बर्सेनि बर्खा बेला काठमाडौंको कपन क्षेत्रका घरहरू डुबानमा पर्छन्। यज्ञमती र चखुँचा खोलाको बाढी घरभित्र पस्दा स्थानीयहरूले सास्ती खेप्दै आएको वर्षौं भइसक्यो। तर यसपालि स्थानीयहरू झनै त्रसिद छन्, पहिलेभन्दा यसपटक झनै डुबानको समस्या झेल्नुपर्ने स्थानीयहरू बताउँछन्। गत वर्ष साउन २६ गते काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने कपनका केही ठाउँमा खोला खोतल्ने काम गरेको थियो।
कपनका खोलाहरूको बाढी बस्तीमा नजाओस् भनेर स्थानीय सरकारदेखि संघीय सरकारसम्मले विभिन्न योजनामा बजेट हाल्छन्। काम पनि हुन्छ तर बाढी बस्ती पस्न रोकिँदैन। जनतालाई बर्सेनि बर्खामा फेरि बाढीले दु:ख दिन्छ। झन् यो वर्ष विभिन्न स्थानीय सरकार र उपत्यका विकास प्राधिकरणबीच समन्वयन नगरी काठमाडौं महानगरपालिकाले खोला खोतलेर छोड्दा स्थानीयले झन् सास्ती खेप्ने गरेका छन्।
कुन बेला खोला खोतलेको ठाउँ भास्सिएर आफ्नो घर धरापमा पर्ला भन्ने पीरले सताइरहेको स्थानीय रामबहादुर विश्वकर्मा बताउँछन्।
'अस्ति परेको पानीले बाढी आएर यहाँको माटोको ढिक्का नै बगाएर लग्यो,' उनले पीर मान्दै भने, 'फेरि कुन दिन बाढी आएर अर्को ढिक्का माटो बगायो भने त वाल नै बगाएर घरको जगमा केही होला भन्ने पीर लागिराछ। अहिलेलाई त यसो जमर्को गरेर बाँस र प्लाई हालेर माटो बग्न रोकेको छु। बर्खामा त्यसको पनि के भर।'
यसो त उनी काठमाडौं जस्तो ठाउँमा पनि सरकारले ढिला काम गरेको दुखेसो पोख्छन्।
'यो बर्खामा बनाइसक्छु भनेर खोतलेको अहिलेसम्म काम गरेका छैनन्,' उनले भने, 'राजधानी जस्तो सुविधा सम्पन्न ठाउँमा त ढिलासुस्ती काम गरेर धुलो हिलो बाटोमा हिँड्नुपरेको छ भने अरू ठाउँमा के होला।'
कपनकै अर्का स्थानीय जानुका भट्टराई खोतलेको ठाउँमा कुनै छेकबार नहुँदा बच्चा खेल्दाखेल्दै कुन बेला पस्छ भनेर ढुकेर दिन बिताउनुपरेको बताउँछिन्।
'तीन वर्षको नातिबाट आँखा हटाउनै पाइँदैन,' उनले भनिन्, 'आँखा झिमिक्क पार्दा कुनै बेला खोलामा पस्ला कि भन्ने डर लाग्छ। सानो बच्चालाई सम्झाएर बुझ्ने कुरा पनि भएन।'
अर्कातर्फ घरभित्रबाट सबै सामान झिकेर खोलामा फाल्ने गरेको उनी सुनाउँछिन्।
'कतिसम्म रूँघेर बस्नु, एक दुई दिनको मात्र कुरा पनि होइन। यो बर्खामा सक्छु भनेको काम अहिलेसम्म ज्यूका त्यूँ छ,' उनी प्रश्न गर्छिन्, 'यो काम कहिले सकाउँछन् र हामी आनन्दले बस्न पाउने? सबै जना बोल्छन् मात्र काम छिटो हुँदैन।'
यसबारे हामीले उपत्यका विकास प्राधिकरण काठमाडौंका आयुक्त प्रकाश अर्याललसँग कपन क्षेत्र बाढीको समस्या कहिले हल हुन्छ, अहिले भइरहेका काममा किन ढिलासुस्ती भएको भन्ने लगायत विषयमा कुराकानी गरेका छौं।
उनले समन्वयनमा अभाव भई र अदालतमा मुद्दा पर्दा काममा ढिलासुस्ती भएको बताए।
अर्यालका अनुसार कुनै समन्वयनबिना काठमाडौं महानगर कपनस्थित साततलेमा खोला खोतल्न पुगेको थियो। त्यसपछि उच्च अदालत पाटनमा रिट परेको थियो। रिटमा असार ५ गते उक्त क्षेत्रमा संघीय सरकारले बनाउने उपयुक्त योजना अनुरूप काम गर्न दिन भनेर आदेश आयो। त्यसैले मुद्दा मामिलाका कारण काम ढिला हुने पुगेको उनी स्वीकार्छन्।
'हामीले पहिले नै दोस्रो चरणमा धोबिखोला चोकसम्म पाँच सय मिटरमा बक्सकल्भर्ट बनाउन ठेक्का गरिसकेका थियौं,' उनले भने, 'तर महानगरले खोला खोतलेपछि बीचमा काम रोकियो। महानगरले खोलालाई खुला राख्नुपर्छ भन्ने कुरा गरेपछि कतै बक्सकल्भर्ट त कतै खोला खुलै राख्ने योजना बनाई डिजाइन परिवर्तन गरेका थियौं। त्यसमाथि दुई पालिकाको सिमानाको विवाद हुँदा थप समय लाग्यो।'
यसो त पहिलो चरणमा उपत्यका विकास प्राधिरणले धोबिखोलामा ११४० मिटर लामो बक्सकल्भर्ट बनाइसकेको छ। उक्त ठेक्का हाई हिमालय पिआर जेभीले ४५ करोडमा पाएको थियो। त्यसपछि २०७९ चैत २ गते धोबिखोलादेखि चाकुचा चोकसम्म परिवर्तित डिजाइन अनुसार काम गर्न ड्र्यागन र रेनेसेन्स जेभीले २७ करोड रुपैयाँमा ठेक्का पायो। अहिले सात सय मिटरसम्म ढुंगाको गारो लगाउने काम भइसकेको र चार सय मिटरमा विवाद हुँदा काम बाँकी रहेको उनी बताउँछन्।
