विराटनगर महानगरको सबभन्दा पुछारमा पर्ने वडा नम्बर १८ मा साना–साना आकारमा छरिएका तीन चार वटा बस्ती छन्।
मटेर्वा, भेडियारी, दिमादिगी, लावघाट लगायतका यी सीमान्त बस्तीहरूमा सीमान्तकृत समुदायकै बाक्लो बसोबास छ। भारत बिहारको जोगबनीसँग साँध जोडिनु यी बस्तीको साझा भौगोलिक विशेषता हो।
यिनै बस्तीहरूमध्ये दिमादिगी र लावघाटका केही सर्वसाधारण अचेल दिनहुँजसो महानगर र मोरङ जिल्ला प्रशासन परिसरमा भेटिने गरेका छन्।
कहिले मेयर नागेश कोइरालाको कार्यकक्षमा न्यायका लागि हात जोडिरहेका उनीहरू कहिले प्रमुख जिल्ला अधिकारीलाई पनि आफ्ना समस्या सुनाइरहेका हुन्छन्। कहिले न्यायिक समितिको कोठामा सुस्केरा हालिरहेका हुन्छन्। बाहिर भेटिने जनप्रतिनिधि गुहार्न पनि छुटाउँदैनन्।
सम्पत्तिको नाममा केही कट्ठा जमिन मात्रै भएका उनीहरू त्यही पनि गाउँकै एक जना साहुले खाइदिएको गुनासो लिएर चारतिर दौडिरहेका छन्।
आपत परेका बेला जग्गा धितो राखेर ऋण दिएका साहुले झुक्याएर आफ्नो जग्गा खाइदिएको, लिएको भन्दा धेरै गुणा बढी पैसा तिरिसक्दा पनि जग्गा फिर्ता नभएको समस्या सुनाउनेहरूको माझमा केही यस्ता पीडित पनि भेटिए, जसले लिएको ऋण तिर्दातिर्दै साहुले जमिन अर्कैलाई बेचिदिसकेछन्।
यो तिनै पीडितहरूको कथा हो।
जसले पैसा तिर्दातिर्दा हत्तु भइसक्दासम्म पनि ऋणको भुक्तमानबाट मुक्ति पाउन सकेका छैनन्।
उल्टै अझै पनि ठूलो पैसा तिर्न पर्ने हिसाब देखाएर साहुले जग्गा फिर्ता नहुने ‘फैसला’ सुनाएका छन्। साहुको त्यही फर्मानपछि त्रस्त उनीहरू बल्लतल्ल जनप्रतिनिधि गुहार्ने अवस्थामा आइपुगेका छन्।
विराटनगर- १८ का ५३ वर्षीय सुनिलकुमार साहले आफूहरूको उठिबास लगाएको भन्दै उजुरी बोकेर महानगरसम्म आउनेको संख्या आइतबारसम्म ६ जना मात्रै थियो। तिनै ६ जना र तिनका परिवारजनलाई भेट्न सोमबार र मंगलबार बिहान यी दुई बस्तीमा हामी पुग्दा उनीहरू जस्तै पीडितहरू अरू थपिए।
‘हिजोसम्म डरले हामी चाहिँ उजुरी हाल्न जान सकेका थिएनौं,' लावघाट बस्तीका २४ वर्षीय अरूण मण्डलले भने, ‘मेरो बुबाले १० धुर जमिन धितो राखेर सुनिलबाट ४५ हजार लिनुभएको थियो। अहिले त हामीले थाहै नपाइ हाम्रो घडेरी उनले अर्कैलाई बेचिसकेको थाहा भयो। अब म पनि उजुरी हाल्छु, यसरी मान्छेको उठिबास लगाउन मिल्दैन नि!’
