अविरल वर्षातपछि जमिन भासिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ अमलेका दुई घर क्षतिग्रस्त बन्न पुगेका छन्।
एक साताअघि परेको अविरल वर्षातपछि त्यहाँको जमिन भासिएको थियो। अहिले निरन्तर पहिरो खसेर स्थानीय हरिहर खनाल र शिवराम खनालको घर क्षतिग्रस्त बनेको हो। पहिरोका कारण थप ८ घर जोखिममा रहेको स्थानीयले बताएका छन्।
अमलेमा यसअघि पनि पहिरो गएको थियो। तीन वर्षअघि पहिरो जाँदा पाँच घरमा क्षति पुगेकाले उनीहरूलाई स्थानान्तरण गरिएको थियो। यद्यपि उनीहरूले सरकारबाट पाउनुपर्ने राहत रकम नपाएको गुनासो गरिरहेका छन्।
अहिले सिंगो वस्ती नै जोखिममा हुने गरी पहिरो चलेको स्थानीय नवराज खनालले जानकारी दिए।
‘केही दिनअघि ग्रामीण सडकमा धाँजा फाटेर मुनिका बस्ती जोखिममा परेको थियो। अहिले सडकमाथि पनि चिरा परेको छ। पानी नपरे पनि जमिन भासिँदै गएकाले सिंगो वस्ती नै अन्यत्र सार्नुपर्ने भएको छ,’ उनले भने।
पहिरोले पुष्पलाल मध्यपहाडी राजमार्गमा समेत क्षति पुर्याउने अवस्था रहेको उनले बताए।
वस्तीमुनि पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत पाटीभञ्ज्याङ, बाहुनेपाटी सडक खण्ड निर्माणाधीन छ। पहिरो राजमार्गमाथि आएर बसेकाले सडकमा क्षति पुगेको छैन। सुख्खा पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्गमा समेत क्षति पुर्याउने सम्भावना रहेको उनले औंल्याए।