ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गर्न उभिएर अभियन्ता ई:ले 'स्टन्टबाजी' गरेको मेयर चिरीबाबु महर्जनले बताएका छन्।
फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै मंगलबार दिउँसो ३ बजे प्रदर्शन गर्न महानगरअगाडि पुगेका ईःलाई इंगित गर्दै मेयर महर्जनले उक्त कुरा बताएका हुन्।
'सामाजिक सञ्जालमा लेखेर आज कार्यालयअगाडि उहाँले अप्रत्याशित रूपमा स्टन्टबाजी गर्दै प्रदर्शन गर्नुभयो,' उनले भने।
गत मंगलबार महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि लगनखेल 'फुटपाथ पसल निषेधित क्षेत्र' हुने भनेको थियो। तर केही विरोधका स्वरहरू आएपछि ती समस्या कसरी सम्बोधन गर्ने भनी छलफल गरिरहेका बेला ईःले कुरा नबुझी विरोध गर्नु अपरिपक्व निर्णय भएको मेयर महर्जनले बताए।
'ईःले यहाँ आएर १०८ मिनेट प्रदर्शन गर्नुभन्दा अगाडि यहाँ आएर आफ्ना कुराहरू राखेको भए हुन्थ्यो,' उनले भने, 'एकचोटि समय लिएर भेट्न आएको भए केही कुरा गर्न सकिन्थ्यो। तर बिना भेटघाट अप्रत्याशित रूपमा सामाजिक सञ्जालमा छाएर जुन विरोध गर्न आइपुग्नुभएको छ, त्यो दुर्भाग्य हो।'
फुटपाथ व्यापारीलाई महानगरले प्रोत्साहन गरेको केही उदाहरण दिँदै उनले थपे, 'पुल्चोक, जावलाखेल, एकान्तकुना र लगनखेलका धेरै भागहरूमा फुटपाथ व्यापार गर्न दिइएको छ। पहिले त्यहाँ दिउँसो पनि व्यापार हुन्थ्यो। तर अहिले समय तोकेर व्यवस्थापन गरी गर्न दिएका छौं।'
मेयर महर्जनका अनुसार काठमाडौंको फुटपाथ व्यापार बन्द गरेर व्यवस्थापन नगर्दा ललितपुरमा व्यापार गर्न आउनेको संख्या बढेको छ। यसको चाप मंगलबजारदेखि लगनखेलसम्म देखिएको उनले बताए।
मंगलबजारदेखि लगनखेल जाने ६०० मिटर बाटोको चौडाइ सानो छ। पाटन दरबार परिसर घुम्न आउने पर्यटकलाई समेत हिँड्न कठिन भइरहेको छ। त्यसैले सुधारको थालनी गरेको र फुटपाथ व्यवसाय शतप्रतिशत प्रतिबन्ध गर्न नखोजेको उनले बताए।
'पाटन दरबार परिसर घुम्न आउनेलाई मंगलबजारदेखि लगनखेलको बाटो भएर बाहिर निस्किन सहज पर्छ। त्यसैले त्यो बाटो वान- वे बनाउँदै छौं,' उनले भने, 'सानो बाटोमा व्यापार हुँदा अनेकौं कठिनाइ आएपछि उक्त क्षेत्रमा बेलुकी मात्र निषेध गरेका हौं। बिहान दिएका नै छौं। अन्य ठाउँका हकमा त्यहाँको वस्तुस्थिति हेरेर समय तोकिएको छ।'
मंगलबार अभियन्ता ईः पुग्नु दुई घन्टाअगाडि नै स्थानीयहरू फुटपाथमा व्यवसाय गर्न पाइँदैन भन्दै प्रदर्शन गर्न पुगेका थिए। प्रदर्शन गर्न पुगेका स्थानीय राजेश तण्डुकारले सडक व्यवसायका लागि नभइ हिँड्नका लागि समेत भएको बताए।
'सडक ठूलो बनाएको व्यापार गर्न होइन,' उनले भने, 'हिँड्नका लागि हो। घरबाहिर हिँड्न समेत नमिल्ने गरी व्यापार भइरहेको हुन्छ।'
स्थानीय राजेन्द्र महर्जनले विपदका समयमा एम्बुलेन्स, दमकल र शववाहन समेत लैजान कठिन हुने गरी व्यापार भइरहेको बताए।
शान्तिपूर्ण प्रदर्शन गर्न पुग्नासाथ स्थानीयले ई: लगायतका प्रदर्शनकारीले बोकेको पम्प्लेट च्यातिदिएका थिए।
ईः र अरू प्रदर्शनकारीमाथि स्थानीयहरू आक्रोशित बनेपछि प्रहरीले ईःलाई प्रहरी प्रभाग पुल्चोकमा झन्डै दुई घन्टा राखेको थियो। प्रहरी कार्यालयभित्रै १०८ मिनेट उभिएर ईःले शान्तिपूर्ण प्रदर्शन टुंग्याए।