उनलाई उजुरी हाल्ने आँट उनकै छिमेकी काकी खिकिरीदेवी साहको हिम्मतले दिएको छ।
५७ वर्षीया खिकिरीदेवी साह सुनिलको मिटरब्याज धन्दाले पिरोलिएकी त्यस्ती आमा हुन्, जसले त्यही ऋणको बोझकै कारण अकालमै जेठो छोरा गुमाइसकेकी छन्।
रोगी पतिको उपचारदेखि अरू दुई छोरा, तीन छोरी र तिनका लालाबालाको रेखदेख र अभिभावकत्व लिनुपर्ने उनको दायित्व एकातिर छँदैछ। मिटरब्याजको फन्दामा परेर गुम्नै लागेको एक कित्ता जग्गा जोगाउने हुटहुटीले उनलाई हिम्मतिलो बनाएको छ।
‘कति डराएर बस्नु, यत्रो वर्ष त डरैले नबोली बसियो, जति भने पनि खुरूखुरू पैसा तिरियो,' नेपाली भाषा बुझ्ने तर बोल्न नसक्ने खिकिरीदेवीले मैथिली लयमा भनिन्, ‘अब त अति भयो। जे हुन्छ, हुन्छ।’
२०६६ सालको कुरा हो। खिकिरीदेवी र उनका पति श्यामसुन्दर साहलाई पैसाले फिटफिटी भयो। गाउँघरमा सबैले सरसापट चलाउन सम्झिने ठेगाना मटेर्वा टोलका व्यापारी सुनिल साह नै थिए।
सुनिल जग्गा कारोबार गर्थे। किराना पसल चलाउँथे। सीमा नजिकै बस्नुको फाइदा लिँदै वारिपारि व्यापार पनि उनको जमेकै थियो। जोगबनी बजार आउँदा–जाँदा बाटैमा पर्ने उनको किराना पसलमा लावघाट, भेडियारी, दिमादिगी बस्तीका सर्वसाधारण निस्केरै आउनेजाने गर्थे। खिकिरीदेवीको परिवार पनि सुनिलसँग परिचित नै थियो।
एक दिन उनीहरूले सुनिलसँग पैसा सापटी मागे। सुनिलको शर्त थियो, पैसा सापटी लिँदा धितो राख्नुपर्छ। गाउँका अरू धेरैले सुनिलबाट त्यसैगरी पैसा लिएको थाहा पाएका उनीहरूले प्रस्तावमा सहजै सहमति जनाए।
विराटनगर-१८ मा रहेको साढे पाँच कट्ठा जमिन धितो राखेर उनीहरूले ७० हजार रूपैयाँ ऋण लिए। ऋण दिने बेलामा सुनिलले मालपोत कार्यालयमा लगेर जग्गा राजीनामा पास गराएका थिए।
‘साँवा र ब्याज तिरिसकेपछि जग्गा तपाईंहरूलाई फिर्ता हुन्छ,' सुनिलले त्यसबेला भनेको सम्झिँदै खिकिरीदेवीले भनिन्, ‘गाउँका अरू सबैले त्यसै गर्थे हामीले पनि गर्यौं। दुई रूपैयाँ ब्याजमा हामीले ऋण लियौं।’
उनीहरूले ७० हजार ऋण लिनका लागि सुनिललाई धितो पास गरिदिएको जमिन नजिकै अहिले रेलको लिक बनेको छ। कटहरी–बथनाह रेलवेसँगै टाँसिएको साढे पाँच कट्ठा जमिन राजीनामा पास गरेर सुनिलले राखेको कुरा अहिले मात्रै आफूहरूलाई थाहा भएको खिकिरीदेवीले सुनाइन्।
यसबीचमा खिकिरीदेवी र श्यामसुन्दरका जेठा छोरा सुनिल वैदेशिक रोजगारीका लागि विदेश गए। ७२ सालमा विदेश पुगेका उनले तीन वर्षमा जे जति कमाए साहु सुनिललाई तिरैरै सकिएको परिवारको भनाइ छ।
‘मेरो छोराले तीन चारपटक गरेर १ लाख ९२ हजार रूपैयाँ पठाएको थियो, त्यो सबै पैसा हामीले सुनिललाई नै बुझायौं,’ श्यामसुन्दरले भने, ‘त्यसबेलासम्म पनि अलिअलि गर्दै ब्याज बुझाइरहेका थियौं।’
