उनले एउटा चित्र बनाएका थिए। त्यो चित्र ललितकला प्रतिष्ठानले तीन महिनाअघि आयोजना गरेको प्रदर्शनीमा समावेश भयो। प्रतिष्ठानबाट उनले चार हजार रूपैयाँ पाए। त्यही पैसाले चित्र बनाउन चाहिने थप केही सामग्री किने।
त्यसपछि उनले अर्को चित्र बनाए। चित्रमा तीन जना मानिस छन्। तीमध्ये बायाँतर्फ हाँसेको मुहारका एक जना पुरूष छन्, खुसी देखिन्छन्।
बीचमा महिला आकृति प्रस्ट देखिन्छ तर ओठमा जुँगाको रेखी छ। निधारमा रातो टीका छ। बन्द आँखाबाट आँसुको धारा बगेको छ।
दायाँतर्फको आकृति पनि महिलाकै हो। सिउँदोमा सिन्दुर र निधारमा टीका छ। दुवै आँखा बन्द छन्। दायाँ आँखामा रातो पोतिएको छ।
यो चित्रका सर्जक हुन् २० वर्षीय ऋतिक।
उनका अनुसार बीचको आकृति पारलैंगिक पुरूषको र दायाँतर्फको आकृति पारलैंगिक महिलाको हो। उनले खास सन्देशको उद्देश्यले यो चित्र सिर्जना गरेका हुन्।
चित्रमा पुरूष मात्र किन खुसी छ? पारलैंगिक पुरूष र पारलैंगिक महिला किन दुःखी छन्?
'समाज पितृसत्तात्मक छ। पुरूष आफूलाई मालिक ठान्छ। लैंगिक हिंसा गर्नुलाई पुरूष सामान्य ठान्छ,' ऋतिकले भने, 'समाजमा समलिंगी छन्, पारलैंगिक महिला, पारलैंगिक पुरूष र यस्तै अरू पनि छन्। चित्रमा दुःखी देखिएका दुई जना पीडित छन्। पुरूष पीडक भएर रहेको छ।'
ऋतिकले यस्तो चित्र बनाउनुको कारण छ। उनी आफैं समलिंगी पुरूष हुन्। चित्रमा उनको आफ्नै पीडा र भुक्तमान अभिव्यक्त छ। ललितकला प्रतिष्ठानमा प्रदर्शित चित्र पनि लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिमाथि हुने लैंगिक विभेद र उनीहरूको भुक्तमानकै विषयमा थियो।
'चित्रमार्फत म आफूभित्रको पीडा देखाउँछु। समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकप्रति व्याप्त विभेद देखाउन र यसमार्फत मानिसलाई सचेत गराउन चाहन्छु,' उनले भने, 'विभेद हुनुको खास कारण पितृसत्तात्मक सोच हो। महिला र पुरूषबाहेक प्राकृतिक रूपमा अर्को लिंग पनि हुन्छ भन्ने स्वीकार गर्न नसक्नु विभेदको अर्को कारण हो। लैंगिक तथा यौनिक अल्पसंख्यकमाथि हिंसा हुनुको कारण पनि यही हो।'
चित्रप्रति ऋतिकको रूचि दिदीका कारण आएको हो। उनी सानै छँदा आमा बितेकी थिइन्। बुबा र दिदीको संरक्षणमा उनी हुर्किए। उनका बुबा लुगा सिउने पेसामा छन्। उनकै कमाइले घर खर्च चलिरहेको छ।
उनकी दिदी चित्र बनाउँथिन्। दिदीको छेउमा बसेर उनी पनि चित्र बनाउँथे। पेन्सिलले मान्छे, फूल, चरा र घर कोर्थे। बिस्तारै हात बस्दै गयो। अनि उनले पेन्टिङ गरेर चित्र बनाउन थाले।
आफू समलिंगी पुरूष हुँ भन्ने थाहा पाएको भने जम्मा दुई वर्ष भयो। त्यो बेलासम्म उनले आफूजस्ता अरू केही व्यक्ति पनि चिनेका थिए। उनीहरूले भोगेको विभेद र पीडाको बयान सुनेका थिए।
'म समलिंगी पुरूष हुँ भनेँ भने समाजमा विभेदमा परिएला, मानसिक पीडा खप्नुपर्ला भन्ने डर छ। यो समाज लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई हेला गर्छ। उनीहरूको पहिचान स्वीकार गर्दैन। लैंगिक हिंसा पनि भोग्नुपर्छ। त्यसैले मन मिल्ने साथीलाई पनि भन्न सकेको छुइनँ,' उनले भने।
परिवारमा पनि उनको लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचानबारे कसैलाई जानकारी छैन। छरछिमेक र आफन्तले उपहास गर्लान्, आफूलाई देखेर हाँस्लान्, परिवारका सदस्यको मन दुख्ला भन्ने भय ऋतिकलाई छ।
आफ्नो वास्तविक पहिचानबारे कसैलाई नभने पनि, थाहा नभए पनि उनी पहिचानकै कारण विभेद र पीडा महसुस गर्छन्।
भन्छन्, 'विभेद हुँदैन, कसैले पनि अपमानको नजरले हेर्दैन भन्ने भएको भए म डराउनुपर्ने थिएन। म आफ्नो कुरा भन्न सक्ने थिएँ। विभेद हुन्छ भन्ने जानेरै आफ्नो पहिचान लुकाउनु परेको हो। पहिचान लुकाउन बाध्य हुनु नै विभेद हो।'
उनले लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र तीमाथिको विभेदका विषयमा चित्र बनाउन थालेको पनि दुई वर्ष नै भयो। आफूभित्र उकुसमुकुस भएको पीडा र विभेदको अनुभूतिले चित्रको रूप लिन थालेको उनी बताउँछन्।
आफूले बनाएको चित्र 'पितृसत्ताले थिचिएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय' शीर्षकमा ललितकला प्रतिष्ठानमा प्रदर्शन भएपछि उनले आफ्नो पहिचानको सम्मान भएको ठाने। उनको हिम्मत बढ्यो, उत्साहित भए। म पनि चित्र बनाउन सक्छु भन्ने आत्मविश्वास भयो। उनको चित्रको प्रचार भयो। हालसम्म उनले कम्तीमा दुई दर्जन चित्र बनाइसके। सबै सार्वजनिक भने गरेका छैनन्।
ऋतिकले भोग्नुपरेको विभेदको पाटो एउटा मात्र छैन। कानुनले अन्त्य गरे पनि उनले जातीय विभेद पनि भोग्नुपरेको छ। उनी दलित समुदायका हुन्।
'मेरो उमेर समूहकाहरू जातीय विभेदका मामिलामा केही उदार छन् तर विभेदरहित छैनन्। साथीहरू सँगै बसेर खान भेद गर्दैनन् तर उनीहरूको घरभित्र लैजाँदैनन्। समाजमा दलितमाथि अमानवीय व्यवहार हुन्छ। मैले मेरो परिवारमाथि भएको विभेद भोगेको छु। अनि यो विभेदमाथिको अर्को विभेदले थिचिएको छु,' उनले भने, 'भावनात्मक र शारीरिक रूपमा पुरूषप्रति आकर्षित हुन्छु। समलिंगी पुरुष हुँ भन्ने थाहा पाउँदा खुसी भएको थिएँ। विभेद हुन्छ भन्ने थाहा पाएपछि डराएँ। कतै ममाथि, हाम्रो परिवारमाथि नै आक्रमण हुन्छ कि जस्तो लाग्छ।'
उनका अनुसार कोही व्यक्ति जन्मिँदाको लिंग महिला वा पुरूष जे भए पनि मानिस प्राकृतिक रूपमै त्योभन्दा फरक पर्न सक्छ। कोही आफ्नो इच्छाले शरीरले एक र भावनाले अर्को लिंगको हुने होइन।
पूर्वी नेपालका ऋतिक सामाजिक सञ्जालमार्फत चिनजान भएका एक साथीले सल्लाह दिएपछि एक वर्षअघि काठमाडौं आएका थिए। गुजारा चलाउने आधार खोज्न तिनै साथीले मद्दत गरे। बसपार्कमा टिकट काट्ने काम पाए। केही महिना काम गरेपछि साहुले निकालिदिए। किन हटाए, उनलाई थाहा छैन।
उनले काम गरेका बेला घरमा पैसा पनि पठाएका थिए। बेरोजगार भएपछि भने उनी आफैं घर फर्किए। कक्षा १० सम्मको पढाइ सकेका उनी थप पढ्न चाहन्छन्। तर आर्थिक संकटले अलमल भएको छ।
'एक वर्ष खेर गयो। अझै पढाइको टुंगो छैन। जागिर छैन, पैसा छैन। काठमाडौंमा छात्रवृत्ति पाउन पनि मुस्किल रहेछ। अब कसरी पढ्ने हो थाहा छैन,' उनले भने, 'चित्रकला पढ्न मन छ। चित्रकलाबाटै समाजमा व्याप्त विभेद, विकृति र विसंगतिविरूद्ध भावना प्रकट गर्न सक्छु भन्ने लाग्छ। आम्दानीको स्रोत पनि बन्न सक्छ भन्ने छ।'
थोरै समय भए पनि काठमाडौं बसाइमा ऋतिकले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका साथीहरू भेट्न पाए। उनीहरूको सहयोगले आफूलाई चिन्न पाए। आफू एक्लो रहेनछु भन्ने बुझे।
'विभेद होला भन्ने अत्यास छ। तर समय फेरिँदै जाला, मान्छेले बुझ्दै जालान् भन्ने विश्वास छ,' उनले भने।