मकवानपुरको हेटौंडास्थित एक होटलमा महिला मृत फेला परेकी छन्।
सोमबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलको कोठा नम्बर २०५ मा महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
मृतक हेटौंडा उपमहानगर वडा नम्बर ११ थानाभर्याङ बस्ने एलिसा न्यौपाने रहेको उनले बताए।
कार्यालयका अनुसार आइतबार अपराह्न ५ बजेतिर एक पुरूष र न्यौपाने उक्त होटलमा पुगेका थिए। ती पुरूष बेलुकी ९ बजेतिर कोठाबाट निस्किएका थिए।
सोमबार बिहान ११ बजेसम्म पनि कोठा नखुलेपछि होटलका सञ्चालक नवीन राना मगरले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे खबर पाएपछि प्रहरीको टोलीले झ्याल खोलेर हेरेपछि न्यौपाने मृत अवस्थामा फेला परेकी हुन्।
डिएसपी भण्डारीका अनुसार सिरकले मुख छोपेको अवस्थामा शव फेला परेको हो।
कोठाको भुइँमा रगतको दाग देखिएको र भित्रबाट ढोकामा चुकुल लगाएको थियो।
घटनाबारे कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।