केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले 'सुटिङ' गरेको भिडिओ क्लिप चर्चामा छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडिओ क्लिपको आलोचना गरेका छन्।
उक्त भिडिओ क्लिपमा सपुत र विश्वकर्माले काठमाडौंको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ। जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा कलाकारहरूले नाचेपछि आलोचना भएको हो।
कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा 'सुटिङ गरेर' नेवा: सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै कलाकारहरूको आलोचना भइरहेको छ।
यो भिडिओ क्लिप हालसालै खिचिएको भने होइन। यो करिब चार महिनाअघि 'कमाउने नि हो, रमाउने नि हो' भन्ने बोलको गीतको सुटिङ गरेको भिडिओ क्लिप हो। यो गीतको पूरा भिडिओ छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो।
भिडिओ क्लिपको आलोचना भएपछि हामीले उक्त इनारको महत्व र इतिहासबारे कुमारी घरका चिताइदार (संरक्षक) गौतम शाक्यसँग बुझेका छौं। उनले कुमारीको निजी इनारमाथि कलाकारहरूले अभिनय गरेको भिडिओमा देखिने बताए।
'त्यो कुमारीको निजी इनार हो। त्यहाँको पानी कुमारीले प्रयोग गर्दै आइरहनुभएको छ,' उनले सेतोपाटीसँग भने, 'मल्लकालीन समयमा कुमारीलाई पानी लिन टाढा जान पर्ने हुँदा त्यहाँ कुमारीकै लागि भनेर इनार खनिएको थियो। हिउँदमा प्राय: कुमारीले त्यही इनारको पानी प्रयोग गर्नुहुन्छ। इनारमा कुमारी घरबाटै ताल्चा पनि लगाइएको छ।'
उक्त इनारको छुट्टै गुठी छ। कुमारीले प्रयोग गर्ने इनार भएको हुँदा वर्षको दुई पटक खोलेर पूजा गर्ने गरिएको उनले बताए। तर अहिले इनारमाथि टेक्ने, चढेर अभिनय गर्नेजस्ता कार्य भएकोले आलोचना भएको उनले बताए।
'हामीले पहिलेदेखि नै इनार संरक्षणका लागि काठमाडौं महानगरलाई भनेका थियौं। इनारमाथि बस्ने, चिया खाने, वरपर चिया बेच्नेजस्ता कार्य रोक्नुपर्छ भन्दा महानगरले वास्तै गरेन,' उनले भने।
भिडिओ क्लिपको आलोचना भएपछि हामीले सुटिङ गरेका कलाकार प्रकाश सपुतलाई यसबारे सोधेका छौं। उनले भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र आफूले थाहा पाएको बताए।
'भिडिओ क्लिप भाइरल भएपछि मात्रै मैले थाहा पाएँ। त्यो पुरातात्विक हिसाबले महत्व बोकेको इनार रहेछ,' सपुतले सेतोपाटीसँग भने, 'गीत सार्वजनिक भएको महिनौंपछि यो क्लिप कसरी निस्कियो थाहा छैन। तर हामीबाट गल्ती भएको छ, क्षमा चाहन्छौं।’
गीतको भिडिओका लागि अभिनय गर्दा निर्देशकले भनेअनुसार गर्नुपर्ने उनले बताए। सोअनुसार काम गर्दा गल्ती भएको उनको भनाइ थियो।
'त्यो भिडिओमा म कलाकार मात्र थिएँ। अरूले नै निर्देशन गर्नुभएको थियो,' उनले भने, 'त्यो भन्दैमा म त्यसबाट पन्छिन त मिल्दैन। त्यतिबेला पनि इनारमाथि सुटिङ सकाएपछि 'यहाँ त गर्न हुन्न थ्यो कि!' भनेर टिमलाई लागेको थियो। त्यसैले सार्वजनिक भएको गीतको भिडिओमा उक्त क्लिप पनि समावेश गरिएको थिएन।’
गीतको भिडिओमा समावेश नभएको तर सुटिङ गरिएको भिडिओ क्लिप भाइरल भएको हो।
डबली क्षेत्रमा भिडिओ खिच्न कसैलाई पनि अनुमति नदिइएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले बताए।
'हामीले अनुमति दिँदा काल भैरवबाट दक्षिण र कुमारी घरबाट उत्तरक्षेत्रतिर मात्रै भिडिओ खिच्न पाउनुहुन्छ भनेर ब्रिफिङ गरेका हुन्छौं,' उनले भने।
इनार संरक्षणका लागि सम्बन्धित निकायहरूबीच छलफल गर्न लागेको उनले बताए। 'अहिलेलाई इनारमाथि गमला राखिएको छ। इनार संरक्षण गर्न के काम गर्दा उपयुक्त हुन्छ सबैले छलफल गरेर निष्कर्ष निकाल्छौं,’ उनले भने।