'दुई पालिकाको सिमाना विवाद सल्टाएर डिजाइन परिवर्तन गरेर ठेक्का दिँदा काममा ढिला भएको हो,' उनले भने, 'अर्कातर्फ साइटमा काम गर्न पोल सार्न नेपाल विद्युत प्राधिकरण, खानेपानी तथा ढलको पाइप मिलाउन सम्बन्धित निकायसँग समन्वयन गर्दै काम गर्दा पनि केही ढिलाइ भएको हो।'
अहिले बर्खा सुरू भएसँगै निर्माण काम ठप्प भएको अर्याल बताउँछन्। अहिले खोतलिएका ठाउँमा वर्षाका कारण क्षति हुन नदिन रोकथाम गर्ने काम भइरहेको छ।
यस्तै, चैतयता पाँच सय मिटरमध्ये दुई सय मिटरमा कुनै न कुनै निर्माण कार्य भएको छ। कतै पूरै सेयरवाल लगाइएको छ भने कतै अधुरो नै रहेको अर्यालको भनाइ छ।
यस्तै, ढलका लागि काठमाडौं महानगर क्षेत्रपट्टि छुट्टै ह्युम पाइप बिछ्याइएको छ भने केही मिटर बाटो ढलान समेत गरिएको छ। बूढानीलकण्ठ नगरपालिकापट्टि भने कालो रंगको फ्लेक्जिबल कल्भर्ट कोलिब्रेटेट ड्रेनेज पाइप हालिएको छ। तर बाँकी तीन सय मिटरमा भने ठेक्का समेत आह्वान भएको छैन।
'सात तलेबाट माथि गएपछि ठाउँ सानो छ,' उनले भने, 'खोलालाई डाइभर्ट गर्न स्पेस एकदमै सानो छ। त्यसमाथि निर्माण सामग्री पनि पुर्याउनुपर्ने हुन्छ। त्यही भएर बाँकी क्षेत्रमा काम गर्न चुनौती छ। तर हामीले कसरी काम गर्ने भनेर योजना बनाइसकेका छौं। काम गर्दा पैसाको अभाव नहोस् भनेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन समेत गरिसकेका छौं।'
तर बाँकी चार सय मिटरका लागि भने कुनै पनि ठेक्का आह्वान भएको छैन। त्यसका लागि काम कसरी गर्ने भनेर योजना बनाइरहेको अर्याल बताउँछन्। प्रमुख विषय रहेको सीमा विवाद लगायतका विषयहरू टुंग्याइसकेको हुँदा यही चैतमा काम सकिने अर्याल दाबी गर्छन्।
'अब आउने चैतमा सबै काम सकिसक्छौं,' उनले भने, 'उक्त ठाउँमा सौन्दर्यीकरण कसरी गर्ने भनेर पनि योजना तयार छ। अबको चैतमा काम सकिसक्ने गरी काम गर्ने हुँदा अर्को बर्खामा त्यहाँका स्थानीयहरूले समस्या भोग्नु पर्दैन।'
यस्तै, दुई नगरपालिकाका स्थानीयलाई वारपार गर्न सहज होस् भनेर २०-३० मिटरमै मान्छे र दुई पांग्रे सवारी साधन कुद्न मिल्ने पुल हाल्ने योजना समेत रहेको अर्यालले बताए।
अहिले कपन क्षेत्रमा र्यापिड रेस्क्यु टिमलाई तैनाथ राखिएको काठमाडौं महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल बताउँछन्।
'उपत्यका विकास प्राधिकरणले मुद्दा जितेर काम गरिरहेको छ,' उनले भने, 'त्यो क्षेत्रमा हामीले र्यापिड रेस्क्यु टिमलाई तयारी अवस्थामा राखेका छौं।'
गत वर्ष साउन २५ गते काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलन चोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप नै भएको थियो।
महानगर प्रहरी बलले त्यसबेला समन्वय नगरी डोजर लिएर खोला खोतल्न थालेको आरोप थियो। सोही विवादपछि काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिबीच तीन बुँदे सहमति भयो।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ र ७ का वडाध्यक्ष र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ का वडाध्यक्षबीच तीन बुँदे सहमति भएको थियो। त्यसको भोलिपल्टदेखि डोजरले लगाएर खोला खोतल्ने काम सुरू गरिएको थियो।
धोबिखोलादेखि सात तल्लेसम्मको बुढानीलकण्ठ- १० र काठमाडौं महानगर- ७ को सीमा भागमा नापजाँच भई वाल लगाइसकिएकोले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको थियो।
काठमाडौं र बुढानीलकण्ठ जोड्ने सिमाना बेलिब्रिज राख्ने अन्य ठाउँमा भने बक्स कल्भर्ट राख्ने सहमति पनि भएको थियो।
खोला खोतल्न थालेपछि गत वर्ष भदौमा पनि कपनको जनजीवन अस्तव्यस्त बनेको थियो। बाढीले काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच सिमानामा पर्ने कपनको खहरे खोलाछेउका बिजुलीका पोलहरू ढलेका थिए।