पछिल्लो समय नेवारी गीत ‘ऐला लुवया’ चर्चामा छ। गीतको तात्विक अर्थ नबुझेता पनि सबै दर्शक तथा स्रोताले गीत रूचाइरहेका छन्। उसो त नेपालमा टिकटक प्रतिबन्ध नहुँदा धेरैले भिडिओ समेत बनाएका थिए। युट्युबमा अहिलेसम्म सो गीत ३८ लाख पटक हेरिएको छ।
रोजमानले गीतले यति धेरै चर्चा बटुल्ला भनेर कल्पना समेत गरेका थिएनन्।
‘नेवारी गीतले यति धेरै चर्चा पाउँला भन्ने त मैले सोचेको थिइनँ,’ उनले सेतोपाटीसँग भने, ‘गीतको अर्थ नबुझेता पनि संगीतकै भरमा यति धेरै माया गर्नुभयो, जुन अतुलनीय छ।’
प्रकृतिप्रेमी रोजमान प्रायः गीतार बोकेर भाइसँग कुलेखानी घुम्न निस्कन्थे। एक वर्षअघि पनि उसैगरी कुलेखानी गएका थिए। गीतार बजाएर गुनगुनाउने क्रममा उनलाई एक्कासि 'ऐला लुवया' शब्द आयो। जसको अर्थ नेपालीमा रक्सी खन्याउने हो।
'गुनगुनाएर बस्दा एक्कासि ऐला लुवया भन्ने शब्द आयो,' उनले भने, 'पहिलेदेखि नै नेवारी डान्सिङ नम्बर गीत बनाउन मन थियो, अनि नेवारहरूको बिहे भोजमा रक्सी खन्याएको देखेको थिएँ। यो शब्दमै बनाउँदा हुन्छ भन्ने लाग्यो। त्यसमाथि नेपाली उखान टुक्का प्रयोग गर्दा दर्शकले रूचाउनुहुन्छ भनेर नेवारी उखान टुक्का हाली गीत लेख्न योजना बनाएँ।'
योजना त बनाए तर उनलाई नेवारी उखान टुक्का थाहा थिएन। गीतमा उखान टुक्का राख्नै उनले बुढापाकाको संगत गरे। अनि दसैंको समयमा सार्वजनिक गरे 'ऐला लुवया'को म्युजिक भिडिओ।
भिडिओ सार्वजनिक भएपछि गीत दर्शकहरूले अत्यधिक रूचाए। दर्शकले गीत रूचाएको देखेर उनी आफैं छक्क परे।
रोजमानको यो तेस्रो गीत हो। यसभन्दा अगाडि उनले 'सालुगु गाचा सालेमते’ बोलको नेवारी गीत बनाएका थिए। यस गीतमा प्रयोग गरिएको धून सयौं वर्ष पुरानो भएको उनी बताउँछन्।
खोकनास्थित कुटुपुखु भजन खल: मा चालिस वर्षमाथिका आमाहरू संगीत सिक्न आउँथे। ६ वर्षअघि रोजमान पनि त्यहाँ तबला सिकाउन गएका थिए। गायक बिबिन्द्र डंगोलले भने हार्मोनियम सिकाउँथे।
'भजन खल: का एक संस्थापकले सधैं ‘सालुगु गाचा’ भन्दै दुई लाइन गुन्गुनाउनु हुन्थ्यो,' उनले भने, 'त्यो लाइनले मन छोयो, थप बुझ्न खोज्दा उक्त गीत र धूनबारे कसैलाई केही थाहा रहेनछ।'
लोप हुन लागिसकेको धून बचाएर नयाँ पुस्तामाझ पुर्याउनुपर्छ भन्ने भाव उनमा पलायो। त्यसलाई गीत बनाउने विचार गरी नेवारी भाषामा अब्बल बिबिन्द्र डंगोललाई गीत लेखिदिन आग्रह गरे। उनले संगीत संयोजन।
गीत लेखन र संगीतको काम सकियो। उनले भजन खलःकै आमाहरूको आवाजमा गीत रकर्ड गरे। तर उनलाई एक मनको कुनाकन्धारमा थाहा थियो- गीत निकालेर मात्र हुँदैन राम्रो म्युजिक भिडिओ पनि बनाउनुपर्छ।
त्यसका लागि उनीसँग पैसा थिएन। उनीहरूले भजन खलः मा सिक्न आउने प्रत्येक आमाबाट एक हजार रुपैयाँ उठाए र भक्तपुरमा छायांकन गरे। म्युजिक भिडिओ तयार भयो। आफ्नै युट्युब च्यानलमा राखे। जसमा पहिले नै एक लिरिकल भिडिओ हालेका थिए।
'एउटा मात्र लिरिकल भिडिओ हालेको च्यानलबाट गीत अपलोड गर्दा तीन दिनमै एक लाखले हेरे,' पहिलोपटक सालुगु गाचा गीत सार्वजनिक भएको पल सम्झदै दंग भएर उनले सुनाए, 'गीत हेरेका सबैले मन पराइदिनुभयो। सबैभन्दा छोटो समयमा मिलियन भ्युज पाउने नेवारी गीत भनेर पुरस्कार नै पायो।'
