तीन हजार मिटरमाथि बस्ने हिउँचितुवा मोरङमा भेटिएपछि सदर चिडियाखाना ललितपुरमा कसरी राखिएको छ भन्ने आममानिसलाई चासोको विषय बनेको छ।
मोरङको उर्लाबारी-१ चारघरे क्षेत्रस्थित १५० मिटररको उचाइमा भेटिएको हिउँचितुवालाई गत मंगलबार नै ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको थियो। त्यसपछि हिउँचितुवालाई आइसोलेसनमा राखिएको छ।
नेपालमा सामान्यतया समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा मात्र हिउँचितुवा पाइने गर्दछ। त्यसैले हिउँचितुवालाई ८५०-९०० मिटर उचाइ भएको काठमाडौं उपत्यकामा कसरी राखिएको छ भनेर धेरैलाई जिज्ञासा छ।
यही प्रश्न हामीले सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालालाई गरेका छौं।
उनका अनुसार अहिले जाडोयाम चलिरहेको हुँदा हिउँचितुवालाई काठमाडौं उपत्यकाको तापक्रम उपयुक्त छ।
'अहिले दिउँसो काठमाडौंको तापक्रम चिसो नै छ,' उनले सेतोपाटीसँग भने, 'बाहिरको तापक्रम १२-१३ डिग्रीभन्दा माथि गएको अवस्था छैन। झन् कोठाभित्र त चिसो हुने नै भयो। दिउँसो नै यति भएपछि राति झनै चिसो हुने नै भयो।'
उनले थप प्रष्ट्याउँदै भने, 'हिउँचितुवा कुन उचाइमा छ भन्ने महत्वपूर्ण होइन, कुन तापक्रममा छ भन्ने हो। तीन हजार मिटरको उचाइमा हुने उच्चतम कम तापक्रम अहिले काठमाडौं उपत्यकामा नै भएको अवस्था छ।'
हिउँचितुवा राखिएको कोठामा तापक्रम आवश्यकता अनुसार छ/छैन भनेर जाँच गर्न थर्मोमिटर पनि जडान गरिएको उनले बताए। हाल काठमाडौं उपत्यकाको मौसम हिउँचितुवाको लागि अनुकूल हुँदा एसी चलाउनुपर्ने स्थिति नआएको समेत उनी बताउँछन्।
तर कोठाको तापक्रम १२ डिग्रीभन्दा बढ्ने अवस्था आए एसी र कुलर चलाएर हिउँचितुवाको अनुकूल तापक्रम कायम गरिने उनको भनाइ छ। जसको व्यवस्था सदर चिडियाखानामा छ।
अहिले चिडियाखानामा हिउँ चितुवाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
'कति छिटो निको हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन,' उनले भने, 'उपचार केही लामो समयसम्म पनि जान सक्छ। तर छिटो निको भएको खण्डमा राष्ट्रिय निकुञ्ज विभागको योजना अनुरूप काम हुन्छ। अहिलेसम्म कसरी मोरङ पुग्यो भन्ने विषयमा अध्ययन भइरहेको छ।'
चिडियाखानामा जनावरहरूलाई राँगा र कुखुराको मासु खुवाइने हुँदा हिउँचितुवालाई सोही मासु दिइएको थियो। तर पहिलो दिन नै कुखुराको मासु रूचाएपछि अहिले सोही मासु हिउँचितुवालाई खुवाइरहेको उनले बताए।
शुक्रबार मधेसमा हिउँचितुवा कसरी पुग्यो भन्नेबारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो। उक्त सम्मेलनमा विज्ञहरूले फरकफरक धारणा राखेका थिए।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख एवं हिउँचितुवासम्बन्धी विज्ञ मधु क्षेत्रीले भाले हिउँचितुवाको आमासँग छुट्टिएर वा बाटो भुलेर आइपुगेको हुनसक्ने अनुमान लगाएका थिए। उनले उक्त हिउँचितुवाको तौल ४० देखि ४५ केजीको भएको बताएका थिए। एक रातमा ५०/६० किलोमिटर हिँड्न सक्ने भएकाले हिँडेर आइपुगेको हुनसक्ने क्षेत्रीको अनुमान थियो।
तर वन्यजन्तु विज्ञ करण साहले भने हिँडेर आइपुग्न ठूलाठूला नदी पार गर्नुपर्ने र धेरै अवरोध भएकाले हिँडेर आइपुग्न सम्भव नभएको बताएका थिए। उनले त हिँउचितुवा नै हो कि होइन भन्नेमै प्रश्न उठाएका थिए।
‘हिउँचितुवाबारे लामो समय काम गरेको छु। यसको बनावट पनि मिलेको देखिँदैन,’ उनले भनेका थिए।
उनका अनुसार मधेसमा फेला परेको हिउँचितुवाको रंग खैरो-खैरो छ।
हिउँमा हुर्किएको चितुवाको सेतो रंग बढी हुन्छ र बाक्लो हुन्छ। हिउँचितुवाको पुच्छर लामो हुन्छ। अहिले चिडियाखानामा ल्याइएको चितुवामा त्यस्तो नदेखिएको उनले बताएका थिए। यसलाई कसैले लामो समयदेखि गाउँमा हुर्काएको वा तस्करीको क्रममा छोडिएको हुनसक्ने विज्ञ साहको अनुमान थियो।
अहिले हिउँचितुवाको पछाडिको दायाँ खुट्टामा चोट लागेकाले उपचारलाई प्राथमिकतामा राखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले जानकारी दिएका थिए।
विश्वभरि हिउँचितुवा १२ देशमा मात्र पाइने वन्यजन्तु हो। लोप हुन लागेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत यो संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ। नेपालमा यो ३ हजारदेखि ६ हजार मिटर उचाइसम्म भेटिने गरेको छ। त्यसैले हिउँचितुवालाई आइयुसिएनले संकटग्रस्त वन्यजन्तुको सूची ‘रेड लिस्ट’ मा राखेको छ।