गर्भावस्था महिलाका लागि महत्त्वपूर्ण समय हो। यो बेला नियमित चेकजाँच, आवश्यक पर्ने खोप लगाउनुपर्छ। गर्भवती महिलालाई पोषणयुक्त खाना, आराम, स्वास्थ्यकर्मीको सल्लाह आवश्यक पर्छ।
शारीरिक र मानसिक रूपमा स्वस्थ भएपछि मात्रै सुत्केरी अवस्थामा सहज हुने स्वास्थ्यकर्मीहरू बताउँछन्। यस्तै अनिवार्य स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउनु पर्छ।
गर्भावस्थादेखि सुत्केरी समयमा पाउनुपर्ने स्वास्थ्य सेवाबाट दुरदराजका महिला भने बञ्चित छन्। दुई–दुई बच्चा जन्माउँञ्जेलसम्म एक पटक पनि स्वास्थ्य संस्थामा नपुगेका महिलाहरू धेरै छन्।
तीमध्ये बाजुराकी २४ वर्षीया कल्पना गुरूङ एक हुन्। उनी बाजुराको विकट स्थानीय तह बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी बासिन्दा हुन्। यो ठाउँ हिमालको फेदमा पर्छ। यहाँका मान्छेहरू जीवन धान्न भेडाच्यांग्रा पाल्छन्।
८ कक्षाको अन्तिम परीक्षा दिएपछि कल्पनाले सधैँका लागि पढाइबाट बिदा हुनुपरेको थियो। उनका दुई भाइ सानैमा बिते। के कारणले भाइको निधन भयो उनलाई थाहा छैन। तीन छोरीमध्ये कल्पना जेठी हुन्। बाध्यताले पढाइलाई निरन्तरता दिन नसकेकोमा कल्पनालाई पश्चात्ताप भइरहन्छ।
‘घरको समस्याले कक्षा ८ को परीक्षा दिएँ, त्यसपछि छोडेहालेँ,’ उनले भनिन्।
१७ वर्षको उमेरमा उनको बिहे भयो। बिहेका लागि केटा आमाबुवाले खोजे। उनका आमाबुवाको जस्तै केटाको काम पनि भेडाच्यांग्रा पाल्ने थियो।
पैसा अभावले पढाइ छोडेर वैवाहिक बन्धनमा बाँधिएकी कल्पनालाई सहज हुनुको साटो झन् बढी जिम्मेवारी आइलाग्यो।उनी श्रीमानसँगै भेडाच्यांग्रा चराउने काम गर्न थालिन्।
सानोमा आमाबुवासँगै भेडा गोठालो जाने उनी बिहेपछि श्रीमानसँगै गइन्।
घरबाट हिउँदमा ६ महिनाका लागि उनी भेडाच्याँग्रा चराउन मालिकापाटन लगायतका ठाउँमा जान थालिन्।
अर्को ६ महिना भेडा चराउन पहाडतिर झर्न थालिन्।
श्रीमान् साहुका भेडा लगेर दिनभरि चराउन वन जान्थे। साँझपख त्रिपालमा फर्किंन्थे। उनका बुवा र श्रीमानका भने थोरै भेडा थिए। ती भेडालाई उनी र बुवाले चराउने काम गर्थे। भेडा चराउने उनीहरूले त्रिपालकोओतमै बस्नुपर्यो। त्यसरी बस्दा घरबाट खानेकुरा बोकेर लैजान्छन्।
खाना पकाउने, छ्याङ बनाउने काम कल्पनाले गर्थिन्।
गोठालो गएकै बेला उनको नियमित महिनावारी रोकियो, त्यसपछि आफू गर्भवती भएको कुरा उनले थाहा पाइन्। जंगलमा हुँदा गर्भावस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षण, खोप लगाउन सकिनन्। गर्भावस्थामा पाउनुपर्ने आराम, पोषणयुक्त खाना पनि उनले पाइनन्।
चार वर्षअघि उनी भेडा ल्याएर अछाम पुगेका बेला चौखुट्टेमा पहिलो सन्तान छोरालाई जन्म दिइन्। उनले बाटोमै जेठो छोरालाई हुर्काइन्। अहिले जेठो छोरा चार वर्षका भए।
तीन महिनाअघि उनले दोस्रो सन्तान कान्छो छोरालाई पनि हिमालको फेदबाट पहाडतिर भेडा ल्याएर आउने बेला बाटोमै जन्माएकी थिइन्। (मौर्या) भन्ने ठाउँमा बास बसेका बेला कल्पनाले छोरालाई जन्माइन्।
‘मैलेँ दुई फुच्या जन्माएँ। मलाई पनि आमाले बाटोमै जन्माएकी थिइन्,’ कल्पनाले भनिन्।
उनकी आमा पनि भेडा गोठाली हुन्। भेडासँगै हिँड्ने बेला उनले बाटोमै कल्पनालाई जन्माएकी थिइन्।
