शुक्रबार रातिको भूकम्पमा परी रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा मात्रै ४३ जनाको मृत्यु भएको छ।
आफ्नो नगरका ४३ जनाको भुइँचालोका कारण मृत्यु भएको मेयर रवि केसी सेतोपाटीलाई बताए।
‘हामीले ४३ जनाको शव निकालिसकेका छौं,’ उनले भने, ‘अधिकांश शव अस्पताल पुर्याइसकिएको छ।’
मृतकमध्ये अझै केहीको सनाखत हुन बाँकी रहेको हुँदा त्यसको प्रयास जारी रहेको उनले बताए।
मेयर केसीले एउटै घरका चार जनाको मृत्यु भएको जानकारी दिए। आठबिसकोट–१४ मा मात्रै भूकम्पबाट २६ जनाको मृत्यु भएको उनले बताए।
वडाको छेपारेमा ११ जना, ज्यामिरकोटमा ९ जना, हल्देटोलमा २ जना, बाँके टोलका र पिपल चौरमा १/१ जना र बाँकी २ जना बाहिरी जिल्लाका हुन्।
मेयर केसीका अनुसार आठबिसकोटमा भूकम्पका घाइते सबैको उद्धार भइसकेको छ।
प्रहरीले यसअघि नै सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ। रूकुम पश्चिममा यी दुई पालिकामा ५३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले आठबिसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको बताएका थिए।