काठमाडौंको वीर अस्पतालमा फेरि जलन उपचार सेवा सुरू भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो।
मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पनि बताए।
सरकारले क्यान्सर, मिर्गौलालगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। अब जलनका बिरामीका लागि पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो।
उनले उपचारको अभावमा जलनका बिरामीको मृत्यु हुने गरेकाले सरकारले त्यस्ता बिरामीको उपचारका लागि सो केन्द्र स्थापना गरेको उनको भनाइ छ। मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए।
‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ। खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुने थुप्रै हुनुहुन्छ। यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले अर्थ मन्त्रालयलाई लेखेर पठायौं तर प्रस्ताव स्वीकृत भइसकेको छैन,’ उनले भने, ‘ अर्थमन्त्रीज्युले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुपर्यो, त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नु भएको छ।’
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए।
बिरामीको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरेको पनि उनले बताए।