यसपाली कान्छो छोरा जन्मिने बेला आमाले सहयोग गरिन्। किनभने उनका श्रीमान साथमा थिएनन्। उनका श्रीमान् भेडा लिएर डोटी गएका छन्।
उनले छोरा जन्मेको कुरा फोन गरेर श्रीमानलाई सुनाइन् तर अहिलेसम्म भेट भएको छैन। कल्पना अछाममा छिन्। उनी बुवा आमा काकासँगै भेडा चराउन यता आएकी हुन्। आमा साथै भएकाले सुत्केरी अवस्थामा उनले सरसफाइ र खानपिनमा बढी सहयोग पाइन्। खिचडी, भात, दाल कहिलेकाही भेडा काटेका दिन मासु पनि खान पाइन्। यही आफ्ना लागि लाख भएको उनी बताउँछिन्।
यसपटक पनि अहिलेसम्म उनले तीन महिनाका छोरालाई विभिन्न रोगविरूद्धको खोप लगाउन पाएकी छैनन्।
‘खोप लगाउनुपर्छ भन्ने थाहा त छ तर लगाउन पाएको छैन, बाटोमा बस्ने हामीहरूले कहाँ गएर कतिबेला खोप लगाउने,’ उनले भनिन्।
गर्भावस्थादेखि अहिलेसम्म एक पटक पनि स्वास्थ्य परीक्षण नगराएका उनका दुई छोराको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने कल्पनालाई थाहा छैन।
उनलाई अहिलेसम्म बच्चा ठिकै छन् जस्तो लाग्छ। जेठो छोरा बढी रोएर हैरान गर्छ। आफ्नो पनि स्वास्थ्य अवस्था के कस्तो उनले परीक्षण गराएकी छैनन्। पेसाका कारण स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको उनको भनाइ छ।
भेडा गोठाली महिलालाई गर्भावस्था, सुत्केरी अवस्थामा कठिन हुन्छ। यस्तै महिनावारी भएका बेला पनि समस्या हुने गरेको कल्पना बताउँछिन्। महिनावारीका बेला सानो पाल हालेर अलग बस्नुपर्छ। पानी अलग भाँडोमा थापेर सरसफाइ गर्नुपर्छ। महिनावारी हुँदा कपडाको टालो नै प्रयोग गर्नुपर्ने कल्पना बताउँछिन्।
छोराहरूले धेरै पढाइलेखाइ गरून् भन्ने लाग्छ। तर उनले चार वर्षका जेठो छोरालाई अहिलेसम्म विद्यालय पढाउन सकेकी छैनन्। कहिले विद्यालय पठाउने हो, त्यो पनि ठेगान छैन।
‘भविष्यमा छोराहरू डाक्टर, कलाकार बनोस् भन्ने चाहना छ, तर खै पूरा हुन्छ कि हुँदैन, हाम्रो जिन्दगी त जंगलमै बित्ला जस्तो छ,’ उनले भनिन्।
अहिले त्रिपालमा दाउरा ल्याउने, बच्चालाई हेर्ने काम उनी बढी गर्छिन्।
‘घरमा हिउँ पर्छ, असाध्यै चिसो हुन्छ, भेडा नपाले हुँदैन, पेट पाल्नाका काम हुन्, त्यही भएर अस्पताल, स्वास्थ्य चौकीमा चेकजाँच गर्न पाइएन,’ उनले भनिन्।
उनीसँग पढेका एक जनाबाहेक सबैले साथीले बिहे गरिसकेका छन्। उनकी एक साथी भने काठमाण्डौंमा डाक्टरी कोर्ष पढ्न भनेर गएकी छिन्। कल्पनासँग सादा मोबाइल सेट छ। त्यहि मोबाइलबाट ती साथीसँग कल्पनाको कहिलेकाहीँ संवाद हुन्छ। कल्पना साथीसँग भन्छिन् ‘हाम्रो जिन्दगी त यस्तै भयो, तँलै हामीजस्ता पढ्न नपाएका साथीका सपना पनि पूरा गर्ने गरी पढ्नुपर्छ।’
ती साथीका बुवा शिक्षक छन् त्यही भएर उनले पढ्ने अवसर पाएको कल्पनाले बताइन्।
आफूजस्तै भेडागोठाली भएर बाटोमा त्रिपालमा बस्दै, जीवन गुजारा चलाउन उनीहरूसँगै पढेका चार जना साथी छन्। उनीहरू पनि कल्पनाको जस्तै भेडा पालेर अहिले अछाम पुगेका छन्।
गर्भावस्था र सुत्केरीको समयमा उनीहरूले पनि स्वास्थ्य सेवा पाउन सकेका छैनन्। साना–साना बच्चासहित बाटामा त्रिपालमुनि व्यहोर्नुपर्ने समस्या बग्रेल्ती छन्। हावाहुरीले कहिलेकाहीँ त्रिपाल उडाएर लैजान्छ। पानी तपतपी चुहिन्छ। न्यानो र उज्यालोको लागि बालेको आगो निभ्छ। यो बेला धेरै कठिन हुने गरेको कल्पनाले सुनाइन्।