शुक्रबार रातिको भुइँचालोमा परी रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
३८ जनाको नै सनाखत भइसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले बताएका छन्। भट्टराईका अनुसार आठबिसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा १० जना गरी ३८ जनाको मृत्यु भएको हो।
रूकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र जनपद गरी भूकम्पका घाइतेको उद्धार र खोजीका लागि पाँच सय ४६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
मध्याह्न १२ बजेसम्म एक सय १८ जनाको जिल्लाका विभिन्न अस्पतालहरूमा उपचार जारी रहेको, १४ जना उपचारपछि घर फर्किएको, तीन जनालाई एम्बुलेन्समार्फत् सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको, थप पाँच जनालाई हेलिकप्टरमार्फत् सुर्खेत पठाइएको र थप १० जना घाइतेहरूलाई नेपाल एयरलाइन्सको जहाजमार्फत् बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको छ।
भूकम्पका कारण रूकुम पश्चिममा एक सय ४३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
ती घाइतेमध्ये ७२ जनाको नाम ठेगाना खुलेको भए पनि अन्य घाइतेको नाम ठेगाना पत्ता लगाउने प्रयास जारी छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सानीभेरीको अस्पतालमा पुगेर घाइतेलाई भेटेका छन्।
पूर्वअर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री, जिल्लाभरका गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि घाइतेको उद्धारमा खटिएको प्रजिअ पन्तले जानकारी दिए।
जिल्लामा उपलब्ध सबै पालिकाका एम्बुलेन्स तथा निजी सवारी साधनहरू पनि घाइतको उद्धारमा प्रयोग गरिएका छन्। रूकुमको आठबिसकोट नगरपालिकामा नेपाली सेनाको चिकित्सक टोली उपचारमा खटिएको छ।
घाइतेको उद्धार र सहायताको लागि दाङबाट सशस्त्र प्रहरीको टोली प्रस्थान गरेको छ। चिकित्सकको टोली पनि औषधीसहित रूकुमतर्फ लागेको छ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुइँचालोमा जाजरकोट र रूकुम पश्चिमका नागरिक बढी प्रभावित भएका छन्।प्रहरीको विवरण अनुसार जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३८ जना गरी हालसम्म एक सय ३० जनाको मृत्यु भइसकेको छ।
भूकम्पका घाइतेको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएको छ।
कोहलपुर मेडिकल कलेजलगायत नेपालगञ्जका अन्य ठूला अस्पताललाई तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
भेरी अस्पताल, सैनिक र प्रहरी अस्पतालका एक सय पाँच वटा बेड तयारी अवस्थामा राखिएको छ भने घाइतेको आफन्तजनको सहजताका लागि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ।
स्वास्थ्यकर्मीको अभाव नहुने व्यवस्था गरिएको प्रजिअ अधिकारीले जानकारी दिए।
हेलिकप्टरबाट आउने बिरामीका लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २ र २ वटा एम्बुलेन्स तैनाथ गरिएको छ। रगतको मौज्दात रहेको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जानकारी दिए।