दाङको घोराही उपमहानगरपालिका वडा नं. ७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरीको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ।
स्थानीय जनसेवा सामुदायिक वनमा बिदामा आएको समयमा घरायसी प्रयोजनका लागि गाउँका स्थानीयसँगै मालुको पात टिप्न गएका चौधरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले सेतोपाटीलाई बताए।
चौधरीको हत्या आरोपित एक जनालाई प्रहरीले मध्यराति बन्दुकसहित पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर तौलीहवा कपिलवस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत चौधरी घटनाको तीन दिन पहिले घर बिदामा आएका थिए।
बिहीबार बिहान सात बजेतिर घरायसी प्रयोजनका लागि अन्य गाउँले आफन्त तथा महिलासहित स्थानीय जंगलमा मालुका पात टिप्न गएका उनको वन्यजन्तुको चोरी शिकारी गर्ने मानिसले हानेको गोली लागेर मृत्यु भएको एक प्रहरी अधिकारीले बताए।
चौधरीको हत्या गरेको आरोपित घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित प्रहरीले शनिबार बिहान १ बजे नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिले घटना स्वीकार गरेको एक प्रहरी अधिकारीले बताए।
‘मालुको रूखमा मालुको पात खाँदै गरेको जंगली जनावर गुणा ठानेर मैले गोली हानेको थिएँ,’ प्रहरी हिरासतमा रहेका केसीको बयान उद्धृत गर्दै ती अधिकारीले भने, ‘जब गोली लाग्यो मान्छे खसेको देखेपछि मेरो सातो उड्यो र त्यहाँबाट बन्दुकसहित भागेको थिएँ।’
पक्राउ परेका व्यक्तिलाई शनिबार नै सार्वजनिक गरिने प्रहरीले बताएको छ।
सशस्त्र प्रहरी जवान चौधरीको छातीमा पाँच वटा बन्दुकको छर्राको प्वाल लागेको र पछाडि पिँठ्यूको भागमा एउटा प्वाल थियो। शव पोष्टमर्टमको लागि राप्ती स्वास्थ्य विज्ञानमा राखिएको छ। चौधरीको हत्यामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइसकेको हुँदा शनिबार नै शवको पोष्टमर्टम गर्न आग्रह गरिएको ती प्रहरी अधिकारीले बताए।
सशस्त्र प्रहरी जवानको मृत्युको खबर प्रहरीले २३ गते बलुकी साढे चार बजेतिर मात्रै पाएको एसपी केसीले बताए। प्रहरीलाई खबर गर्ने व्यक्तिले सशस्त्रका जवान चौधरीको रूखबाट लडेर मृत्यु भएको जानकारी दिएका थिए।
सोही दिन बेलुका ७ बजेर ४० मिनेटमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटना अनुसन्धानका क्रममा स्थानीय तीन महिला र आठ पुरूषलाई बोलाई सोधपुछ गर्ने क्रममा एक जनाले सोही दिन बन्दुक बोकेर केसी शिकार गर्न जान थालेको भन्ने सुराक दिएको आधारमा उनी पक्राउ परेका हुन। सोही सुराकको आधारमा प्रहरी केसीको खोजी गर्दै मध्यराति उनको घरमा पुगेर हत्यामा प्रयोग भएको भरूवा बन्दुकसहित नियन्त्रणमा लिएको थियो।
यो पनि:
जंगलमा मृत भेटिएका चौधरी सशस्त्रका जवान