वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरूको तलब अबदेखि सोझै उनीहरूकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ।
विगतमा विद्यालयमा पठाएर तलब बुझ्दै आएका शिक्षक/कर्मचारीहरूले अबदेखि भने आफ्नै खातामा मासिक रूपमा तलब बुझ्ने भएका हुन्।
महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरूलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल उपलब्ध गराउन आह्वान गरेको छ।
सूचनामा भनिएको छ, 'महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरूको तलब निजहरूकै व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रूपमा संकलन गरी आउँदो सोमबारभित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ।'
महानगर प्रमुख राजेशमान सिंहका अनुसार यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएको थियो।
'विद्यालयमा तलबभत्ता पठाउँदा शिक्षकहरूले समयमै तलब बुझ्न नपाएको र उहाँहरूको दैनिकी असहज भएको महसुस भयो,’ उनले भने, ‘त्यसैले अबदेखि भने उहाँहरूको खातामा सोझै महानगरले तलबभत्ता पठाउँदा सहज हुने अपेक्षा छ।'
महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले शिक्षक/कर्मचारीले उपलब्ध गराएको नबिल बैंकको खातामा तलब पठाइने जानकारी दिए।
‘सञ्चय कोष, नागरिक लगानी कोष र बीमा रकम भने विद्यालयमार्फत् नै भुक्तानी गर्नुपर्ने भएकाले त्योबाहेक शिक्षकहरूले खुद पाउने तलब भने अब सोझै शिक्षककै खातामा जाने व्यवस्था मिलाएका छौं,’ उनले भने, 'महानगरभित्र ९१ वटा सामुदायिक विद्यालय छन्।'