सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा क्रेनमा झुण्डिएर गाडीको खोजी गर्न थालिएको छ।
शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईका अनुसार बोलेरो गाडी खसेको अनुमान छ।
‘सेना क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयासमा छ। तर नदी खोजी गर्न अनुकूल देखिएको छैन,’ उनले भने, ‘अहिलेसम्म बोलेरो गाडी हो भन्ने मात्रै आएको छ। त्यसमा मान्छे कतिजना, कहाँबाट आएको, नम्बर कति केही पनि खुल्न सकेको छैन।’
क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयास गरिरहेको भए पनि खोज्न कठिन भएको उनले बताए।
स्थानीयले दुई वटा टायर देखेको भनेर खबर गरेपछि प्रहरी घटनास्थलमा खटिएका छन्।
‘टायर देखिएको भनेर खबर आएपछि सुरक्षाकर्मीहरूले खोजी थालेका छन्,’ डिएसपी भट्टराईले भने, ‘भारी वर्षाका कारणले भोटेकोशीको बहाव एकदमै बढेको छ।’
अहिले खोजी गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।
भिडिओ: