नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले केही विषयबारे सोधपुछ गर्न खोजिएको बताएको छ।
बिहीबार बागबजारस्थित कार्यक्रमस्थल पुगेर ब्युरोको टोलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै विरोध भइरहेको छ। बस्नेत जनता टाइम्स अनलाइनका सञ्चालक पनि हुन्।
उक्त अनलाइनमा प्रकाशित समाचारको विषयमा उजुरी परेपछि प्रहरीले उनीसँग सोधपुछ गर्न लागेको हो। उनीसँग साइबर ब्युरोले केही विषयमा सोधपुछ गर्न खोजेको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले बताए।
‘केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले हामीले उहाँसँग कुराकानी गर्न खोजेका थियौं,’ उनले भने।
बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि सोधपुछ गर्न खोजेको उनको भनाइ छ।
नेपाल पत्रकार महासंघलगायतले बस्नेतलाई पक्राउ गर्न खोजेकोमा विज्ञप्ति निकालेर विरोध जनाएका छन्।
महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति निकालेर संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको उल्लेख गरेका छन्।
काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरेको भन्दै उनले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको बताएका हुन्।
‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।