काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई 'नो भेहिकल जोन' बनाउने तयारी गरेको छ।
'नो भेहिकल जोन' बनाउन पहिलो चरणमा मंगलबारदेखि न्युरोड क्षेत्रमा कालोपत्रे सडकमाथि भइरहेको पार्किङ हटाइएको महानगरपालिका पूर्वाधार विकास सल्लाहकार सुनिल लम्सालले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा पार्किङ हटाइएको छ भने दोस्रो चरणमा पिक-एन्ड-ड्रप (यात्रु चढाउने र ओराल्ने) सिस्टम लागू गर्ने महानगरको तयारी छ।
२०७६ सालमा पहिलो पटक स्मार्ट पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीले अनुमति पाएको थियो। जुन सम्झौता मंगलबार सकिएको थियो,' उनले भने, 'त्यसपछि हामीले उक्त कम्पनीसँग पार्किङका लागि नवीकरण गरेनौं।'
बिस्तारै 'नो भेहिकल जोन' बनाउने तयारी गरिरहेको हुँदा पार्किङ सम्झौता सकिएको दिनदेखि पार्किङ निषेधित क्षेत्र गरिएको उनको भनाइ छ। त्यसका लागि महानगरले सो वडाका वडाध्यक्षहरूसँग पनि कुरा गरेको उनको दाबी छ।
'वडाध्यक्षहरूले समेत पार्किङ हटाउने कुरा गर्दा व्यवसायीहरूलाई असर पर्ने बताएका थिए,' उनले भने, 'सुरूमा व्यवसायीहरूको पक्षमा लागेता पनि पछि वडाध्यक्षहरूसँग सहमति भएको थियो।'
यस्तै महानगरले सडकको चौडाइ घटाएर फुटपाथको चौडाइ बढाउने योजना समेत अघि सारेको छ।
वडा नम्बर २२ र २४ मा हालको फुटपाथ विस्तार गर्ने महानगरको योजना छ। जसका लागि चालु आर्थिक वर्षमा महानगरले विभिन्न फुटपाथ निर्माण तथा स्तरोन्नति शीर्षकमा १ करोड ११ लाख ४५ हजार बजेट विनियोजन समेत गरेको छ।
यस्तै, मेयर बालेन शाहले वडासँग समन्वयन नगरी एकलौटी निर्णय गरेको महानगरपालिका-२२ का वडाध्यक्ष चिनीकाजी महर्जन बताउँछन्।
'प्रमुख सबै कुरामा सर्वज्ञता हुँदैनन्,' उनले भने, 'सो क्षेत्रमा पार्किङ हटाउने भएपछि त्यहाँका जनप्रतिनिधि, स्थानीय र व्यवसायीहरूलाई सँगै राखेर छलफल गरेर सहमतिमा जानुपर्छ। तर यहाँ त हामीसँग समेत कुनै कुराकानी र छलफल नगरी अघिल्लो दिन निर्णय सुनाइयो।'
डेढ महिनाअघि मेयर बालेनले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने भनेर छलफल गरेका थिए। त्यति बेला फुटपाथ विस्तार आवश्यक छैन भनेर जनप्रतिनिधिहरूले आवाज उठाएका थिए। तर मेयर बालेनले भने मानिसहरूलाई बाटोमा सहज तरिकाले आवतजावत गर्न सजिलो हुने बताएका थिए। त्यसपछि फुटपाथ विस्तारको लागि मात्र सहमति भएको वडाध्यक्ष महर्जनले बताए।
तर महानगरले एक्कासि पार्किङ हटाएपछि मंगलबारदेखि व्यवसायीहरू विरोधमा उत्रिएका छन्। सवारी साधन पार्किङमा रोक लगाउँदा व्यापार-व्यवसायमा असर पर्ने भन्दै उनीहरूले पार्किङ गर्ने सेवा दिनुपर्ने बताएका छन्।
महानगरले पार्किङको सुविधा दिए पनि त्यो अव्यावहारिक भएको उनीहरूको भनाइ छ।
एउटा सेवाग्राही कुनै सामान किन्न काठमाडौं टावरमा पार्किङ गरेर न्युरोड क्षेत्र पैदल आउनुपर्ने अव्यावहारिक कदम भएको व्यवसायीहरूको गुनासो छ।
पार्किङले न्युरोड क्षेत्रको व्यापार व्यवसायमा असर पुग्दा राजस्व संकलनमै समेत समस्या पर्ने व्यवसायीहरूको दाबी छ। आफ्नो सेवाग्राहीका लागि पार्किङको व्यवस्था व्यवसायीले नै मिलाउनुपर्ने महानगरको भनाइ छ।
महानगरका अधिकारीका अनुसार 'नो भेहिकल जोन' न्युरोड गेटबाट सुरू हुनेछ।
'न्युरोड गेटबाट भूगोल पार्क, बसन्तपुर दरबार परिसर, इन्द्रचोक, असन, भोटाहिटी र जमल नाचघरसम्म 'नो भेहिकल जोन' बिस्तार गर्ने योजना भइरहेको छ,' ती अधिकारीले भने, 'तर कहिलेदेखि लागू गर्ने भन्नेमा अन्यौलता भएकाले आन्तरिक छलफल भइरहेको छ।'
महानगरले मंगलबारदेखि न्युरोड क्षेत्रका धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ गर्न रोकेको थियो। महानगरले न्युरोड क्षेत्रका सडकमा 'नो पार्किङ' को संकेत चिन्हसमेत राखेको छ।
काठमाडौं टावरमा तीन सय वटा चार पाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरपालिकाले जनाएको छ।