रामेछापको दोरम्बाको शैलुङ गाउँपालिका वडा नम्बर ३ मा गए राति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ।
पहिरोमा चार जना हराइरहेका छन् भने एक जना बालिकाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो।
११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्। उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन।
पहिरोमा परी ७५ वर्षीया फड्की पहरी, ५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउँकिरी पहरी, २३ वर्षीया बिन्दा पहरी हराइरहेको प्रहरीले जानकारी दिएको छ।
गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारीअनुसार शनिबार पहिरो खसेको हो।
पहिरो खसेको थाह पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। पहिरोले वडा नम्बर २ र ३ को सिमाना भएर बग्ने खोलाको पक्की पुल पनि बगाएको छ।
लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुल बगाएको हो।
गत वर्ष निर्माण सम्पन्न भएको पुल करिब ३ करोड लागतमा तयार भएको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ का सदस्य लालबहादुर थापा मगरले जानकारी दिए।
तस्बिरहरू:
सबै तस्बिर सौजन्यः सिंहराज योञ्जन