पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड चार घन्टा अवरुद्ध हुने भएको छ।
आबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६:३० देखि चार घन्टा उक्त सडक अवरुद्ध हुन लागेको हो।
राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।
शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ।
‘सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घन्टा सवारी आवागमन रोकिनेछ,’ उनले भने।
पोखराबाट काठमाडौंतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।