काठमाडौं महानगरपालिकाले पछिल्लो समय खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन डिपिआर तयार पारी प्रक्रिया अगाडि बढाएपछि आलोचना भइरहेको छ।
हिजो बसेको १४ औं नगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर-२३ का वडाध्यक्ष मचाराजा महर्जनले खुलामञ्चका विषयमा भइरहेको कुरा के हो भन्दै प्रश्न समेत गरेका थिए।
'अहिले खुलामञ्च फुटबल ग्राउन्ड निर्माण गरेर कुनै संस्थालाई दिने भन्ने कुरा आएको छ,' उनले नगर सभा बैठकमा भने, 'सार्वजनिक सम्पत्तिमाथि सबै नागरिकको अधिकार हुन्छ। त्यसैले त्यस्ता ठाउँमा विकास निर्माणका कार्य अगाडि बढाउँदा केका लागि, किन गर्न लागिएको हो, सबै कुरा नागरिकलाई सार्वजनिक सुनुवाइ गरेर जानकारी गराउनुपर्छ।'
महानगरका विभिन्न सार्वजनिक स्थानमा कुनै काम हुन लागे स्थानीय सरकारका व्यक्तिहरू र सरोकारवालाहरू राखी सार्वजनिक सुनुवाइ गरेपछि मात्र काम अगाडि बढाउन उनले आग्रह समेत गरे।
यसो त गएको भदौमा नै महानगरको सहरी योजना आयोगले खुलामञ्च बनाउने फुटबल ग्राउन्डको डिपिआर तयार पारेर ठेकेदार कम्पनीहरूसँग कोटेसन माग गरेको थियो। कम्पनीहरूले एक करोडभन्दा कम रकमको दररेट समेत भदौमा नै महानगरलाई उपलब्ध गराएका थिए।
पूर्वमा सानो र पश्चिममा ठूलो फुटबल ग्राउन्ड बनाउने सहरी योजना आयोगले तयार पारेको डिपिआरमा उल्लेख छ। यस्तै एक ठाउँमा व्यायाम पार्क हुने र फुटबल ग्राउन्ड वरिपरि हिँडडुल गर्न ब्लक ओछ्याइने उल्लेख छ। फुटबल ग्राउन्डमा भने दुबो रोप्ने योजना बनाइएको छ।
महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीले महानगरले खुलामञ्चमा आम नागरिकको पहुँचमा हुने गरी फुटबल ग्राउन्ड बनाउन लागिएको दाबी गरे।
'हामीले त्यहाँ कंक्रिट फुटबल ग्राउन्ड बनाउन लागेका होइनौं,' उनले भने, 'मेयर आफैं पनि प्रकृतिबारे सजग हुनुहुन्छ। त्यहाँ त मेयरसाप आफैंले पनि कंक्रिट संरचना बनाउन मान्नुहुँदैन। त्यहाँ त बस् राख्न र निकाल्न मिल्ने चार वटा गोलपोष्ट हुन्छ।'
त्यसैले त्यहाँ कुनै पनि कंक्रिट संरचना नहुने र खुलामञ्च सधैं खुला नै हुँदा सर्वसाधारण आएर घाम ताप्दै बस्न सक्ने उनले जिकिर गरे। यस्तै बिहान-बेलुकी सो ठाउँमा खेल्न समेत बालबालिकाहरूलाई सहज हुने उनी बताउँछन्।
त्यहाँ सबै घाँसहरू निकालेर मैदान सम्याएर सफा गरी दुबो रोपिने र दुबोलाई पानी हाल्न सिँचाइको व्यवस्था समेत गरिने उनले बताए।
अकुपाई टुँडिखेलका अभियन्ता आलोक तुलाधर भने आफ्नो मान्छेलाई पोस्न महानगरले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउने निर्णय गरेको बताउँछन्।
'त्यहाँ फुटबल ग्राउन्ड बनाइएता पनि सबै नागरिकको सहज पहुँचमा र २४ सै घण्टा खुलामञ्च खुला हुँदैन,' अभियन्ता तुलाधरले भने, 'यो त सरासर जनताको आँखामा धुलो हाल्ने काम गर्न लागिएको हो।'
अहिले यस्ता अभिव्यक्ति दिएर ग्राउन्ड बनाउने र त्यहाँ फोहोर हुन थालेपछि व्यवस्थापनको जिम्मेवारी कसले लिन सक्छ भन्दै ताला समेत लगाउने स्थिति आउने अभियन्ता आलोक बताउँछन्।
