दर्जनौं गीत लेखेका नितेशले कैंयन् गीत गाएका छन्। तर यतिका वर्षसम्म पनि उनको दिमागमा एउटा गीत लेखनको समय गडिएर बसेको छ। किनकि जसरी उनी त्यसबखत भावनामा डुबेका थिए, त्यो आजको दिनसम्म पनि महसुस गरेका छैनन्।
‘मन थिएन यहाँ आउनलाई
मरी मेटी धन कमाउनलाई
के गर्नु देशभरी बेरोजगारी
थाम्न सकिएन ऋणको भारी
आमा मेरी तिमी क्षितिज पारी
याद आउँछ झलझली मुटुभरी’
यो पंक्ति 'हाम्रो नेपालमा' बोल गीतको हो। यी शब्दहरू लेख्दालेख्दै उनका परेली भिजेका थिए। जसको कारण उनी स्वयंलाई थाहा छैन।
‘त्यो रात आज पनि याद छ,’ उनले भने, ‘त्यतिबेला गीत लेख्दै गाउँदै गरिरहेको थिएँ, शब्दहरू गाउँदा गाउँदै गह भरिएर कतिबेला झरे पत्तै भएन। किन भावनामा बगेँ थाहा छैन।’
१५ वर्षे लामो सांगीतिक यात्रासम्म आइपुगेका नितेशको त्यो पहिलो अनुभव हो। त्यसबेला नै उनले सोचेका थिए, ‘मलाई किन यो गीतले यति धेरै भावनामा बगाइरहेको छ?’
त्यसबेला उनले ठम्याउन सकेनन्। ती पल सम्झँदै उनी भन्छन्, ‘हाम्रो नेपालमा गीत यहाँसम्म आइपुग्न लेखेको रहेछ सायद।’
ललितपुरमै जन्मे हुर्केका २९ वर्षीय गायक तथा संगीतकार नितेश जंग कुँवरले आफ्ना भावनाहरू शब्दमार्फत् कोर्ने गर्छन्। त्यही कोरिएका शब्दलाई नै गीत बनाउने गर्छन्।
नितेशका अनुसार हाम्रो नेपाल गीतमा जुन शब्दहरू छन्, उनले भोगेका होइनन्। वरिपरि कतै देखेका, सुनेका, पढेका कथाहरू गीतमा राखिएको उनी बताउँछन्।
‘गीतमा उल्लेख भएका कुरा मैले भोगेको छैन। सायद ती भोगिरहेका मान्छेहरूले रिलेट गर्नुभयो होला,’ उनले भने, ‘जुन कुरा मैले गीतमार्फत् भनेँ होला। मान्छेहरू मैले नै थाहा नपाएको ठाउँहरूबाट गीत गाएर रोएको देख्दा र सुन्दा त अचम्म लाग्छ।’
संगीत क्षेत्रमा झन्डै डेढ दशक बिताउँदा पनि नितेश सन्तुष्ट छैनन् तर खुसी भने छन्। हरेक प्रोजेक्ट सकिएपछि अन्तिममा अझ राम्रो काम गर्न सकिन्थ्यो कि भन्ने भाव उनमा पलाउँछ।
घरमा सांगीतिक माहोल थियो। नितेशका बुवा पनि गीतसंगीत क्षेत्रमै थिए। सानोदेखि बुवाले गाएको सुन्दा र हेर्दा उनलाई पनि गीतसंगीत क्षेत्रतिर आउन प्रेरित गरेको उनको भनाइ छ।