त्यसपछि एकपटक १ लाख, अर्को पटक ५० हजार, २५ हजार, ४२ हजार, ३२ हजार गर्दै ४ लाख ४१ हजार तिरेका छन्। उनीहरूका साहु सुनिलले पानामा लेखेर दिएको हिसाबमै पनि यो विवरण उल्लेख छ। त्यसअघि पनि ब्याज भनेर एक लाख जति बुझाइसकेका थिए। अब त सकियो होला भनेर जग्गा फिर्ता माग्न गएकी खिकिरीदेवी त्यसबेला झसङ्ग भइन्, जब अरू १९ लाख रूपैयाँ तिरे मात्रै जग्गा फिर्ता दिने शर्त सुनिलले अघि सारे।
यो कुरा उनले परिवारका सदस्यलाई सुनाइन्। मलेसियामा रहेका जेठा छोरा सुनिललाई पनि उनीहरूले सुनाए। सुनिललाई यस्तो खबर सुनाएको तीन चार दिनपछि मलेसियाबाट छोरा बितेको खबर आयो।
‘ऋणको बोझले अलिकति भएको जग्गा पनि जाने भयो, कमाएको पनि केही नरहने भयो भनेर फोनमा धेरैबेर रोएको थियो,' श्यामसुन्दरलाई अहिले थकथकी लाग्छ, ‘त्यसको केही दिनमा हार्टअट्याकले ऊ बितेको खबर आयो। हामीले त्यो कुरा नसुनाएको भए उसलाई केही हुँदैनथ्यो कि!’
पाँच वर्षअघि जेठो छोराको देहान्त भएपछि साह परिवारले साहुलाई पैसा बुझाउन बन्द गरेको छ। धितो राखेको जमिनमा खेतीपाती उनीहरूले नै गरिरहेका छन्। तर, जग्गाको लालपुर्जा साहु सुनिल साहको नाममा परिसकेको छ।
जेठा छोराका एक जना छोरा र छोरी छन्। पत्नी रिंकुदेवी सासूससुरासितै रहेर छोराछोरी हुर्काइरहेकी छन्।
यही पीडाबाट आफूलाई मुक्ति दिलाइदिन गुहार माग्दै खिकिरीदेवी अरू छिमेकीसितै महानगर र जिल्ला प्रशासनमा धाइरहेकी छन्।
उनले यी कुरा सुनाइसकेपछि हामीलाई अरू छिमेकीको घरतिर पनि डोर्याइन्, जो उनीजस्तै सुनिल साहको ऋणको फन्दामा परेका थिए। वल्लोघर, पल्लो घर, तल्लो, माथ्लो सबैलाई सुनिलले आफ्नो मिटरब्याज धन्दाको पासोमा पारेका रहेछन्।
खिकिरीदेवीको भन्दा सय मिटर तल्तिर छ ५६ वर्षीया मिनादेवी मण्डलको झुपडी। जम्मा १० धुर जमिन भएकी मिनादेवीका दुई छोरा छन् मनोज र जितेन्द्र। उनीहरू दुवै जना सिटी सफारी चलाउँछन्। उनीहरूको त्यही पेशाले चार जना बालबालिका, दुई जना बुहारी र आमासहितको परिवार पालिएको छ।
मिनादेवीका लागि आफ्ना दुई भाइ छोराका सन्तान नातिनातिनाले ओत लाग्ने ठाउँ रहेको यो झुपडी रहेको जमिन पनि सुनिल साहकै नाममा पास भइसकेको छ। उनले ऋण लिएको मिति बिर्सिइन्। तर, ४५ हजार रूपैयाँ लिँदा १० धुर धितो राखेको याद ताजै छ।
‘मैले अहिलेसम्म ८० हजार रूपैयाँ तिरिसकेँ,' मिनादेवीले भनिन्, ‘अझै साढे चार लाख सुनिलले मागिरहेको छ। त्यो तिरेमात्रै जग्गा फिर्ता गर्छु भनेपछि हामी यत्तिकै बसिरहेका छौं।’
स्थानीयबासीका अनुसार लावघाट बस्तीका धेरै घरपरिवार सुनिलको धन्दाको मारले पिरोलिएका छन्। धेरै जना अझै पनि डरले खुल्न नसकेको उनीहरू बताउँछन्। यही बस्तीमा मात्रै कम्तीमा एक दर्जन परिवार कुनै न कुनै आकारको मिटरब्याजको फन्दाले थिचिएका रहेछन्। त्यो पनि उनै सुनिलबाट।
लावघाट बस्तीबाट थोरै दक्षिण लागेपछि कटहरी–बथनाह रेलवे आउँछ। त्यो पार गरेर दक्षिण झर्नेबित्तिकै आउँछ दिमादिगी बस्ती। यही बस्तीका बासिन्दा हुन् ४८ वर्षीय दिलिप मण्डल।
बिहान नौ बजेतिर हामी उनको घर पुग्दा चारैतिरबाट चार वटा साना साना झुप्रोले घेरिएको खुला आँगनमा बसेर टोलाइरहेका थिए दिलिप। आँगनमा रहेको माटोको चुल्हामा एकातिर दिलीपकी पत्नी र अर्कातिर उनकी भाउजू खाना पकाइरहेका थिए।
‘फटाहाको फन्दामा परिएछ खेतीपाती गरेर जीवन चलाइरहेको मान्छे एकैचोटी ज्याला मजदुरी गर्नुपर्ने ठाउँमा आइपुगियो,' दिलिपले यसो भनिरहँदा उनको गला अवरूद्ध हुन खोजिरहेको थियो।
आफू यस्तो अवस्थामा आइपुग्नुको कारण उनले खोतले।
पाँच वर्षअघि केही महिनाको फरकमा उनका आमा र बुबा बिते। आमाबाबु दुवै जना लामो समय रोगले थलिएका थिए। उनीहरूको उपचारका लागि भनेर उनले कहिले आफन्त अनि कहिले छिमेकीसित सापट खोज्दै काम चलाउँदै थिए।
जब आफ्ना दुवै अभिभावक उनले गुमाए तिनको काजकिरिया कर्ममा अरू खर्च थपियो। हिसाब गर्दै जाँदा सबैतिर गरेर ६ लाख जति ऋण पुगेको थियो। पैतृक सम्पत्तिमा पाएको १० कट्ठा जमिनमा खेतीपाती गरेर पहिले सात र अहिले पाँच जनाको परिवार चलाउँदै आएका दिलिपका लागि यो रकम धेरै ठूलो थियो।
‘जग्गा बेचेर ऋण तिर्ने कि भन्ने पनि उपाय गरिहेरेँ तर बेचेपछि सकिन्छ भनेर अरू उपाय गर्ने सोचेँ,' दिलिपले सुनाए, ‘त्यहीक्रममा म पनि मटेर्वाको सुनिलकोमा पुगेको थिएँ।’
दिलिपले सुनिललाई समस्या सुनाए। सुनिलले अरूलाई जे भन्थे, उनलाई पनि त्यही भने।
‘अनि त्यही १० कट्ठा जमिन धितो राखेर सुनिलले मलाई ६ लाख रूपैयाँ ऋण दिए, मैले आफन्त र छिमेकीहरूबाट चलाएको सबै पैसा फिर्ता गरिदिएँ,' दिलिपले भने, ‘त्यसपछि मेरो जेठो छोरा काम गर्न दिल्लीतिर गयो। उसले र मैले मिलेर सुनिललाई तीन लाख रूपैयाँ तिर्यौं।’
यसरी सके महिनैपिच्छे, नसके अघिपछि गरेर दिलिपले तीन लाख रूपैयाँ बुझाइसकेका थिए। खेतीपाती गरेर परिवार जसोतसो चलाइरहेका थिए। गएको असारमा उनी खेत रोप्ने तयारीमा लाग्दै थिए, उनकै नातेदारसमेत रहेका छिमेकी सन्जय मण्डलले उनलाई खेतमा पस्नबाट रोके।
‘यो जमिन मैले सुनिलबाट किनिसकेको छु, अब खेतीपाती पनि मै गर्छु,' सन्जयले यसो भनेपछि दिलिपले सोधे, ‘मेरो जमिन सुनिलले कसरी बेच्छ?’
सन्जयले जमिन आफ्नो नाममा आइसकेको प्रमाणस्वरूप लालपुर्जा नै देखाएपछि दिलिप आत्तिए। दौडेर सुनिललाई भेट्न गए। सुनिलले पनि ‘जग्गा मैले बेचिदिएँ’ भनेपछि उनको होस हवास उड्यो।
‘जग्गा धितो राखेको भन्थ्यो, त्यतिबेला राजीनामा नै पास गरेको रहेछ,' दिलिपले भने, ‘मालपोतमा लगेर धितो राख्नुपर्छ भनेपछि मैले ऋण लिने बेलामा गएर ल्याप्चे लगाइदिएको थिएँ। अहिले मैले थाहै नपाइ जग्गा अर्कैलाई बिक्री गरिदिएछ।’
यसबीचमा उनले तिरेको तीन लाखको हिसाब पनि हरायो। त्यो भन्दा ठूलो कुरा सम्पत्तिको नाममा रहेको १० कट्ठा जमिन पनि जालझेल गरेर लुटियो। गएको असारमा उनले त्यो जमिनमा खेती गर्न पाएनन्। खेती गर्न नपाएपछि परिवार पाल्न उनी राजमिस्त्री काममा मजदूरी गर्दै हिँड्न बाध्य भएका छन्।
‘उसको पैसा ब्याजसहित तिरिरहेको थिएँ,' दिलिपले भने ‘तर, तिर्दातिर्दै जमिन नै बेचिदिँदा म त सिधै सडकमा आइपुगेँ। म न्याय खोज्दै हिँडिरहेको छु।’
दिलिपकै छिमेकी हुन् रामानन्द मण्डल। उनले पनि चार कट्ठा जमिन राखेर २ लाख रूपैयाँ ऋण लिएको सुनाए। अहिलेसम्म १ लाख ८० हजार तिरिसकेका उनलाई सुनिलले अरू आठ लाख रूपैयाँ मागिरहेका छन्।
‘थप आठ लाख रूपैयाँ नदिने भए अब जग्गा फिर्ता हुँदैन भनेको छ,’ विराटनगरकै एक उद्योगमा मजदुरी गर्ने रामानन्दले दिक्दारिएको आवाजमा भने, ‘अब मैले अझै त्यत्रो पैसा कसरी तिर्नु, नतिरे जग्गा उसको नाममा छ।’
निरक्षर गाउँलेहरू आफूहरूलाई जग्गा धितो मात्रै राख्ने भनेर सुनिलले झुक्याएको बताउँछन्।
‘गाउँका अरूले पनि त्यसैगरी ऋण लिन्थे, तिरेपछि जग्गा पनि फिर्ता गरेको देखिएको थियो,' रामानन्दले भने, ‘हामीलाई नै चाहिँ अहिले डुबाइयो।’
यही गाउँका ४७ वर्षीय नारायण साह सुनिलबाट ठगिएका अर्का पीडित हुन्।
उनले सुनिलसँग ३ वर्ष अगाडि ७ लाख रूपैयाँ ऋण लिएका थिए। त्यसबापत ६ कट्ठा जमिन धितो राखेका थिए। ७ लाख ऋणको साँवा र ब्याज गरेर उनले सुनिललाई २१ लाख ७ हजार रूपैयाँ बुझाए अनि जग्गा फिर्ता पाए।
तर, उनकी आमा लक्ष्मीदेवी साहको नामको जग्गा भने अझै पनि सुनिलकै कब्जामा छ। नारायणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा राखेर सुनिलसँग १ लाख २५ हजार रूपैयाँ ऋण लिएकी थिइन्। लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रूपैयाँ बुझाइसकेकी छन्। अझै ४ लाख ५० हजार रूपैयाँ दिएमात्र जग्गा फिर्ता दिने भनेपछि उनीहरू पनि जग्गा जोगाइदिन हारगुहार गरिरहेका छन्।
आफू अन्यायमा परेको कुरा सुनाउन कहाँ जाने, के गर्ने भइरहेका बेला गाउँलेका लागि विराटनगर उपहानगरकी उपप्रमुख शिल्पा निराला कार्की बलियो सहारा बनेर आएकी थिइन्। जग्गा र पैसा दुवै फसाएर तनावमा रहेका बेला उनीहरूलाई महानगरमा आउन भनेर पहिलोपटक कार्कीले नै सुझाव दिएकी थिइन्।
‘१५ दिनअघि उपमेयर हाम्रो गाउँमा आउनुभएको थियो। हामीले आफ्नो समस्या सुनाएका थियौं,' पीडित दिलिपले भने, ‘हाम्रो कुरा सुनेपछि उहाँले महानगरको न्यायिक समितिमा आउनु भन्नुभयो। हामी ६ जना भेला भएर गयौं। त्यसपछि अहिले महानगरले नै यो विषय जिल्ला प्रशासनमा पठाएको छ।’
उपमेयर कार्कीका अनुसार उनी महानगरको घरदैलोमा नियमित पुग्ने क्रममा त्यहाँका स्थानीयबासीले यो कुरा सुनाएको बताइन्। उनले गाउँमा के आवश्यकता छ, महानगरले के गर्छ भनेर सोधेकी थिइन्। त्यसक्रममा यो कुरा खुलेको थियो।
‘उहाँहरूले गाउँमा शौचालय चाहिएको बताउनुभयो, मैले अलिकति तपाईंहरू खर्च गर्नुुुस्, अलिकति महानगरले गर्छ भन्दै थिएँ। एक जनाले मेरो जग्गा त अर्कैले खाइदिएको छ। कसरी शौचालय बनाउनु भनेपछि मैले उहाँको सबै कुरा सुनेको थिएँ,' उनले भनिन्, ‘त्यसपछि उहाँहरूलाई महानगरमा बोलाएर न्यायिक समितिमा छलफल गराएँ।’
त्यस क्रममा महानगरले पीडक सुनिललाई पनि बोलाएको थियो। तर, उनी आउन मानेनन्।
‘महानगर प्रहरी पठाएर उहाँलाई ल्याइयो,' कार्कीले थपिन्, ‘उहाँ वकिल पनि लिएर आउनुभएको थियो। महानगरमा कुरा गर्दा उहाँले पहिले आफूले पैसा नै नदिएको भन्नुभयो। त्यसपछि धेरै लिएको छैन भन्नुभयो। एकछिन बोल्दा उहाँको चारथरी कुरा सुनेपछि हामीले उहाँलाई पीडितको जग्गा फिर्ता गर्न भन्यौं।’
महानगरमा बोलाएपछि रिसाएका सुनिलले गाउँ फर्केपछि पीडितहरूलाई एक्लाएक्लै भेटेर किन उजुरी दिएको भन्दै धक्म्याएको थाहा पाएको उपमेयर कार्कीले बताइन्।
मेयर नागेश कोइरालाले स्थानयबासीको कुरा सुनेपछि महानगरले यसबारे खोजी गरेको र त्यसक्रममा उनीहरू वास्तवमै पीडित बनेको पाइएको बताए।
‘हामीले धेरै कोणबाट खोजी गर्दा स्थानीयबासी वास्तविक पीडित रहेको थाहा पायौं,' उनले भने, ‘त्यसैले अहिले यो मुद्दालाई हामीले जिल्ला प्रशासनमा फरवार्ड गरेका छौं।’
उनका अनुसार पहिलो चरणमा ६ जना पीडितले उजुरी गरेका छन्। अरू धेरै पीडितहरूको उजुरी आउने क्रममा छ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि महानगरबाट ६ जना पीडितहरूको फाइल आफूसम्म आइपुगेको बताएको छ।
‘फाइल यहाँ आइपुगेको छ’, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले भने, ‘हामीले पीडकलाई यहाँ उपस्थित गराउन आदेश गरिसकेका छौं।’
प्रशासनले यस्तो आदेश गरे पनि सुनिल साह भने अहिलेसम्म उपस्थित भएका छैनन्। उनी अहिले गाउँमै नभएको पीडितहरूले जानकारी दिए। फोन स्वीच अफ गरेर उनी सम्पर्कविहीन बनेकोबारे प्रशासनले केही खुलाएको छैन।
‘आवश्यक परे प्रहरीसँग समन्वय गरेर उनलाई हामी उपस्थित गराउने तयारीमा छौं,’ सहायक प्रजिअ साहले भने ‘हामी यो घटनाको निरन्तर फलोअपमै छौं।’