पाल्पाको रामपुर नगरपालिकाले एकादशी र औँसीका दिन नगरपालिकाभरि पशुपन्छी काटमार गर्न रोक लगाएको छ।
नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकबाट नगरभरि एकादशी र औंसीका दिन पशुपन्छीको हत्या गर्न रोक लगाउने निर्णय गरेको हो।
नगरप्रमुख रमणबहादुर थापाले नगरपालिकामा धार्मिक सहिष्णुता र सद्भाव कायम गर्न र स्वास्थ्यका हिसाबले पनि फाइदाजनक भएका कारण एकादशी र औंसीका दिन पशुपन्छीको बध र मांसहारी सेवनमा रोक लगाइएको जानकारी दिए।
‘हप्तामा एक दुईदिन मासु नखाँदा स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ। एकादशी औंशीलाई पर्वको रूपमा मान्ने, नुहाउने, चोखो बस्ने चलन भएका कारण त्यही दिन ठीक हुन्छ भनेर गरेका हौं,’ उनले भने।
नगरप्रमुख थापाले उक्त निर्णय नगरपालिकाका सम्पूर्ण जनताले स्वीकारेको बताए।
‘प्रायः हिन्दु धर्म मान्ने मानिसहरू छन्। केही मुस्लिम समुदायका मानिसरहरू पनि बस्नुहुन्छ। सबैले मान्नुभएको छ,’ उनले भने।
उनले त्यसदिन मासु पसलहरूलाई मारकाट नगर्न र बिक्री वितरण गर्न रोक लगाइने उनले बताए।
निर्णय अनुरोध मात्रै भएपनि नगरपालिकाले अनुगमन गर्ने उनले बताए।
‘अनुगमन चाहीँ हुन्छ, मासु पसलहरूमा त्यस दिन मासु नकाट्न अनुरोध गर्छौं,’ उनले भने।