमि थाहा पाउनुभयो।’
‘उहाँहरूले सांगीतिक परिवार र बाल्यकालका कुरा थाहा पाएपछि किन सांगीतिक क्षेत्रमा काम नगरेको भनेर सोध्नुहुन्थ्यो। कतिले त मेरो पहिलो गीतबारे कुरा गर्दै त्यसको गायक तिमी पो हो भन्दै कुरा सम्झाउने समेत गर्थे’, उनले अगाडि भने।
सबैका मुखबाट त्यस्ता कुरा सुन्दा गीत-संगीतमा केही गर्नुपर्छ भन्ने आभाष उनमा थियो। महेशलाई खेलकुद पत्रकारिता र संगीत क्षेत्र दुवैमा रुचि थियो। तर कसरी गर्ने भनेर भेउ नपाएको उनी बताउँछन्। दुवै विधामा रुचि भएका कारण चट्ट पत्रकारिता छोडेर सांगीतिक क्षेत्रमा लाग्न सक्ने अवस्था उनले देखेका थिएनन्।
‘कला क्षेत्रका साथीहरूसँग कुराकानी हुँदा उनीहरूले गीत रेकर्ड गर्नुपर्छ भनेर हौसला दिइरहन्थे,’ उनले भने, ‘त्यसैले उता पत्रकारिता गरिरहेकै बेला समय मिलाएर पहिलो गीत नाच फिरीरीको अरेन्जमेन्ट गरिरहेको थिएँ। जुन कुरा कसैलाई पनि थाहा थिएन।’
त्यसपछि महेशले २०७४ सालपछि पूर्ण रूपमा संगीतमा लाग्ने निधो गरे। अनि २०७५ सालमा कम्ब्याक हुँदै गाए- नाच फिरीरी। जसमा स्वस्तिमा खड्का र निश्चल बस्नेले अभिनय गरेका छन्।
महेशका अनुसार नाच फिरीरी गीत यति सफल हुन्छ भनेर उनले कल्पना समेत गरेका थिएनन्। गीत यति धेरै सफल भएर भ्युज पाउँछ भन्ने कल्पना बाहिर रहेको उनको भनाइ छ।
अन्य विधाका गीत-संगीतकारले नाच फिरीरी गीत सुन्ने गरेको बताउने गर्दा एकदमै खुसी लाग्ने गरेको महेश बताउँछन्। यसो त महेश सुरूमा सानोपछि पनि गीत गाएको छु है भन्ने सन्देश दिनको लागि मात्र गीत गाएको बताउँछन्।
‘मलाई त्यतिबेलाको लोभ के थियो भने सबैले भेट्दा बच्चा बेलामा गीत गाएको अहिले किन नगाउने भनेर प्रश्न गर्नुहुन्थ्यो,’ उनले भने, ‘मलाई म्यासेज दिएर भन्नु थियो- म अहिले पनि गाउँछु र भर्खरै गीत निकालेको छु। तर अहिले जे जति पाए सबै बोनसमा पाएँ।’
महेश आफूले बनाएका गीत कस्ता बने भन्ने कुरा बनाइरहँदा थाहा नपाउने बताउँछन्। ती गीत दर्शकमाझ पुगिसकेपछि आफ्नै गीतका शब्दहरू सुनी आश्चर्यमा पर्ने गरेको उनी बताउँछन्। कतिपय अवस्थामा आफूले रचनाका क्रममा लेखेका शब्ददहरू देखेपछि स्वयंलाई प्रश्न गर्छन्।
‘रिलिज भइसकेपछि आफ्नो गीत सुन्दा मात्रै ओहो! गीतमा यस्तो शब्द मैले नै लेखेँ, आहा! भन्ने भान हुन्छ,’ उनले भने, ‘अनि आफैंलाई प्रश्न गर्छु, म यस्तै भएर यी शब्दहरू लेखेँ कि कल्पना गरेरै लेखेको हुँ? तर पछि थाहा पाएँ। मभित्र ती चुलबुलापना छ, त्यसैले त्यस्ता शब्दहरू लेख्न सकेँ।’
