धनुषाको मिथिला नगरपालिका‒२ स्थित रहेको जनता माध्यमिक विद्यालय परिसरमै मेला लगाउन विद्यालयमा बिदा दिइएको छ।
कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मेला लगाउन दुई दिन विद्यालयमा बिदा दिइएको प्रधानाध्यापक श्याम यादवले बताए।
उनका अनुसार यो मेला बुधबारसम्म लाग्नेछ। जन्माष्टमी मनाउन सोमबार संघीय सरकारले नै बिदा दिएको थियो।
मंगलबार आफूले स्थानीय बिदाबाट एकदिन छुट्टी दिएको उनले बताए। बुधबार मेलै भए पनि विद्यालय संचालनमा रहने उनको भनाइ छ।
‘फिल्डमा मेला लागेको छ। बच्चालाई आउन गाह्रो हुन्थ्यो, आइसकेपछि उनीहरूलाई नियन्त्रण गर्न गाह्रो हुन्थ्यो। बच्चालाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ? बाजागाजाको आवाजले पनि पढाइ प्रभावित हुने भएकाले बिदा दिएको हुँ,’ प्रधानाध्यापक यादवले भने, ‘मेला पनि विद्यालयका लागि एक किसिमको विपदै हो भन्ने बुझ्नुपर्यो। वर्षौंदेखि कृष्णअष्टमीमा यहाँ मेला लाग्दै आएको छ। म पनि भर्खरै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको हुँ। विद्यालयमा मेला नलगाउन कसैले आजसम्म पहलै गरेको छैन।’
आयोजक समितिले आइतबार मात्रै सम्पूर्ण तयारी गरेर मेला लगाउन फिल्ड उपलब्ध गराइदिन चिठी पठाएको र त्यसपछि नगरपालिकाको शिक्षा शाखासँग समन्वय गरी बिदा दिएको प्रधानाध्यापक यादवको भनाइ छ।
बुधबार मेलाको प्रभाव केही कम हुने भएकाले विद्यालय संचालनमा रहने उनले बताए।
कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा एक हजार बढी विद्यार्थी छन्। हरेक वर्ष अष्टमीमा तीन दिन मेला लाग्ने हुँदा उनीहरूको पढाइ प्रभावित हुन्छ।
मिथिला नगरपालिका‒२ का वडाध्यक्ष विहारी महतोले विद्यालय परिसरमा मेला लगाउन सहमति नदिन भन्दा पनि प्रधानाध्यापकले नमानेको आरोप लगाए।
‘स्कुल बन्द गरेर विद्यालयको प्रांगणमा मेला लगाउनु उचित होइन। विद्यार्थीको भविष्यसँग खेलवाड गर्नु हुँदैन। मैले त पहिल्यै दुई दिन बिदा दिनु ठिक होइन भनेको थिएँ। मेला समितिले ठाउँ उपलब्ध गराइदिनु भनेर चिठ्ठी लिएर आउँदा पनि उहाँले समन्वय गर्नुभएन,’ वडाध्यक्ष महतोले भने, ‘त्यस्तै दबाब आयो भने सोमबार विद्यालय चलाएर मंगलबार बिदा गरिदिँदा हुन्थ्यो। किनकि कृष्णको जन्म त सोमबार रातिमा भयो। बेलुकी चार बजेपछि बाजागाजा बजाउँदा पनि हुन्थ्यो त।’