नागढुंगा सुरूङमार्ग नजिकै पहिरो जाँदा बाटो अवरूद्ध भएको छ।
धादिङ धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवा भन्ने ठाउँमा लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरूद्ध भएको प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए।
उनका अनुसार बेलुकी छ बजेतिर लेदोसहितको पहिरो खसेको हो।
'दिउँसो भएको भारी वर्षाका कारण लेदोसहितको पहिरो खसेर राजमार्ग अवरूद्ध छ,' उनले भने, 'नागढुंगा सुरूङमार्ग नजिकै भएकाले त्यहाँका एक्सकाभेटरले राजमार्ग खोल्न तयारी अवस्थामा छौं। तर अझै पनि पहिरो खसिरहेको हुँदा काम गर्न सकिएको छैन।'
पहिरोले राजमार्ग अवरूद्ध हुँदा दुवैतर्फ गाडी रोकिँदा जाम भएको उनले बताए।