बाल्यकालयको स्वभाव सुनाउँदै नितेश भन्छन्, ‘म बाल्यकालमा चकचके स्वभावको बच्चा थिएँ। जसको स्कुलबाट धेरै कम्प्लेन आउने गर्थ्यो। एक किसिमको आफ्नै कल्पनाको दुनियाँमा हराउने बच्चा थिएँ।’
यसो त अहिले पनि उनको यो बानी यथावत् नै छ। अहिले पनि बेलाबखत् कल्पनामा डुबेर हराउने उनी बताउँछन्।
नितेशका अनुसार गीतसंगीत भनेपछि उनी हुरूक्कै हुन्थे। स्कुलबाट थकित भएर फर्किंदा घरमा गीतार बजाएर गाउने गर्थे।
‘स्कुलमा होमवर्कहरूको तनाव लिएर घरमा आएको हुन्थेँ,’ बाल्यकालका कुरा सम्झँदै उनले भने, ‘घरमा आएर गितार समाउँथे। गितार बजाएर गीत गाउँदा सबै कुरा बिर्सन्थें, मनै खुसी हुन्थ्यो।’
कक्षा सातमा नितेशले पहिलोपटक ब्याण्ड बनाएका थिए।
‘गुरूहरूले स्कुलमा पढाइका आधारमा को अब्बल छन् भन्नेर जाँच्ने गर्थे। त्यो अवस्थामा 'हामी पनि अब्बल छौं' भनेर बाल दिवसको दिन गायन प्रस्तुति दिएका थियौं,’ उनले भने, ‘त्यसबेला पहिलोपटक स्कुलमै ब्यान्ड कन्सर्ट गरेका थियौं।’
त्यो प्रस्तुति एकदमै राम्रो भयो। गुरूहरूलाई पनि नितेशले राम्रो गाउँदो रहेछ भन्ने भयो। त्यसपछि उनमा पनि केही गरेर देखाइयो भन्ने भाव पलायो।
सुरूदेखि नै गीतसंगीत क्षेत्रमा कुनै न कुनै रूपमा लागिरहेका नितेश सन् २०१५ सम्म थापाथलीस्थित फोर्ड मोटर कम्पनीमा काम गर्थे। तर नाकाबन्दीको समयमा उनले जागिर छाडेर गीतसंगीतमै केही गर्ने निर्णय लिए।
‘त्यतिबेला भुइँचालो गएको थियो। त्यही बेला छिमेकी मुलुक भारतले नाकाबन्दी लगाइदियो,’ उनले भने, ‘एउटा देशले नाकाबन्दी लगाउँदा यता सबैलाई हातमुख जोड्न गाह्रो भइरहेको थियो। त्यो व्यवहार चित्त बुझेन। अरूको नोकरी गरेर कसलाई धनी बनाउने भयो। बरू आफ्नो देशमा के योगदान गर्न सकिन्छ भनेर सोचेँ। गीतसंगीत नै सक्छु भन्ने लाग्यो।’
त्यसपछि जागिर छाडेर घर आए। सबै जनाले 'अब के गर्ला' भन्ने भावसहितको प्रतिक्रियाले हेरिरहेका थिए। गितार बोकी एक्लै हिँड्दा शंकालु भावले हेर्थे। तर ती कुराले नितेशलाई झनै हौसला दिन्थ्यो।
नितेशले आफ्नै युट्युब च्यानलमा लिरिकल भिडिओ बनाएर गीतहरू हाल्न थाले। जुन दर्शकले एकदमै रूचाए। दर्शकले त्यस्तो माया देखाउँदा उनी छक्क पर्थे। अनि सोच्थे, 'घरमा यतिकै बनाएका गीतका भिडिओहरूलाई पनि यतिधेरै माया!'
