काठमाडौंमा युवा सम्मेलन हुने भएको छ।
यही भदौ २८ र २९ गते नेपाल युथ समिट हुन लागेको हो।
राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौंको चाबहिलस्थित दुर्गा पार्टी भेन्युमा सम्मेलन हुनेछ।
स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ।
सम्मेलनमा देशभरका करिब पाँच सय जना युवा सहभागी हुने संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए।
‘युवाहरूलाई स्वदेशमै केही काम गर्न सकिन्छ र समृद्ध देश बनाउने चाहना पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो,’ उनले भने।
विभिन्न क्षेत्रमा स्थापित भएका युवाहरूको वृहत भेला, एकता र सहकार्यमार्फत नयाँ विचार, युवाको क्षमता विकास र साझा एजेन्डासहित देशमै रोजगारी सिर्जनाको वातावरणका लागि सङ्कल्प गर्ने उद्देश्य सम्मेलनको रहेको पनि उनले बताए।
सम्मेलनमा विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिनेछन्।
आर्थिक, समाजिक, साँस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको ७ बुँदे घोषणा पत्र जारी गर्ने तयारी रहेको राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मलकुमार उप्रेतीले बताए।
सम्मेलनमा सांसदसमेत रहेका उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, उद्यमी विदुषी राणा, बैंकर्स मनोज ज्ञवालीलगायत सहभागी रहनेछन्।