दाङको घोराही उपमहानगरपालिका-५ धर्नाकी २० वर्षीया अस्मिता चौधरीले विवाहको दोस्रो वर्षगाँठ नपुग्दै श्रीमान गुमाइन्।
८ कक्षा पढ्दा पढ्दापढ्दै गरिबीका कारण पढाइ छाडेर अस्मिताले घोराही-७ हनरियाका २८ वर्षीय जुगारू चौधरीसँग ०७८ माघमा मागी विवाह गरेकी थिइन्।
जुगारू सशस्त्र प्रहरी जवान हुन्। उनी परिवारका माइला छोरा थिए। जेठा दाजुको मृत्यु भइसकेका कारण जुगारूले नै घर गृहस्थी सम्हाल्दै आएका थिए।
कक्षा १२ सम्म पढेका उनले सशस्त्र प्रहरीमा भर्ना भएपछि घरमा बुवा-आमा वृद्ध भएकाले पनि अस्मितासँग विवाह गरेका थिए।
सानै उमेरमा विवाह गरेकाले अस्मितालाई घरधन्दा र खेतिकिसान सम्हाल्न पनि गाह्रो नै थियो।
जुगारूले अस्मितालाई ढाडस र हौसला दिइरहन्थे। घर बिदामा आउँदा जुगारू अस्मितालाई हरेक काममा सघाउँदै सुख दुःखको सहयात्री बनिदिन्थे।
१० महिनाअघि अस्मिताले छोरी जन्माइन्। छोरी जन्मेपछि घरमा थप खुशी छाएको थियो। तर यो खुसीमा एकाएक ठूलो बज्रपात पर्यो। अस्मिताले आफ्नो श्रीमान र मञ्जिताले बुवालाई गुमाए।
केही दिनअघिमात्रै श्रीमान जुगारू घर बिदामा आएका थिए। अस्मिता तिहारका लागि माइती गएकी थिइन्। जुगारू पनि कात्तिक २१ गते श्रीमतीलाई भेट्न उनको माइती घर गएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलीहवा कपिलवस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत चौधरी तिहार मनाउन भन्दै मंसिर १ गते कार्यालयमा हाजिर हुने सर्तमा बिदामा आएका थिए।
ससुरालीबाट कात्तिक २१ गते जुगारू पैदल हिँडेर घर फर्किए। तिहारका लागि घरमा आवश्यक बन्दोबस्तीका लागि उनी घर फर्किएका थिए।
थारू समुदायमा मालुको पातबाट दुना टपरी बनाउने र आफन्त कहाँ पाहुर लैजाने प्रचलन छ। त्यसका लागि आवश्यक मालुको पात घरमा नभएकाले उनी त्यसको खोजीमा बबई नदी पारीको घोराही-५ स्थित जनसेवा सामुदायिक वन गएका थिए।
उनीसँगै एक जना अन्य तीन जना छिमेकी पनि त्यहाँ गएका थिए। तीन जना महिला एकातिर लागेका थिए भने जुगारू अर्कैतिर।
सँगै घर फर्किने उनीहरूको सल्लाह थियो। त्यसअनुसार नै तीन जना महिला पात लिएर आई बाटोमा कुरेर बसे। तर केही बेर कुर्दा पनि जुगारू फर्किएनन्। उनीहरूले केहीबेर ठूलो स्वरले आवाज दिएर पनि बोलाए। तर जुगारू फर्किएनन्।
त्यसपछि उनीहरूले गाउँलेलाई बोलाएर खोजी गर्न गरेका थिए।
स्थानीयले खोज्नेक्रममा दिउँसो साढे ४ बजेतिर उनी मृत भेटिए।
उनलाई तत्काल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गर्यो।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार साढे ४ बजेतिर जुगारू मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्रहरीलाई दिइएको थियो।
त्यसबारे अस्मितालाई पनि त्यही साँझ जानकारी दिइएको थियो। जुगारूको मृत्युको खबर अस्मितलाई ठूलो पहाडले थिचेको जस्तै भान भएको थियो। श्रीमान् मृत भेटिएको खबर सुनेर उनी बेहोस भएका थिए।
जुगारूको छातीमा बन्दुकको गोलीका घाउहरू थिए। जसबाट उनको हत्या भएको भन्ने निष्कर्शमा प्रहरी पुगेको थियो।
अनुसन्धान गर्नेक्रममा कात्तिक २४ गते मध्यराति प्रहरीले घोराही-५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसीलाई पक्राउ गर्यो।
शेरबहादुर र जुगारूबीच कुनै चिनजान र रिसिइबी थिएन। सोधपुछ गर्नेक्रममा उनले आफूले हत्या गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ।
शेरबहादुर शिकार गर्न जंगल पसेको अनुसन्धानबाट खुलेको हो।
‘रूखमा चढेर मालुको पात टिप्दै गरेका जुगारूमाथि चोरी शिकारी गर्न भनेर जंगल छिरेका शेरबहादुरले भरूवा बन्दुकको निशाना लगाई गोली चलाएको तथ्य खुल्यो,’ एसपी रामबहादुरले भने, ‘बाँदर ठानेर गोली चलाएको भनेर बयान दिएका छन्। कुनै चिनजान र रिसिइबी पनि नभएको भनेका छन्।’
जुगारूमाथि गोली चलाएपछि शेरबहादुरले भरूवा बन्दुक ओडारमा लुकाएका थिए। प्रहरीले उक्त बन्दुक पनि बरामद गरिसकेको छ।
‘मेरो निर्दोष श्रीमानलाई पापी शिकारीले गोली हानेर मारिदियो,’अस्मिताले सेतोपाटीसँग भनिन्, ‘पापीले मेरो मात्रै सिन्दुर पुछेन र मेरी दस महिनाकी छोरीको भविष्य पनि अन्धकार बनाइदियो।’
बिदामा फर्किएको दिनमात्रै जुगारूले आफ्नी छोरी मञ्जितालाई धेरै पढाएर अफिसर बनाउने बाचा गरेका थिए। तर छोरीलाई पढाउन र अफिसर बनाउन नपाउँदै जुगारू बिते।
‘बिरामी आमा-बुवा, अविवाहित दुई भाइको भविष्य बनाउन तिमीले हेरचाह गर्नू भन्नुभएको थियो। तर उहाँविना अब मैले सम्पूर्ण जिम्मेवारी एक्लैले कसरी पूरा गर्नु?,’ अस्मिताले भनिन्, ‘मेरी छोरीले बाबा भन्न नपाउँदै र राम्रोसँग बाबु चिन्न नपाउँदै पापीले बाबु मारिदिए। मेरो श्रीमानको के नै गल्ती थियो र? हत्यारालाई कडा सजाय होस्।’
उनले छोरीको उच्च शिक्षा सम्म पढाउने जिम्मा र आफूलाई क्षमता अनुसार कुनै पनि रोजगारीको बन्दोबस्तको व्यवस्था पतिको हत्या गर्ने व्यक्तिले नै लिनुपर्ने बताइन्।
जुगारूको आइतबार बबई नदीस्थित आमखोली घाटमा अन्तेष्टि गरिएको छ।