नितेशलाई आफूले अहिलेसम्म पाएको र कमाएको लोकप्रियता जस्तो लाग्छ। युवापुस्तामाझ राम्रो क्रेज भइरहेको बेला सन् २०२१ मा उनले फेसबुकमा स्टाटस लेख्दै आफ्नो सांगीतिक करिअर निष्कर्षमा पुगेको बताएका थिए। जुन विश्राम आवश्यक रहेको उनको भनाइ छ।
‘उक्त स्टाटस मैले सामान्य तरिकाले एउटा भावनामा लेखेको थिएँ,’ उनले भने, ‘जताततै समाचारहरू आए। लेखेपछि मात्रै थाहा पाएँ। म त उचाइमै पुगेको रहेछु।’
त्यतिबेला नितेशले आफ्नो व्यक्तित्व बुझ्न सकिरहेका थिएनन्। आफ्नो व्यक्तित्वभन्दा फरक भएर काम गरे जस्तो उनको अनुभव थियो। त्यसैले आफ्नो सांगीतिक जीवन पुनः सुरू गर्ने योजना बनाएर विश्राम लिएको उनको भनाइ छ।
तर विश्रामको घोषणासँगै गीतसंगीतमा लाग्न जसले प्रेरित गरेका थिए उनै व्यक्तिले उनलाई छाडेर गए।
‘विश्राम लिएको थाहा पाएपछि अस्पातालबाटै बुवाले ‘ठीक छ नि’ भनेर सोध्नुभएको थियो,’ उनले भने, ठीकै छ, तपाईंको अगाडिबाट सुरू गरेको थिए, तपाईंकै अगाडि सकियो। जे गर्छु नयाँ सुरू गर्छु' भनेँ। विश्राम लिएको केही समयमा त बुवाले पनि छाडेर जानुभयो। ’
झन्डै एक वर्ष विश्राम लिएपछि उनी पुनः फर्किए। छिट्टै संगीत क्षेत्रमा फर्किन प्रेमिका समृद्धि राई र आमाले प्रेरित गरेको उनी बताउँछन्। तर त्यसलाई उनी कम्ब्याक मान्दैनन्।
‘म कतै गएको थिइनँ। अलिकति समय ब्रेक लिएको थिएँ, कम्ब्याक गरेको होइन,’ उनले भने, ‘समृद्धि र आमाले मलाई फेरि गाउनुपर्छ, तिमीले स्टेजमा गएर प्रस्तुति दिएको हेर्न मन छ भनेर भन्नुहुन्थ्यो। यसले पनि अगाडि जीवनको नयाँ अध्याय सुरू गर्न हौसला दियो।’
विश्राम लिएपछिको पहिलो कन्सर्ट उनले दशरथ रंगशालामा गरेका थिए। केही अन्तरालपछि आउँदा पनि दर्शकले दिएको साथ र माया देख्दा चकित परे।
‘त्यसरी आउँदा पनि दर्शकहरू मलाई सुन्न कुरिरहनुभएको थियो,’ उनले भने, ‘गीतमा झुमिरहेका देख्दा माया गर्ने मान्छे रहेछन् भन्ने आभाष हुन्थ्यो। जसले अझ राम्रो काम गर्न प्रेरित गर्थ्यो।’
अहिले उनले पुरानो युट्युब च्यानलमा गीतहरू राख्दैनन्। पुरानो च्यानल नितेशजंग कुँवरको नोटिफिकेसन युट्युबले बन्द गरिदिएपछि एनजेके भाइबमा चलाउन थालेका छन्।
यस्तै, नयाँ सुरूआत गर्दा नयाँ च्यानल नै खोलेर जीवनको अर्को अध्याय सुरू गरेको उनी बताउँछन्। तर त्यहाँ अपलोड गरिएका गीतहरू धेरै दर्शकमाझ पहिलेझैं पुगेको थिएन। जसले उनलाई निराश समेत बनाउँथ्यो।
‘नयाँ सुरूआत गर्छु भनेर लाग्दा पनि दर्शकले पुरानै गीतहरू सुन्नुहुन्थ्यो,’ उनले भने, ‘त्यतिबेला निराश हुन्थेँ तर पछि आफैंलाई बुझाएँ- मेरो काम सृजना गर्ने हो। सबै रचना सबै दर्शकले रूचाउनैपर्छ भन्ने छैन। सबै दर्शक फरक हुन्छन्।’
एकपटक नितेशलाई कबड्डी कबड्डीका निर्देशक रामबाबु गुरूङले फिल्मका लागि प्रस्ताव समेत गरेका थिए।
‘जब मैले घर गएर फिल्म हेरेँ। नेपाली फिल्मको स्तर धेरै माथि पुगिसकेको रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘नेपाली फिल्मको स्तर धेरै माथि उठिसकेछ भनेर दाइलाई सक्दिनँ भनेँ।’
यसो त उनी फिल्म क्षेत्रमा आउने अहिलेसम्म कुनै पनि योजना नभएको बताउँछन्। तर आए सबैकुरा बुझिसकेर आउने उनी बताउँछन्।
बिस्तारै नयाँ गीतहरू सार्वजनिक गर्ने तयारीमा उनी छन्। त्योसँगै उनी यही जनवरीमा हुने अस्ट्रेलिया टुरका लागि व्यस्त पनि छन्।