इन्द्रजात्राको सुरूवातसँगै काठमाडौं महानगरपालिका-१८ किलागलमा नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) नाचिन थालिएको छ।
कायअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहितको नृत्य गरिएको हो।
श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरू हुन्छ। भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ। यसलाई ‘घँगलासि’ भनिन्छ। यसमा पात्रहरूलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ।
यो नृत्य इन्द्रध्वज उत्थान गर्नुअगाडि बसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डवलीमा नचाइन्छ। यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरू भएको मानिन्छ।
इन्द्रजात्रा (क्वनेयाः) का दिन जैसीदेवल अगाडिको डवलीमा नाच नाचिन्छ। कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ। यसैगरी येँया: पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डबलीमा नचाइन्छ। जात्राको अन्तिम दिन नानिचायाः का दिन किलागल डबलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ। त्यसपछि एक वर्ष यो नाच देखाइँदैन।
देवी पात्रहरूमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) हुन्छन्। नाचले असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ। अन्य परम्परागत नाचहरूमा दैत्यको वध गरेको देखाइन्छ। यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ। अन्य नाचमा बलि चढाइन्छ भने यस नाचमा त्यस्तो बलि नदिने हुनाले यस नाचलाई शान्त नाचको रूपमा पनि लिइने यो नाचमा भैरवको पात्रमा नाच्ने बद्री डंगोलले बताए।
इन्द्रजात्राका अवसरमा नचाइने नाचहरूमध्ये यो एउटा हो। पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डबलीहरूमा मात्र नचाइन्छ।
विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी