झापामा आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ।
शिवसताक्षी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा ४५ वर्षीय दाइ नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङका अनुसार बिहीबार राति सवा ९ बजे रामप्रसाद आफ्नै घरको बलेसीमा मृत फेला परेका थिए। स्थानीयले मृत भेटाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुशिल थापा मगरको कमाण्डमा प्रहरीको टोली खटिएको थियो।
अनुसन्धानका लागि खटिएको उक्त टोलीले मृतक रामप्रसादको टाउको र अनुहारमा चोट देखेको थियो।
घटनाबारे अनुसन्धान सुरू भएसँगै सोधपुछ गर्न उनकै दाइ नारायणलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तामाङले बताइन्।
‘नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले घटनाबारे स्वीकारे,’ प्रहरी निरीक्षक तामाङले भनिन्।
उनका अनुसार उक्त घरमा दाजुभाइ मात्रै बस्थे। समय समयमा मापसे गर्ने उनीहरूले गएराति पनि मापसे गरेका थिए। मापसे गरेर दुई जनाबीच विवाद भएको र कुटाकुट हुँदा भाइको मृत्यु भएको प्रहरीले जनाएको छ।
‘दुबै जना धेरै मापसे गर्नेहरू परे। गएराति धेरै मापसे गर्दा दुई जनाबीच कुटाकुटको क्रममा ज्यान गएको देखियो,’ प्रहरी निरीक्षक तामाङले भनिन्।
घटनाबारे झिलझिलेबाट प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।