काठमाडौं महानगरापलिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने व्यवसायी र डिलरहरूसँग छलफल गरेको छ।
बिहीबार महानगर प्रहरी बलको कार्यालयमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरण पूर्ण रूपमा रोक्न व्यवसायी र डिलरहरूलाई भनेका छन्।
'२८ गतेदेखि कुनै पनि पानलगायत अन्य पसलमा पनि सुर्तीजन्य पदार्थ बेच्न पाइँदैन,' बैठकमा उनले भने, '२७ गतेसम्म भएका सबै स्टक क्लियर गर्नुहोस्। २८ गतेदेखि अनुगमनमा कुनै सामान नभेटियोस्।'
सूचना कार्यान्वयन हुनुअगावै सम्बन्धित व्यवसायीहरूलाई सूचित गराउन बैठक राखिएको समेत उनले बताएका छन्।
'महानगरपालिकाले प्रतिबन्ध लगाएका पदार्थहरू बेच्न रोक लगाउनुहोस्,' उनले आग्रह गर्दै भने, 'यो जनस्वास्थ्य र वातावरणसँग सम्बन्धित विषय हो। तपाईंहरूले आफ्नो तरिकाले सम्बन्धित पक्षसँग सूचना पुर्याइदिनुहोला।'
बैठकमा उपस्थित एक बिक्रेताले भने, '२७ गतेसम्म बेच्न पाइन्छ?' भन्ने प्रश्न गरेका थिए।
उनलाई जवाफ दिँदै पाण्डेले भनेका छन्, '२७ गते भनेको बेच्न पाउने अन्तिम दिन हो।'
'कागजमा प्याक भएर आयो भने चाहिँ बेच्न पाउने भनेर सुनेको थिएँ', बैठकमा उपस्थित अर्का एक व्यापारीले भनेका थिए।
उक्त व्यापारीलाई जवाफ दिँदै पाण्डेले भनेका छन्- 'त्यसो होइन। महानगरपालिका क्षेत्रभित्र कागज त के पान, गुट्काहरू बट्टामै आयो भने पनि बेच्न पाइँदैन।'
यस्तै, महानगर प्रहरी बलका प्रहरी उपरिक्षक दिनेश अर्यालले पनि काठमाडौं महानगर क्षेत्रभित्र कुनै पनि पसलले सुर्तीजन्य पदार्थ मंसिर २८ गतेदेखि बिक्रीवितरण गरेको भेटे जफत गरी कारबाही गर्ने बताए।
त्यस्तै, चुरोटको हकमा भने खुला बेच्न नपाइने उनले बताए।
'चुरोट कस्ता ठाउँमा बेच्न पाइन्छ भन्ने पनि कानुनी व्यवस्था छ,' उनले भने, 'सार्वजनिक स्थल, विद्यालय, मन्दिर, सम्पदा, पार्क, अस्पताल लगायतका ठाउँभन्दा दुई सय मिटर पर मात्र बेच्न पाइन्छ। त्यसरी बिक्री गर्दा प्याकेटै बिक्री गर्नुपर्ने छ, खिल्ली बेच्न पाइँदैन।'
चिया पसलमा समेत चुरोटका खिल्ली बेच्न पाइने छैन। सेवन गर्नेले पनि सार्वजनिक स्थलमा सेवन गर्न नपाइने उनले बताए।
गत मंगलबार महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ मंसिर २८ गतेपछि बिक्रीवितरण र सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने बताएको थियो।
प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ बेच्न नपाइने हो या यस्ता सुर्तीजन्य पदार्थमै रोक लगाएको हो भन्नेबारे अन्यौलता सिर्जना भएको छ।
त्यही अन्यौलताबारे हामीले महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेललाई साधेका छौं।
'सुर्तीजन्य पदार्थ कसरी प्याकिङ गरिएको छ भन्ने होइन,' उनले सेतोपाटीसँग भने, 'कुनै पनि सुर्तीजन्य पदार्थ जस्तै गुट्का, सुर्ती, खैनी, पान-पराग लगायत महानगरपालिका क्षेत्रभित्र बेच्नै पाइँदैन।'
पौडेलका अनुसार सुर्तीजन्य पदार्थ सेवन गर्दा सेवनकर्ता र जनस्वास्थ्यको स्वास्थ्यमा असर पर्छ। यसका साथसाथै यस्ता पदार्थ सेवन गरी जथाभावी थुक्दा सहर प्रदूषित भएर ढलहरू फोहोर भई जाम भएको उनको भनाइ छ।
'यस्ता सुर्तीजन्य पदार्थले रोग निम्त्याउँछ,' उनले भने, 'जसले सेवनकर्ता स्वयंलाई असर पार्छ। अर्को भनेको जनस्वास्थ्यमा पनि असर परिरहेको हुन्छ। त्यसैले रोक लगाएका हौं।'
सरकाले गुट्खा तथा सुर्ती उद्योग सञ्चालन गर्न दिन्छ भने त व्यापारीहरूले बेच्न पनि पाउँछन् होला नि! भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिए।
'स्वास्थ्यमा असर पार्ने हुँदा यसरी बिक्रीवितरणमा निषेध गरिएपछि प्रयोगकर्ताको संख्या पनि क्रमशः घट्दै जान्छ, पछि प्रयोगकर्ताको संख्या घटेपछि यस्ता उद्योग स्वतः बन्द भइहाल्छ।'
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन- २०६८ र काठमाडौं महानगरपलिका जनस्वास्थ्य ऐन-२०८० अनुसार महानगरपालिकाले उक्त निर्णय लिएको उनको जिकिर छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी भएको ऐनले शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायतलाई सार्वजनिक स्थल घोषणा गरेको छ। त्यस्ता स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको कानुनमा उल्लेख छ। त्यस्तै जनस्वास्थ्य ऐन-२०८० को दफा ४२ (६) मा सुर्तीजन्य पदार्थ बिक्रीवितरणसम्बन्धी व्यवस्था गरिएको उनले बताए।
'उक्त दफामा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन, निषेध गर्न समय र क्षेत्र महानगरपालिकाले तोक्न सक्ने व्यवस्था गरिएको छ', उनले भने, 'सोही अनुसार निर्णय गरेका हौं।'
पहिलो चरणमा सुर्तीजन्य पदार्थ र गुट्खाको बिक्री वितरण कार्यक्रम र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने उनले बताए।
यस्तै, महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पनि सर्वसाधारणको स्वास्थ्यमा असर परेको देखिएपछि महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको बताए।
'धेरै मानिसहरू सुर्तीजन्य पदार्थ सेवन गरी क्यान्सर लगायत बिरामी हुन्छन्,' उनले भने, 'स्थानीयको स्वास्थ्यको ख्याल गर्नु हाम्रो दायित्व हो।'
जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणका क्रममा आगामी नयाँ वर्षदेखि गुट्खा तथा सुर्ती उद्योगले 'बायो डिग्रेडेवल' वस्तुमा प्याकिङ गर्नुपर्ने बताएका थिए।
'वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने हेतु गुट्खा तथा सुर्ती उद्योगले अन्तःशुल्क लाग्ने वस्तु प्याकिङ गर्दा प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने 'बायो डिग्रेडेवल' जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ', उनले भनेका थिए। तर महानगरले भने बिक्रीवितरणमा नै रोक लगाउन भनेको हो।