काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा) साउन २६ गते खोतलेपछि अलपत्र छाडेको छ।
सात महिना बितिसक्दा पनि काठमाडौं र बूढानीलकण्ठ नगरपालिकाले खोला खोतलेर अलपत्र छाडी केही काम नगरेको स्थानीयहरूको गुनासो छ।
साउन २५ गते काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलन चोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको थियो।
महानगर प्रहरी बल समन्वयन नगरी डोजर लिएर खोला खोतल्न थालेपछि समस्या उत्पन्न भएको थियो। सोही विवादपछि काठमाडौं र बूढानीलकण्ठका जनप्रतिनिधिबीच बेलुका तीन बुँदे सहमति भएको थियो। त्यसको भोलिपल्ट सहमतिमै डोजरले खोला खोतलेको थियो।
पूर्व-योजनाबिना खोला खोतल्ने सहमति गरेर डोजर चलाउँदा अहिले जनजीवन कष्टकर बनिरहेको स्थानीयहरू बताउँछन्।
‘त्यति बेला कुनै योजना नबनाई खोला खोतल्न ड्वाङड्वाङ डोजर चलाए,’ स्थानीय रामकुमार श्रेष्ठले सेतोपाटीसँग भने, ‘सबैतिर एकै पटक खोला खोतलेर छोडेपछि हाम्रो हरिबिजोग स्थिति बनेको छ, सधैं ढल गन्हाउँछ। बाटोमा हिँड्न समेत कठिन भइरहेको छ।’
सात महिनायता खोला खोतलेकै कारण दिनहुँ कठिनाइ भोग्नु परेको उनी बताउँछन्। यसो त खोला खोतलेपछि घर जाने बाटोमा हिँड्न समेत हैरानी बेहोरिरहेको उनी बताउँछन्।
‘बाटो लथालिंग छाडेकै कारण बाइक पनि यतिका महिनादेखि अरूको घरमा राख्नुपरेको छ,’ उनले भने, ‘कोठाबाट बाहिर बालबच्चा निस्किँदा कतै खोलामा परि पो हाल्ने हो कि भन्दै डराएर बस्नु परेको छ।’
धोवीखोला छेउमा बक्स कल्भर्ट बनाउने काम भइरहेको छ। झन्डै २० मिटर लामो बक्सकल्भर्ट बनाउन तीन महिना लगाइसकेको स्थानीयहरू बताउँछन्। उक्त कल्भर्टको दायाँ-बायाँ मात्र ढलान गरी काम अपूरै छोडिएको छ। बनाइरहेको बक्स कल्भर्टभित्र पानी जमेर दुर्गन्ध फैलिरहेको छ। जसले गर्दा श्वास-प्रश्वासमा समेत कठिनाइ भइरहेको स्थानीयहरू बताउँछन्।
यस्तै, तीन महिनादेखि धोवीखोला छेउबाट काठमाडौं महानगर साइडमा ढलको लागि झन्डै दुई सय मिटरसम्म ह्युमपाइप हालिएको छ। ह्युमपाइप हालेको जमिन नसम्याइ जथाभावी छोड्दा वृद्धवृद्धा र बालबच्चालाई हिँड्न कठिन भइरहेको छ। स्थानीयहरूले घरमा सवारी साधन लगेर राख्न सकेका छैनन्। ह्युमपाइप नहालेका स्थानमा ढलको बिजोग बनेको छ। डोजरले ढलको पाइप फुटाएपछि यतिकै छोडिएको छ। बर्खाअघि नै त्यस्ता ठाउँमा काम नसकिए घरलाई नै असर पर्ने स्थानीय भीम श्रेष्ठ बताउँछन्।
'डोजरले खोतलेर घरको जग देखिसक्यो,' उनले त्यस्ता ठाउँ देखाउँदै भने, 'यदि अझ पनि ढिला गर्दै जाने हो भने अबको बर्खामा हाम्रो पहिलेभन्दा बिजोग हुनेछ। ढल पनि फुटाएर यतिकै छाडिदिएको छ। बनाऊ भने बनाउन मिल्ने अवस्था नै छैन।'
'खोलालाई आफ्नै स्वरूपमा फर्काउनुपर्छ भनेर बालेनले डोजर चलाएको रे! के त्यसो भए भत्काउनु मात्रै समस्याको समाधान हो,' उनी प्रश्न गर्छन्, 'सबैतिर भत्काउने मात्रै हो भने बनाउने काम कसले गर्छ? जुन गतिमा भत्काइको थियो, त्यही गतिमा बनाउने सामर्थ्य दुवै नगरपालिकासँग छैन?'
बूढानीलकण्ठ र काठमाडौंका स्थानीयहरूले बर्खा आउन केही समयमात्र बाँकी भएको हुँदा जतिसक्दो तीव्र गतिमा काम बढाउन सम्बन्धित वडाध्यक्षहरूसँग पटक-पटक आग्रह गरे। तर जनप्रतिनिधिहरूले सधैं काम भइरहेको छ भनेर आश्वासन मात्र दिने र काम भने तीव्र गतिमा नबढाएको उनीहरूको भनाइ छ।
‘साउनमा खोतलेको खोलालगत्तै बनाइने भनेर जनप्रतिनिधिहरूले भनेका थिए,’ स्थानीय अप्सरा मगरले सेतोपाटीसँग भनिन्, ‘राजधानी सहरमा स्रोत साधनले सम्पन्न भएको नगरपालिकालाई काम गर्न यतिको सकस किन? खुरूखुरू काम गरेको भए अहिले आधा काम भइसक्थ्यो। तीन जना मात्र आएर काम गर्छन्, यसरी नै काम हुँदै जाने हो भने अझै दुई/चार वर्ष लाग्ने देखियो।’
काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि कपन क्षेत्रमा काममा ढिलाइ भएको स्वीकार्छन्।
लम्सालका अनुसार उक्त क्षेत्रमा विभिन्न कारणले काममा ढिलाइ भएको हो।
'पहिलो त विद्युत प्राधिकरणले पोल सार्न ढिला गर्यो,' उनले भने, 'त्यसपछि पहिले नै आह्वान भएको टेन्डरको डिजाइन परिवर्तन गर्नुपर्ने भयो। अहिले सोही संशोधित डिजाइनमा काम भइरहेको छ।'
पहिलेको डिजाइन संशोधन गर्ने काम योजना, अनुगमन तथा मूल्यांकन एकाइबाट भइरहेको उनले बताए।
लम्सालले उक्त डिजाइन पास भएपछि काठमाडौं महानगर साइडमा बर्खा अगाडि नै काम सकाउने गरी तीव्र हिसाबले काम गर्ने बताए।
त्यसका लागि साइटमा डेडिकेटेड टिम खटाएर काम समापन गर्ने योजना भएको उनी बताउँछन्।
यस्तै, बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र महानगरको स्वार्थ बाझिँदा समेत काम ढिला भएको उनी जिकिर गर्छन्।
'हामीले खोलाको 'राइट अफ वे' चार मिटर छुटाउनुपर्छ भनेर भनिरहेका छौं,' उनले भने, 'त्यसो गर्दा घर भत्काउनु पर्छ भनेर उहाँहरू मानिरहनुभएको छैन।'
त्यस्तै, सबैमा बक्सकल्भर्ट मात्र गर्नुपर्ने बुढानीलकण्ठको धारणा रहेको उनी बताउँछन्।
बूढानीलकण्ठ महानगरपालिका मेयर मिठाराम अधिकारी भने उक्त कार्य उपत्यका विकास प्राधिकरणबाट ढिला भएको जिकिर गर्छन्।
मेयर मिठाराम स्थानीयलाई अप्ठ्यारो भयो भनेर सम्बन्धित निकायलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको दाबी गर्छन्।
'हामीले काममा कुनै बाधा अड्चन पुर्याएको छैन,' उनले सेतोपाटीसँग भने, 'खोला खोतलेलगत्तै महानगर र उपत्यका विकास प्राधिकरणसँग धेरै मिटिङ बसेर माइन्यूट गर्यौं। तर प्राधिकरणले हामी सानो नगरपालिका भन्ने व्यवहार गर्छ। महानगरको मात्र कुरा सुन्छ। हामीसँग समन्वयन नै गर्दैन।'
अहिले पनि बर्खा आउन धेरै समय बाँकी नभएको भन्ने सम्बन्धित निकायलाई झक्झकाउँदा पनि कानमा तेल हालेर बसेको उनको भनाइ छ।
यसबारे सेतोपाटीले उपत्यका विकास प्राधिकरणका अधिकारीसँग सम्पर्क गरेको थियो। अधिकारी सम्पर्कमा आएनन्।
सहमति पत्रअनुसार धोवीखोलादेखि सात तल्लेसम्मको बूढानीलकण्ठ-१० र काठमाडौं महानगर-७ को सीमा भागमा नाप जाँच भई वाल लगाइसकिएको हुँदा उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युमपाइप निकाल्ने भनिएको थियो।
आवागमन स्थानहरू धोवीखोला कोरिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, सात तल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरले बेलिब्रिज (पुल) निर्माण गर्ने भनिएको थियो।
सहमतिमा काठमाडौं र बूढानीलकण्ठ जोड्ने सिमाना बेलिब्रिज राख्ने अन्य ठाउँमा भने बक्स कल्भर्ट राख्ने सहमति समेत गरिएको थियो।
यस्तै, सात तल्ले चोकदेखि माथि बूढानीलकण्ठ- १०, १२ र काठमाडौं- ६ मा दुवै तर्फका जग्गाधनीको नक्सापुर्जा अनुसारको जग्गा छुटाई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर/न.पा. को सिमाना र खहरे भाग रेखांकन गरी छुटाउने सहमति गरिएको थियो।
नाप जाँचबाट सीमा यकिन गरी खहरे भाग समेत छुटाएपछि दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाइ खहरे तथा बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाध्यक्षहरूको सहमतिमा काम सुरू गर्ने भनिएको थियो।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/ सेतोपाटी