'बिस्तारै व्यवस्थापनको जिम्मेवारी कसले लिने भन्ने प्रश्न आउँछ,' उनले भने, 'व्यवस्थापनको कुरा आएपछि उक्त फुटबल ग्राउन्ड व्यावसायिक प्रयोजनका लागि प्रयोग हुन थाल्छ।'
महानगरले केही स्थानीय क्लबलाई रिझाएर ग्राउन्ड बनाउने कार्य अघि बढाएको अभियन्ता तुलाधर बताउँछन्। त्यसोभए बिस्तारै उक्त ग्राउन्ड कोचिङ सेन्टरको रूपमा स्थापित हुन सक्ने उनको आशंका छ। जसले पछि खुलामञ्चको अस्तित्वमाथि नै प्रश्न खडा हुने उनको भनाइ छ।
महानगरले आम मानिसले थाहा नपाओस् भनेर गएको भदौमा एक करोडभन्दा कमको कोटेसन ठेकेदार कम्पनीहरूसँग माग गरेको अभियन्ता तुलाधर जिकिर गर्छन्।
'महानगरले आफ्नो इच्छा अनुरूप नै सहज तरिकाले काम होस् भनेर विभिन्न कम्पनीसँग एक करोड कमको कोटेसन माग गरेको छ,' उनले आशंका व्यक्त गर्दै भने, 'नत्र कसरी ९९ लाख हाराहारीको मात्र इस्टिमेसन आयो। यसमा त सिधै लुपहोल देखिन्छ। एक करोड रुपैयाँदेखि टेन्डर प्रक्रियामा जानुपर्ने कानुनी व्यवस्था हुँदा यस्तो गरिएको हो।'
यदि अहिले महानगरले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाए पछि सानो गौचरनको जस्तै हालत हुने उनको भनाइ छ।
त्यसैले महानगरले खेलकुद क्रियाकलापलाई प्रोत्साहन गर्न खोजेको हो भने खुलामञ्च ग्राउन्ड नबनाई रंगशाला र नेपाली सेनासँग कुरा गरी त्यहाँ खेल्न पाउने व्यवस्था मिलाउनमा जोड गर्नुपर्ने उनले बताए।
'महानगरले रंगशाला र नेपाली सेनासँग कुरा गरोस्,' उनले भने, 'रंगशाला र नेपाली सेनाको ग्राउन्डमा पारापिटसहितको सुविधा पनि छ, ती दिनहुँ प्रयोग भइरहेका हुँदैनन्। बरू स्थानीय क्लबलाई तालिका निर्धारण गरेर ती ठाउँहरू खुला गर्नु महानगरले जोड दिनुपर्छ।'
५५ वर्षयता नेपाली सेनाले अकुपाई गर्दै अहिले १२-१५ प्रतिशत मात्र टुँडिखेलको जमिन बाँकी रहेको उनी बताउँछन्। त्यसैले त्यति बाँकी भएको टुँडिखेललाई संरक्षण गर्नुपर्ने उनी बताउँछन्।
यस्तै, खुलामञ्चको प्राकृतिक र ऐतिहासिक महत्व भएकाले पनि यसको संरक्षण गर्नुपर्नेमा उनी जोड दिन्छन्।
खुलामञ्च जग्गा महानगरको नभएको हुँदा महानगरले त्यस्ता सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी मात्र पाउने उनको भनाइ छ।
महानगरले फुटबल ग्राउन्ड बनाउने तयारी गरेको थाहा पाएपछि अकुपाई टुँडिखेलका अभियानकर्ताहरूले २७ का वडाध्यक्ष भाइराम खड्कीसँग लिखित निवेदन दिएर काम रोक्न समेत आग्रह गरेका छन्।
'अहिले हामीले त्यहाँ फुटबल ग्राउन्ड बनाएका छैनौं,' वडाध्यक्ष खड्कीले भने, 'डिपिआर मात्र तयार पारेका हौं।'
हिजो नगर सभामा प्रश्न उठेपछि र अभियन्ताहरूले समेत विरोध गरेपछि यस विषयलाई के गर्ने भनेर भोलि बैठकमा छलफल हुने उनले बताए।
'यस विषयमा कुराकानी गर्न भोलि बैठक बस्दै छ,' उनले भने, 'के गर्ने हो भोलि थाहा हुन्छ।'
महानगरले चालु आर्थिक वर्षको बजेटमा खुलामञ्चमा 'व्यायाम तथा खेलकुदस्थल सुधार' बनाउन एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही योजना अनुरूप उक्त कार्य अघि बढेको हो।
केही समयअघि नगर विकास कोषमार्फत् महानगरले खुलामञ्चमा ५ हजार गाडी अट्ने गरी भूमिगत पार्किङको लागि सम्भाव्यता अध्ययन अगाडि बढाएको थियो। तर चौतर्फी विरोध भएपछि महानगर पछि हटेको थियो।