ललितपुरको खोकनामा जन्मे हुर्केका २७ वर्षीय रोजमान महर्जन दाफामा बाजा बजेको सुन्नासाथ त्यहीँ पुगिहाल्थे। त्यहाँ कसरी बाजाहरू बजाइन्छ भनेर चाख लगाएर हेर्थे। बिस्तारै उनले दाफामा धिमे बजाउन सिके। जति बाजा बजाउन सिक्दै गए, अझ नयाँ कुरा सिक्नुपर्छ भन्ने हुटहुटी पलाउँदै गएको उनी सम्झन्छन्।
'दाफामा धिमे बजाउन सिकिरहेको थिएँ,' उनले भने, 'यता रूद्रायणी उच्च माध्यमिक विद्यालयमा गणित पढाउने शिक्षक लक्ष्मी डंगोलले राष्ट्रिय गानमा मादल बजाउन सिकाउनुहुन्थ्यो। मलाई पनि रुचि थियो, सिक्थेँ।'
रोजमानको रुचि देखेर शिक्षिकाले ‘तिमीले अरू बाजा पनि बजाउन सिक्नुपर्छ’ भनेर हौसला दिइन्। मन लागिरहेको कुरा गर्न पाउँदा उनी दंग थिए। स्कुलको गृहकार्य सबै भुलेर उनी मादल र तबला बजाएर घण्टौं बस्थे।
दाफामा बाजा बजाउन सिक्दा गुरूले ताल याद गरेर आउन भन्थे। उनी भने स्कुलको बेन्च ठट्याएर ताल कण्ठ गर्थे। कतिपटक त शिक्षकले ध्यान अन्तैतिर रूमाल्लिएको भनेर गाली समेत गरेका छन्।
रोजमानका अनुसार कक्षा ९ मा एक कार्यक्रम थियो। त्यहाँ उनले जिम्बे, मादल, तबला र धिमे वाद्यवाधन एकै समयमा बजाए। उक्त प्रस्तुतिको सबैले प्रशंसा गरे। त्यसपछि उनलाई शिक्षकले हेर्ने दृष्टिकोण नै फेरबदल भयो।
'सबैबाट हौसला पाएपछि संगीतमै केही गर्ने हो भने सिक्नुपर्छ भन्ने लाग्यो,' उनले भने, 'गुरूले ‘प्रयाग संगीत समिति’ नामक भारतीय संगीत संस्थानमा बाजाबारे पढाइ हुन्छ भनेर सुनाउनुभएको थियो। त्यही मेजर तबला लिएर डिप्लोमा लागि गुरूसँगै भर्ना भएँ।'
उता संगीतमा डिप्लो गर्दै थिए भने अर्कातिर उनी पिनाकल कलेजमा प्लस-टु पनि गर्दै थिए।
एकदिनको कुरा हो। उनी बिहानै उठेर कलेज जाँदै थिए, बाटोमा एक राजनीतिक दलको अधिवेशन भइरहेको रहेछ। धिमे बजाइरहेको देखेपछि उनलाई पनि जान मन लागिहाल्यो।
‘एउटा राजनीतिक दलको अधिवेशनमा धिमे बजाउन बाटोमा हिँडिरहेको थियो,' उनले ती क्षण सम्झँदै भने, 'बाजा बजेको देखेपछि हुरूक्कै हुने म पनि जाम् जस्तो लाग्यो। तर कलेज ड्रेसमा छु भनेर गइनँ तर केही हुन्न भनेपछि म पनि हौसिँदै गएँ।'
उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको कुरा रोजमानलाई थाहा थिएन। कलेजकै ड्रेसमा धिमे बजाई हिँडेको भिडियो प्रिन्सिपलले देखेँ। त्यसपछि एक साता निलम्बन भएको उनी बताउँछन्।
निलम्बन परेको कुरा उनले घरमा सुनाएनन्। पहिलेझैं ड्रेस लगाएर घरबाट निस्किन्थे र काठमाडौं वरिपरि घुम्न जाने गरेको उनले सुनाए।
उनले संगीतमा डिप्लोमा गर्दै नै थिए। बाजाको ज्ञान फराकिलो हुँदै गयो। गुरूले सँगै कार्यक्रममा लिएर हिँड्न थाले। कतिपटक त गुरूले नभ्याउँदा उनैलाई जान आग्रह गरेको उनी सम्झन्छन्। त्यसरी नै उनले गजल र अरू गीतमा तबला बजाउने काम गरिरहे। चिनजानको क्रम बढ्दै गएपछि कसैलाई केही पर्दा रोजमान छ भनेर सम्झने गरेको जिकिर गर्छन्।
उनका चिनजानका पाँच वर्षअघि एक दाइले बसन्तपुरमा होटल खोलेका थिए। होटलको उद्घाटन समारोहका लागि गायिका सुवानी मोक्तानलाई बोलाइएको थियो। उनी सोही कन्सर्ट हेर्न आफ्नो शो सकाएर साथीसँग त्यहाँ पुगे।
