दाङका मोही किसानले फेरि आन्दोलन गरेका छन्।
विगतमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै स्वर्गद्वारी गुठीका मोही किसानले बुधबार घोराही बजारमा प्रदर्शन गरेका हुन्।
बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएका छन्।
स्वर्गद्वारी आश्रममा भएको द्वैध स्वामित्व अन्त्य गरी किसानलाई जग्गा दिनुपर्ने माग राख्दै प्रदर्शन गरिएको गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए।
उनका अनुसार विगतका सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।
स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिगाह जग्गामा मोही कायम छ। सुरूमा २८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर बढ्दै जाँदा ३५०० घरधुरी पुगेका छन्।
२०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनु भन्ने परमादेश जारी गरेको थियो।
तत्कालीन समय न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादी कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू/नगराउनू भन्ने आदेश गरेको थियो।
सर्वोच्चको त्यो फैसलाप्रति मोही किसान असन्तुष्ट छन्। उक्त फैसलाका कारण मोही किसान जग्गा पाउने अधिकारबाट बञ्चित भएको भन्दै गुठी पीडित मोही किसान संघर्षले प्रदर्शन र धर्ना दिँदै आइरहेका छन्।
उनीहरूले यसअघि फागुनमा जिल्ला प्रशासन कार्यालयमा एक महिनासम्म प्रदर्शन र धर्ना दिएका थिए। त्यतिबेला सरकारले उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएपछि धर्ना स्थगित गरिएको गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष चौधरीले बताए।
'कानुनी जटिलताका कारण मोही किसानले पटकपटक आन्दोलन गरे पनि जग्गा पाउन सकिएको छैन,' उनले भने, 'वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गामा स्वायित्व पाउनुपर्छ।'
यो पनि:
दाङमा किन आन्दोलनमा उत्रिए किसानहरू? (भिडिओ)