लागुऔषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोले अफ्रिकी मुलुक इभोरी कोस्टका ३५ वर्षीय नागरिक भामारा कोनलाई पक्राउ गरेको हो।
उनलाई भदौ ३ गते ब्युरोले काठमाडौं महानगरपालिका-२६ ठमेल ज्याठास्थित एक होटलबाट पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरी अन्य व्यक्तिको खोजी गर्दा फेला नपरेपछि आइतबार सार्वजनिक गरेको हो।
उनी भदौ ३ गते कतार एयरवेजको उडानबाट नेपाल आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीलाई उनीमाथि शंका लागेको थियो। उनी इथोपियाबाट दोहा हुँदै काठमाडौं आइपुगेका थिए।
उनी विमानस्थलबाट काठमाडौंको ज्याठास्थित एक होटलमा पुगेका थिए। ब्युरोको टोलीले अनुसन्धान गरी उनी बसेको होटलसम्म पछ्याएको थियो।
प्रहरी होटलमा पुग्दा प्रहरीले खेलौना टेडी बियरभित्र कोकिन फेला पार्यो। उक्त टेडी बियरभित्र ६९ वटा क्याप्सुल फेला परेको थियो।
तौल गर्दा उक्त कोकिन एक किलो ८८ ग्राम रहेको थियो।
ब्युरोका सहप्रवक्ता डिएसपी प्रेमबहादुर शाहीका अनुसार अवैध बजारमा उक्त तौल बराबरको कोकिनको मूल्य ३ करोड ८० लाख बराबरको हुन्छ।
अनुसन्धानको क्रममा उनले कोकिनको क्याप्सुल नाइजेरियाबाटै निलेर काठमाडौंसम्म ल्याएको खुलेको छ।
उनले नाइजेरियाबाट इथोपिया र दोहा हुँदै काठमाडौं ल्याएका थिए।
काठमाडौंमा ल्याएर उक्त कोकिन भारतसम्म पुर्याउने तस्करको योजना थियो। उनले यहाँबाट अर्कै व्यक्तिलाई कोकिन बुझाउने तयारीमा थिए। काठमाडौंबाट भारतमा पुर्याउनका लागि भने उनले उक्त कोकिन टेडी बियरभित्र राख्दै गरेको एक प्रहरीले बताए। त्यसैबेला प्रहरीले उनलाई फेला पारेको हो।
प्रहरीले कोनलाई पक्राउ गरेपछि डेलिभरी लिन आउने व्यक्तिलाई पक्राउ गर्ने तयारी गरिरहेको थियो। तर ती व्यक्ति नआएपछि घटना सार्वजनिक गरेको हो।
उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।