अभिव्यक्ति स्वतन्त्रता भएकै कारण महानगरअगाडि प्रदर्शन गर्न गएको ईःले बताएका छन्।
'चित्त नबुझेका कुरा राख्न अभिव्यक्ति स्वतन्त्रता छ भनेर शान्तिपूर्ण प्रदर्शन गर्न त्यहाँ पुगेका थियौं,' उनले भने, 'तर प्लेकार्ड समेत राम्ररी देखाउन नपाइ च्यातिदिए।'
ललितपुरले काठमाडौंको सिको गर्दै सडक व्यवसायमाथि यस्तो व्यवहार गरेको पनि उनले बताए।
'हामीले साउन ११ गते सडक व्यवसाय जसरी व्यवस्थापन भएको छ, त्यो एकदमै राम्रो छ भनी मेयरलाई भेटेर धन्यवाद दिएका थियौं,' उनले भने, 'त्यतिबेलै अझ दीर्घकालीन रूपमा सडक व्यवसायी व्यवस्थापन गर्न सकिने कार्यसहित सुझाव पनि दिएका थियौं।'
तर मंगलबजार-लगनखेलमा सडक व्यवसायको ठूलो बजार भएको ठाउँमै फुटपाथ निषेधित हुनु नराम्रो भएको उनको भनाइ छ।
'अहिले एक ठाउँमा निषेध भनेको छ,' उनले भने, 'भोलि अन्य ठाउँमा गर्न पाइँदैन भनेर सर्न सक्छ।'
उनले अगाडि भने, 'आज जसरी शान्तिपूर्ण प्रदर्शन खलबलाउन राजनीतिक भीड आएको छ, अभिव्यक्ति स्वतन्त्रता छैन भन्ने आभास भएको छ।'
ईःले पहिलेझैं समयको व्यवस्थापन मिलाएर सडक व्यवसाय गर्न दिन महानगरलाई आग्रह गरेका छन्।
महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले साँझपख फुटपाथ व्यापारीले बाटो भरिँदा मानिसहरूलाई आवतजावत गर्न कठिन भएको गुनासो आएको बताए। अर्कोतर्फ त्यस क्षेत्रमा केही विपद पर्दा एम्बुलेन्स र दमकल लैजान समेत कठिन हुने उनको भनाइ छ।
फुटपाथ व्यापारीको संख्या बढेर सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको पनि हाछेथूले बताए।
'काठमाडौं महानगरले फुटपाथ व्यापारी हटायो। त्यसपछि यहाँ ६ बजेपछि व्यापार गर्न दिइन्छ भनेर व्यापार गर्न आउनेको संख्या ह्वात्तै बढ्यो,' उनले भने, 'पहिले चार सय जना मात्र भएको फुटपाथ व्यापारीको संख्या अहिले बढेर हजार पुगिसकेको छ। ठाउँभन्दा धेरै मान्छे भएपछि झै-झगडा, पाकेटमार जस्ता गतिविधि पनि बढ्न थाल्यो।'
त्यस्तै त्यो क्षेत्रमा सटर पसलले नै पसलबाहिर सानो ठाउँ भाडामा दिने गरेको भेटिएको उनले बताए।
'मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रमा ११७ वटा पसल छन्,' हाछेथूले भने, '२४० वटा ठाउँका फुटपाथ किनबेच भइरहेको छ। फुटपाथको ठाउँ मासिक १० देखि २५ हजार रूपैयाँसम्म किनबेच भएको भेटियो। यस्तो विकृति देखेपछि पनि यो निर्णय लिएका हौं।'
भैंसेपाटी, हरिसिद्धी, धापाखेल, एकान्तकुना, कुसुन्ती, नख्खुखोला, कुपण्डोल, सुन्धारा चोक, सानेपा हाइट, ढुंगेधारा, भनिमण्डल, बंगलामुखी लगायत ठाउँमा फुटपाथ व्यापार भइरहेको उनले बताए।
'अहिले पनि व्यापार गरिरहेको ती ठाउँमा हामीले केही भनेका छैनौं। न त कारबाही नै गरेका छौं,' उनले भने, 'मानिस धेरै आवतजावत गर्ने ठाउँमा फुटपाथ व्यापार गर्दा नै असहज भएको गुनासो आएपछि हटाउँदा विरोध गर्नुपर्ने कुनै कुरा छैन।'
यस्तै, फुटपाथ निषेधित क्षेत्र भनिएका ठाउँमा अहिले पनि व्यापार हुँदा कुनै स-सामान नियन्त्रणमा नलिएको हाछेथूले बताए। उनीहरूलाई हाल सम्झाइ बुझाइ गर्दै कुनै कारबाही नगरेको उनको भनाइ छ।
यसअघि ललितपुर महानगरपालिकाले बेलुकी ६ बजेपछि फुटपाथ व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न दिँदै आएको थियो।
हेर्नुहोस् भिडिओ: