लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार गुरूयोजना सार्वजनिक गरिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले रूपन्देहीको देवदहमा ८० अर्ब लागतमा विभिन्न पूर्वाधार निर्माण गर्दै छ। सोही गुरूयोजनाको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सार्वजनिक गरेका हुन्।
सरकारले बौद्ध विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि २०७७ सालमा देवदहमा झन्डै ९२ बिगाहा जमिनको भोगाधिकार दिएको थियो। सोही जमिन ओगट्ने गरी तयार गरिएको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको आठौँ सभा बैठकले स्वीकृत गरेको थियो।
अर्थमन्त्री पौडेलले बौद्ध विश्वविद्यालयले कोटहीमाई गाउँपालिका वडा नं. ३ खडैयामा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास पनि गरेका छन्।
विश्वविद्यालयले खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय छात्रावास भवन निर्माण गर्न लागेको हो। छात्रावास भवनको निर्माण बिस महिनाभित्र सकिने अपेक्षा रहेको छ। विश्वविद्यालयमा हाल करिब २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।
कार्यक्रममा बोल्दै पौडेलले गुरुयोजनालाई पूर्णता दिन तदारुकताका साथ लाग्न लुम्बिनी बौद्ध विश्वविद्यालयलाई आग्रह गरे।
‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ,’ उनले भने, ‘बौद्ध विश्वविद्यालयको काममा सरकार सदैव साथ र सहयोगका लागि तत्पर रहन्छ।’
२०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै उनले अहिले विश्वविद्यालयको स्वरूपमा पुगेको बताए।
‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन सक्छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्याउनुपर्छ।’
बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय अझै प्रभावकारी रूपमा अघि बढेको उनको भनाई थियो।
विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रूपमा ब्राण्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन निर्देशन समेत दिए।
८० अर्बको गुरुयोजनाका मूर्तरूप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने पौडेलको भनाई छ। पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने उनले प्रतिबद्धता जनाए।
लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकोमा चिन्ता समेत उनले व्यक्त गरे।
‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन,’ उनले थपे, ‘यस्ता संस्थाहरूको नेतृत्व लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दो रहेछ।’
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटक भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताए।
त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताए।
बज्राचार्यले देवदह गुरुयोजनाको सपना छिट्टै साकार हुने विश्वास व्यक्त गरे।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म उनले पुर्याएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठुलो सहयोग हुने विश्वास व्यक्त गरे।