काभ्रेमा बचत फिर्ता नदिएको झोंकमा बचतकर्ताहरूले लघुवित्तको कागजपत्र, कम्युटरहरू उठाएको खुलेको छ।
भुम्लु गाउँपालिका-८ भुम्लुटारमा रहेको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट बचकर्ताहरूले कम्प्युटर र महत्वपूर्ण कागजपत्रहरू बोलेरो गाडीमा राखेर लग्न खोजेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
केही दिनअघि बचत फिर्ता लिन अन्दाजी २०/२२ जना बचतकर्ताहरू सहकारी पुगेका थिए।
दुई पक्षबीच छलफल समेत भएको थियो। दोस्रो चरणको छलफलका लागि बचतकर्ताहरू मंगलबार दिउँसो पनि संस्थामा पुगेका थिए।
उनीहरू बा १८ च १०५१ नम्बरको बोलेरोसहित पुगेका थिए। तर संस्थामा एक जना मात्रै कर्मचारी कार्यालयमा थिए।
‘बचत फिर्ता माग्न जाँदा एक जना मात्रै कर्मचारी भेटेँ,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसैको झोँकमा उनीहरूले कम्प्युटर र कागजातहरू नियन्त्रणमा लिए।’
यसरी नियन्त्रणमा लिएर बोलेरोमा दोलालघाटतर्फ ल्याउँदै गर्दा प्रहरीले बचतकर्ताहरूलाई नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले बताए।
‘चोरी गर्ने उद्देश्यले भन्दा पनि रिसको झोँकमा उठाएको देखिन्छ। १५ जना जति कार्यालयमा छन्,’ उनले भने, ‘छलफल भइरहेको छ।’