'ब्रेकपछि उहाँको क्याजोनिस्ट कतै जानुभएछ, आउन ढिला भएपछि दाइले 'हाम्रो भाइहरू छ' भनेपछि सुवानी जीले सहयोग गर्न प्रस्ताव गर्नुभयो,' उनले भने, 'उहाँले भनेपछि नबजाउने त कुरै थिएन। सहजै प्रस्ताव स्वीकार गर्यौं र बजायौं।'
रोजमान र उनका साथीले बजाएको सुवानीलाई मन पर्यो। त्यसपछि उनले अन्य कामका लागि उनको नम्बर लिएर बिदा भइन्। नम्बर लिएर गएको दुई सातामै सुवानीले फोन गरिन्। त्यति बेला उनले ठूला कलाकारहरूलाई चिन्ने मौका पाइरहेका थिए। अर्कातर्फ उनको संगीतमै डिप्लोमा पनि सकियो।
एकदिनको कुरा हो। उनलाई उनकै संगीत गुरू कुलप्रसादको फोन आयो। गुरूले ज्ञानोदय स्कुलमा संगीत शिक्षक मागेको हुँदा आवेदन दिन भने। उनले पनि पैसा भएपछि आफूले सिक्न खोजेको कुरा सहजै गर्न सकिन्छ भनेर आवेदन दिए।
'आवेदन दिएपछि अन्तर्वार्ताका लागि बोलाइयो,' उनले भने, 'मलाई सानो देखेर प्रिन्सिपल इन्दिरा याक्थुम्बाले कतिसम्मलाई सिकाउन सक्छौ भनेर ठट्टा गर्दै सोध्नुभयो। मैले पनि बच्चादेखि बुढोसम्मलाई सिकाउन सक्छु भनेर भनेँ।'
अन्तर्वार्ता दिएको भोलिपल्ट स्कुलबाट फोन आयो।
सानैदेखि उनलाई १९७४ एडी ब्यान्ड एकदमै मन पर्थ्यो। खोकना नै घर भएका रोजमानले ब्यान्डका संस्थापक निराकार याक्थुम्बालाई बेलाबखत साइकलिङ गर्दै आएको देखेका थिए। तर उनीबारे थप कुरा उनलाई थाहा थिएन।
ज्ञानोदय स्कुल पढाउन थालेपछि उक्त स्कुल निराकारको आमाको रहेछ भन्ने उनले थाहा पाए।
'निराकर सर कहिलेकाहीँ चेकिङका लागि आउने गर्नुहुन्थ्यो,' उनले भने, 'सरले हेरेर जानुहुन्थ्यो। म मादल सिकाइरहेको हुन्थेँ।'
त्यहीँ क्रममा एकदिन निराकरले घरमा खाना खाइरहेको समयमा आमासँग रोजमानबारे जिज्ञासा राखेछन्। इन्दिराले पनि रोजमानबारे सबै कुरा बताइदिइन् र निराकारले मोक्षमा पठाइदिन भने।
'म मोक्षमा पुग्दा १९७४ एडी ब्याण्डका केही सदस्यहरू सँगै थिए,' उनले भने, 'कस्तो बजाउँछ भनेर हेर्नुभयो। सबैलाई मन परेपछि 'फल्कर्स प्रोजेक्ट' मा काम गर्न मौका दिनुभयो।'
रोजमानका अनुसार 'फल्कर्स प्रोजेक्ट' सकिएपछि एकदिन निराकारलाई भेटेर १९७४ ब्यान्डसँग काम गर्न इच्छुक भएको बताए। र कुनै प्रोजेक्ट भए आफूलाई सम्झन आग्रह गरे।
'त्यसको एक महिनापछि सरले फोन गर्दै ब्यान्डको ‘न्यू-लाइन अप’ मा सामेल हुन बोलाउनुभयो,' उनले प्रसन्न मुद्रामा भने, '१९७४ एडी द न्यू-लाइनअपको सदस्य बनेँ।'
ज्ञानोदयमा काम गर्दागर्दै उनले पहिलो गीत ‘प्यार हुन्छ’ लेखेका थिए जुन बेलाबखत साथीभाइलाई सुनाउँथे।
'साथीहरूले हाम्रो लागि भए पनि गीत रेकर्ड गर्नुपर्छ भनेपछि लिरिकल भिडिओ बनाएर हालेँ,' उनले भने, 'त्यसको तीन वर्षपछि, दोस्रो गीत ‘सालुगु गाचा’ र अहिले ऐला लुवया नेवारी गीत सार्वजनिक गरे।'
अहिले उनी कुम्भ सागरको ब्याण्डमा आबद्ध छन्। त्योसँगै अहिले कस्तो नयाँ गीत बनाउने भनेर समेत लागिरहेको उनी सुनाउँछन्।
पछिल्लो समय नेवारी गीतहरू दर्शक स्रोताले रूचाउँदा उनी मख्ख छन्। तर अझ नेवारी गायक तथा संगीतकारले गुणस्तरणीय गीत संगीत बनाउन जोड दिनुपर्ने उनको भनाइ छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी