सिन्धुलीमा विद्यालयको छात्रावासभित्र विद्यार्थी मृत भेटिएको घटनामा पीडित परिवारले दिएको जाहेरी दर्ता गर्न माग गर्दै धनुषामा सडक अवरूद्ध गरेका छन्।
जनकपुर-ढल्केवर सडखण्डमा लक्ष्मिनियाँ गाउँपालिका ४ स्थित सपहीमा स्थानीयले सडक अवरुद्ध गर्दै बिहान ७ बजेदेखि प्रदर्शन गरेका हुन्।
दुई घण्टादेखि सडक अबरुद्ध हुँदा यातायात ठप्प भएका छन्।
गत भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिकास्थित रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्ने सपही बस्ने १४ वर्षीय रजनीश साह होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएका थिए।
घटना भएको धेरै बेरसम्म आफुलाई जानकारी नै नदिएको मृतक रजनीशका बुवा गणेश साहले बताए ।
‘घटना तीन बजेतिरको रहेछ तर छोरा फेन्ट भएको भनेर मलाई स्कुलबाट साढे ४ बजेमात्रै खबर गरियो । सिन्धुलीमा उपचार सम्वभ नभएपछि धुलिखेल लाँदैछौँ भन्यो । राति १० बजे मैले अरुबाट थाहा पाएँ कि मेरो छोराले सुसाइड गरेको रहेछ,’ गणेशले भने।
राति दुई बजे आफू धुलिखेल अस्पताल पुग्दा छोराको मृत्यु भइसकेको पाएको उनले बताए। ‘घटना शंकास्पद छ, स्कुलले सिसिटिभी फुटेज किन देखाउँदैन,’उनले भने।
गत बिहीवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमर्टम रिर्पोट माग्न जाँदा प्रहरीले वकिल, डाक्टर सहितका व्यक्तिलाई कार्यालयमै लिएर आएपछि मात्रै देखाउन मिल्ने भनेको गणेश बताउँछन्।
त्यसैदिन प्रहरीले घटना शंकास्पद लागे जाहेरी लिएर आउन भनेका थिए । गाणेशले विद्यालयका संचालक, प्रिन्सिपल र वार्डेन सहित चार जना विरुद्ध किटानी जाहेरी दिन आइतबार पुगेका थिए।
तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको र विद्यालयकै पक्ष लिएको उनको भनाइ छ । ‘प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हामी आधा घन्टा स्कुल अगाडि धर्ना बस्यौँ, प्रदर्शन गर्यौं। त्यसपछि त्यहाँका डिएसपीले दर्ता गरिदिन्छौँ भन्नुभयो तर गरिदिएन। हामी अन्यायमा परेपछि बाध्य भएर आन्दोलन सुरु गरेका छौं,’ उनले भने।