तर त्यसो भन्दैमा सबै कुरा आफ्नो अनुभवसँग नमिल्ने उनी बताउँछन्। कतिपय अवस्थामा भाव र मर्म बुझेपछि कल्पना गरेर लेख्ने गर्छन् उनी।
एक वर्षपछि महेशले करिब दुई वर्षअघि कम्पोज गरेको- लाइटरले बिडी सल्केको बोलको गीत सार्वजनिक गरेका छन्। उनैको रचना रहेको गीतमा महेश आफैंले संगीत भरेका छन् भने स्वरमा अस्मिता अधिकारीले सहायता गरेकी छन्। जसमा उनीहरू नै फिचर भएका छन्।
‘विभिन्न कारणले गर्दा यो गीत पेन्डिङमा रहेको थियो,’ उनले भने, ‘गीत ननिकालेको पनि एक वर्ष बढी भएको थियो। अहिले रिलिज गर्ने भनेको गीत अलि समय लाग्ने भएपछि दसैं तिहार र लगनको समयमा डान्सिङ नम्बर गीत भएको हुँदा निकालेको हो।’
महेश प्रायः आफ्ना गीतका भिडिओमा स्वयं फिचर भइरहेका हुन्छन्। उनी आफूलाई कलाकारितामा रुचि भएका कारण पनि भिडिओमा फिचर हुने गरेको बताउँछन्। अर्को, नाच फिरीरी गीत सबैले रूचाएपछि गायक पनि चिनिनुपर्छ भनेर डाइरेक्टर तथा कलाकार आशिफ शाहले उनलाई फिचर गराएको बताउँछन्।
‘सानोमा रुचि भएको हुँदा पहिलो गीतको भिडिओमा आफैं खेलेको थिएँ,’ उनले भने, ‘तर जब नाच फिरीरी गीत बजारमा आयो। तब गीत चिनियो तर गायक चिनिएन भनेर दोस्रो गीतमा नाजिर हुसेनसँगै म पनि फिचर भएको थिएँ।’
महेश र गायिका अस्मिता अधिकारीले धेरै गीत गाएका छन्। कतिपय गीतमा दुवैजना फिचर भएका छन्। जसका कारण उनीहरूको प्रेम चर्चा भइरहेको हुन्छ।
महेश भने दुवै जनाको उमेर मिलेका कारण प्रेमजोडी बनाएको हो भनी प्रष्ट्याउँछन्।
‘अस्मिता र मेरो चर्चा हुनुको प्रमुख कारण भनेको नै सँगसँगै उमेरको हुनु हो,’ उनले भने, ‘अर्को भनेको अस्मितासँग कामबारे मात्र कुरा हुँदैन। ऊ मेरो साथी पनि हो। त्यसैले मानिसहरूले इन्स्टाग्राम, फेसबुकतिर सँगै गीत गाएको फोटोहरू देख्दा नोटिस गर्नुभएको हो।’
उनीहरूको जोडी स्क्रिनमा राम्रो पनि देखिन्छ भनेर धेरैले टिप्पणी समेत गर्ने गरेको उनी बताउँछन्।
‘अरूले हाम्रो जोडी राम्रो छ भनेपछि मैले पनि पत्याएको छु। अनि कमेन्टहरू पढ्दा हो जस्तो पनि लाग्छ,’ उनले भने, ‘त्यसैले अस्मितासँग भइरहने चर्चा र दर्शकहरूले रिलमा मात्र नभई रियलमा पनि भइदिएहुन्थ्यो भन्ने पाइरहेको शुभेच्छालाई हामीले सकारात्मक ढंगले नै हेरेका छौं।’
उनले अगाडि भने, ‘हामीले गरेको कामले गर्दा दर्शकले यस्तो सोचिरहनुभएको छ भने त त्यो एक किसिमको सफलता नै हो। अनि अर्को भनेको पब्लिक फिगर भएपछि हाम्रोबारे चासो हुनु स्वाभाविक नै हो। दर्शकहरूलाई गीतबारे चासो राख्नु तर हाम्रोबारे चासो नराख्नु भन्न पनि मिल्दैन। तर अहिले हामी सांगीतिक सहकार्यमा मात्र छौं।’