बाल्यकालमा गाडीसमेत नदेखेका एकदेव लिम्बूले सोचेका पनि थिएनन्- हवाइजहाज चढेर कुनै दिन स्वदेश र विदेशमा प्रस्तुति दिन्छु भनेर!
इलामको आमचोक गाउँमा जन्मेका २७ वर्षीय लिम्बूले ११ वर्षको हुँदा गाडी देखेका थिए।
‘पहिलो पटक डोजर गाडी देखेँ, त्यो बेला मलाई अचम्म लाग्यो,’ सेतोपाटीसँगको कुराकानीमा बाल्यकाल सम्झँदै लिम्बूले भने।
उनको बाल्यकाल गाउँ नजिकैको खोलामा गएर पौडी खेल्ने र साथीहरूसँग गुच्चा खेल्नमा बित्यो। भन्छन्, ‘पढ्न विद्यालय जान पाइनँ।’ गाउँमा स्कुल थियो तर गएर पढ्नुपर्छ भन्ने थाहा नभएको उनी बताउँछन्।
२०५३ सालतिरको कुरा हो। देश माओवादीको सशस्त्र द्वन्द्वले आक्रान्त थियो। गाउँमा बस्न गाह्रो हुँदै गएपछि परिवार इलामकै लारूम्बा गाउँमा बसाइँ सरेका थिए। लिम्बु भाषाबाहेक उनले अरू भाषामा कुराकानी गर्न सक्दैनथे।
उनको गाउँमा बसोबास गर्नेहरूले नेपाली भाषा बोल्थे।
‘बसाइँ सरेर आएकाहरू बस्ने शिविरमा भएका बालबच्चा पढाउन त्यसबेला काठले बारेर स्कुल बनाइएको थियो,’ उनले भने, ‘राम्रो ठाउँमा पढेर आएकाहरूले हामीलाई पढाउने गर्नुहुन्थ्यो, मैले त्यहीँ कखरा सिकेँ।’
उनलाई अंग्रेजी अक्षर सिक्न पाँच महिना लागेको थियो। ‘हामीलाई त्यसबेला नेपाली भाषा बोल्न आउँदैनथ्यो, त्यसैले म र बहिनीलाई साथीहरू जिस्क्याउँथे,’ उनले भने।
लारूम्बाबाट दमक केही दूरीमा छ। उनलाई दमकले लोभ्याइरहेको थियो।
उनले बुवासँग एक दिन भने- मलाई दमकको स्कुलमा भर्ना गरिदिनु। बुवाले पनि सर्त तेर्साए- परीक्षामा ६० प्रतिशतभन्दा बढी ल्याए मात्र दमक पढाउँछु। ‘मैले बुवाका कुरा मनन् गर्दै पढाइमा मेहनत गरेँ, दमक गएरै छाडेँ,’ उनले भने।
एकदेवका बुवा शिक्षक थिए। उनले छोरालाई सरकारी कर्मचारी वा राजनीतिकर्मी (नेता) बनाउने सपना बुनेका रहेछन्। ‘त्यसैले होला, बुवाले मलाई लोक सेवा तयारीका लागि किताबहरू ल्याइदिनुहुन्थ्यो। तर मलाई त्यतातिर रूची थिएन, संगीत क्षेत्रमा केही गर्न तल्लीन थिएँ,’ उनले भने।
तर संगीत क्षेत्रमा केही गर्न सकिन्छ भन्ने परिवारलाई बुझाउन समय लागेको उनले बताए।
‘तीन वर्षअघि मात्रै मैले संगीतमा लागेर केही गर्न सकिन्छ भनेर बुवालाई विश्वास दिलाउन सकेँ,’ उनले भने, ‘शिरफूल-२ निस्केपछि गीत संगीतमा केही गर्न सक्छ भनेर बुवा मुसुक्क हाँस्नुभयो।’
त्यसपछि राम्रोसँग गीतसंगीतमा लाग्नू भनेर बुवाले भन्न थालेको उनले बताए।
'पहिले सामाजिक सञ्जाल थिएन। गीत बजाइदिनु भन्दै क्यासेट दिन रेडियो स्टेसन पुगेर लाइनमा बस्नुपर्थ्यो। काठमाडौंका बागबजार र पुतलीसडकका गल्लीका स्टुडिओमा रेकर्डिङ गर्न घटौं लाइनमा बस्थ्यौं,' उनले भने।
गायकले गीत मात्र गाउने भन्ने बुझेका उनले सबै काम गर्न जान्नुपर्छ, सिक्नुपर्छ भन्ने पनि थाहा पाए। ‘गायकको काम स्टुडिओमा गएर गाउने मात्र होइन रहेछ,’ उनले भने।
दर्शक र स्रोताको माया देखेर उनी गीतसंगीततर्फ आकर्षित भएका थिए।
'गाउँमा हुँदा म नाच्थें,' उनले भने, 'अरूले गाएको देख्दा कहिल्यै सोचेको थिइनँ- म पनि देश, विदेशमा गएर प्रस्तुती दिन्छु भनेर! त्यसबेला मलाई यी सबै कल्पना बाहिरका कुरा थिए।'
एकदेवका गीतहरूमा प्रायः लिम्बू संस्कृतिको झल्को पाइन्छ। कुनै न कुनै रूपमा उनले आफ्नो संस्कृति र परम्पराको स्वाद दिइरहन्छन्।
सानैदेखि लिम्बू परिवेशका गीत, संस्कृति, भाषाले आफ्नो संगीतलाई सहयोग पुर्याएको उनी ठान्छन्।
उनले 'भाइरल हुने' चक्करमा लाग्न नहुने र गीतसंगीतको मर्म बुझ्नुपर्ने बताए।
‘बजारमा के चलिरहेको र बिकीरहेको छ भन्दा पनि कस्तो गीतसंगीत गर्दा उपयुक्त हुन्छ भनेर हेर्नुपर्छ। ट्रेण्डअनुसार चल्ने चक्करमा लाग्यो भने गाह्रो हुन्छ, त्यसले सिर्जनामा पनि असर पार्छ,' उनले भने।
एकदेवका थुप्रै गीतहरू हिट छन्।
त्यमध्ये धेरैले रूचाएको गीत तिम्रो मुटुमा हो-
'तिम्रो मुटुमा म मात्र छु
म मानु कसरीऽऽऽ
म मानु कसरीऽऽऽ
सबैसँग तिम्रो उस्तै उस्तै व्यवहार छ'
यो गीत धेरैले रूचाए। त्यसपछि उनले आ है! बाहाना, किन बोल्दिनौंलगायत म्युजिक भिडिओ ल्याएका थिए।
पछिल्लो समय उनले 'फिजेको केस' म्युजिक भिडिओ ल्याएका छन्। यो गीतलाई पनि धेरैले रूचाएको उनले बताए। स्वदेश र विदेशमा उनले बेलाबखत प्रस्तुती पनि दिएका छन्।
‘म कुनै दिन प्रस्तुतीका लागि विदेश जान्छु भनेर सोचेको पनि थिइनँ,’ उनले बाल्यकाल सम्झँदै भने, ‘अहिले विगतलाई फर्केर हेर्दा अचम्म र खुशी लाग्छ। १० वर्ष भइसक्यो, गीतसंगीत गरेर जीवनयापन गरिरहेको छु, परिवारलाई यसैबाट खुशी दिन सकिरहेको छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भिडिओ: