सलिना खड्गी ललितपुर महानगरपालिका–११ की बासिन्दा हुन्। उनी स्थानीय सरकार अर्थात् महानगरपालिकाले दिएको रोजगारी गर्छिन्। उनको काम बिहान दस बजेदेखि साँझ ६ बजेसम्म चल्छ। बिहान कलेज छुट्टी भएपछि काममा जान्छिन्।
उनले वडाबाटै काम पाउँछिन्। यसरी काम गरेको तीन वर्ष भयो। सुरूसुरूमा उनी मठमन्दिर र पाटीपौवाको सरसफाइ गर्थिन्। आजकाल वडाले खटाएका ठाउँमा रङ लगाउने काम गर्छिन्।
सलिनाले १२ कक्षा उत्तीर्ण गरेकी छन्। कामको खोजीमा भौंतारिँदा उनले वडाले दिने रोजगारीबारे जानकारी पाइन्।
'पढेअनुसारको काम पाइएन। वडाबाट काम पाउने थाहा भएपछि आफ्नो वडाको सेवा पनि हुन्छ भनेर रोजगारीका लागि आवेदन दिएकी थिँए, छनोट भएँ,' उनले भनिन्।
कामबाट आएको पारिश्रमिकले उनको पढाइ खर्च र दैनिक खर्च जेनतेन चलेको छ। उनी वडामा हुने सामाजिक काममा पनि मद्दत गर्छिन् तर यसबापत अलग्गै सुविधा छैन। वडाले दिने रोजगारीमा पहिलो चरणमा छानिएकाहरूलाई अर्को रोजगारीको टुंगो नहुन्जेल काम दिइराख्नुपर्ने उनको माग छ।
सलिनाले झैं सुजिता घलेले पनि रोजगारीका लागि वडामा आवेदन दिइन्। उनी पनि तीन वर्षदेखि वडाले दिएको काम गर्दै छिन्। उनी वडा नम्बर ४ मा फुटपाथमा नयाँ ब्लक छाप्ने, वडाका सार्वजनिक भवनहरू सरसफाइ गर्ने लगायत काम गर्छिन्।
उनीहरू दुवै जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सय दिनको रोजगारी पाएका हुन्। वडाले योभन्दा बढी काम दिने होइन। गत आर्थिक वर्षमा दैनिक पारिश्रमिक ६९२ रूपैयाँ थियो। कार्यक्रम सुरू हुँदा दैनिक ५१७ रूपैयाँ थियो।
सुजिता भन्छिन्, 'दिनभरि खटेर काम गर्नुपर्छ। कामअनुसार पारिश्रमिक थोरै छ तर नगरी भएको छैन। यही पनि बल्लतल्ल पाएको हो।'
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका कामदारहरूले गत आर्थिक वर्षमा बढीमा सय दिन काम गरेर ६९ हजार रूपैयाँ पाए। ललितपुर महानगरमा यसरी काम गर्नेमा महिलाको संख्या धेरै छ।
सुजिताले १० कक्षासम्मको पढाइ पूरा गरेकी छन्। उनको भर्खरै स्कुल जान थालेको एक सन्तान पनि छ। घर व्यवहार चलाउन काम गर्नै पर्ने बाध्यता छ। यस्तो बाध्यता नभए पनि महिलाले आम्दानी हुने केही न केही काम गर्नुपर्छ भन्ने उनको मान्यता छ।
'महिला आर्थिक रूपमा बलियो हुनुपर्छ। थोरै भए पनि आफैंले कमाउन सक्ने भए हेपिनु पर्दैन। काम सानो–ठूलो हुँदैन। आआफ्नो क्षमताअनुसार गर्ने हो,' उनी भन्छिन्, 'सबै काम बराबर हो। इमानदार भएर गर्नुपर्छ।'
सलिनाले कामका सिलसिलामा कहिलेकाहीँ हेपिनु परेको अनुभव गरेकी छन्।
'मलाई त काम ठूलो–सानो जस्तो लाग्दैन तर केही मान्छेहरू हेपेर व्यवहार गर्छन्। कसैले त आफ्नै कामदार जस्तो पनि ठान्छन्।'
बुद्धलक्ष्मी खड्गी उमेरले पचास वर्ष नाघिन्। उनका श्रीमान दमका रोगी छन्, श्रम गर्न सक्दैनन्। काम खोज्दै जाँदा उनले वडाले रोजगारी दिने गरेको थाहा पाइन्। नागरिकताको प्रतिलिपि र एउटा फोटो बुझाइन्। लगत्तै उनले काम पाइन्।
उनले पनि यसरी काम गरेको तीन वर्ष भयो। पार्क सफासुग्घर गर्ने, मन्दिरको पाला सफा गर्ने, रङ लगाउने काम गर्छिन्। काम भन्नु वर्षभरिमा सय दिन हो। आजकाल फुर्सदमा छिन्।
'श्रीमान बिरामी छन्। महिनैपिच्छे औषधि किन्नुपर्छ,' बुद्धलक्ष्मी भन्छिन्, 'वडाले दिएको पैसाले घरखर्च चलाउँछु। अर्को काम केही छैन। वडाले काम थपिदिए हुन्थ्यो।'
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहले रोजगारीमा महिला, सीमान्तकृत र दलित समुदायका स्थायी बासिन्दालाई प्राथमिकतामा राख्ने गरेका छन्।
ललितपुर महानगरका प्रत्येक वडाले फागुनमा रोजगारीका लागि आवेदन आह्वान गर्छन्। छनोटको काम महानगरपालिकाले गर्छ। ललितपुर महानगरले पनि महानगरका स्थायी बासिन्दालाई मात्रै यस्तो रोजगारी दिन्छ।
आवेदनबाट छानिएका व्यक्तिले साउनदेखि वर्षभरिमा बढीमा सय दिन काम पाउँछन्। छनोट भएका व्यक्तिलाई महानगरले साधारण तालिम दिन्छ। वडाले काममा खटाउँछ।
यसरी रोजगारी पाउनेले वडामा हुने निर्माण कार्य, सरसफाइ, रङरोगन र आवश्यकता अनुसारको काम गर्नुपर्छ। दैनिक आठ घण्टा काम गर्नुपर्छ।
ललितपुर महानगरमा गत आर्थिक वर्ष २०७९/८० मा १६६ जनाले ९३ दिन काम पाए। महानगरकी रोजगार संयोजक लक्ष्मी कार्कीका अनुसार गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिकमा ९२ लाख ९२ हजार रूपैयाँ खर्च भयो।
आवेदन गर्नेमा १०६६ महिला र ५९५ पुरूष थिए। तीमध्ये १६६ जना छानिए जसमा महिलाको संख्या धेरै थियो। चालु आर्थिक वर्षमा ज्यालादर बढेर ७२० रूपैयाँ भएको छ।
यस वर्ष सय दिन काम पाए ७२ हजार २०० रुपैयाँ पाउनेछन्।
रोजगार संयोजक कार्की भन्छिन्, 'महानगरपालिकाले दिने रोजगारीमा गरिब, दलित, सीमान्तकृतलाई प्राथमिकता दिन्छौं। यिनमा पनि महिलालाई प्राथमिकता हुन्छ।'
पढेलेखेका र फरक काम गर्न सक्ने आवेदकहरूलाई विभिन्न तालिममा जान प्रोत्साहित गर्ने गरेको उनको भनाइ छ।
रोजगारीका लागि अपांगता भएका व्यक्तिहरूको पनि आवेदन आउँछ। त्यस्ता व्यक्तिलाई उनीहरूको सीप र दक्षता हेरेर योजना बनाउन लगाउने र आवश्यक सहयोग गर्ने गरेको उनले बताइन्।
ललितपुर महानगरले वार्षिक नगर विकास योजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ का लागि रोजगारीको कार्यक्रम राखेको छ। यस कार्यक्रममा बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी सूची अद्यावधिक गरेर रोजगारी व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा प्रविष्टि गरिनेछ।
इएमआइएसमा प्रविष्टि पाएका व्यक्तिहरूलाई महानगरमा हुने रोजगारीका काममा प्राथमिकता दिइनेछ।
वैदेशिक रोजगारी सम्बन्धमा सुरक्षा, मर्यादा, सम्बन्धित देशको ऐन-कानून लगायतमा आवश्यक परामर्श दिने कार्यक्रम पनि छ। वैदेशिक रोजगारीमा जान चाहने श्रमिकको श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिमा सहजीकरण गर्ने तथा वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने आर्थिक सहायता सम्बन्धी कार्यमा सहयोग र सहजीकरण गर्ने कार्यक्रम पनि छ।
महानगरपालिकाभित्र आन्तरिक रोजगारीका अवसरहरू पहिचान गर्ने, युवा जनशक्तिलाई सूचना प्रविधि सम्बन्धी तालिम दिने, स्वरोजगारीमा संलग्न हुन सहजीकरण गर्ने लगायतका कार्यक्रम ललितपुर महानगरपालिकाको छ।