काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहित पहिरो खस्दा अवरूद्ध बनेको राजमार्गमा ७ किलोमिटरसम्म जाम भएको छ।
धादिङ धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवा भन्ने ठाउँमा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो झरेको हो।
नागढुंगाको सुरूङमार्ग नजिकै रहेको उक्त ठाउँमा पहिरो खसेसँगै धादिङ र काठमाडौं दुवैतर्फ लामो जाम भएको छ।
काठमाडौंतर्फको जाम चन्द्रागिरि नगरपालिका-२ वाणभन्ज्याङस्थित महाशक्तिसम्म पुगेको छ भने धादिङतर्फ सिक्रे खोलासम्म जाम भएको प्रहरी निरीक्षक हेम थपलियाले बताए।
'काठमाडौंतर्फ ३/४ किलोमिटर जाम छ भने धादिङतर्फ पनि सुरूङमार्गबाट सिक्रे खोलासम्म चार किलोमिटर जति जाम भइसकेको छ,’ उनले भने।
राति करिब ८ बजेसम्म पनि पहिरो समय समयमा झरिरहँदा पन्छाउन पनि कठिन भएको थियो। अहिले भने पहिरो रोकिएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।
'अघिसम्म पहिरो झरिरहेको थियो। तर अहिले रोकिएको छ,' उनले भने।
पहिरो पन्छाउन लागि पहिल्यै एक्सकाभेटर र टिपरहरू तैनाथ थिए। त्यसअनुसार नै अहिले काठमाडौंतर्फबाट एउटा र धादिङ तर्फबाट अर्को एक्सकाभेटर प्रयोग गरी पहिरो पन्छाउन थालिएको प्रहरी निरीक्षक थपलियाले बताए।
उनका अनुसार एक्सकाभेटरले टिपरमा लोड गरी लेदोसहितको माटो पन्छाइरहेको छ।
'अहिले दुइटै एक्सकाभेटर लगायतको प्रयोगले तीव्र गतिमा काम भइरहेको छ,' उनले भने, 'अबको डेढदेखि दुई घण्टामा सडक खुल्छ।'
सडक खुलाउन प्रहरी स्थानीय लगायत खटिएका छन्।
लेदोसहित आएको पहिरोमा एउटा एसयुभी समेत फसेको थियो। त्यसलाई पनि निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।