नेपालबाट अस्ट्रेलिया आएका नेपालीहरूमा यस्तै खालको मानसिक समस्या देखिन्छ भनेर कुनै अनुसन्धान भएको छैन। तर फाट्टफुट्ट हाम्रो क्लिनिक, नजिकैका जनरल प्राक्टिसनर र समुदायका नेताहरूले दिएको जानकारी लगायतलाई आधार मान्ने हो भने डिप्रेसन र एन्जाइटी बढी मात्रामा देखिन्छ। त्योसँगै कडा खालका मानसिक रोग लागेका बिरामी समेत देखिएका छन्। कडा मानसिक रोग लागेका व्यक्तिहरूमा नेपालमै समेत यस्तो समस्या भएको पाइएको छ। उनीहरूले कुनै कारणले औषधी छाडेका कारण फेरि बल्झिएको पाइएको छ।
अस्ट्रेलियामा नेपालमा जस्तै सोझै विशेषज्ञ चिकित्सककहाँ जाने भन्ने हुँदैन। यहाँ जनरल प्राक्टिसनरको सिफारिस भएपछि मात्र विशेषज्ञलाई भेट्न पाइन्छ। त्यसपछि विशेषज्ञ चिकित्सकले उपचार गर्ने हो। धेरैजसो मानसिक समस्या भएका व्यक्तिलाई विशेषज्ञ चिकित्सकको सहयोग चाहिँदैन। त्यसको लागि जनरल प्राक्टिसनरकै तहबाट उपचार गराउन सकिन्छ। जनरल प्राक्टिसनरले औषधी चाहिन्छ कि चाहिँदैन या विशेषज्ञ चिकित्सकको उपचार चाहिन्छ कि चाहिँदैन भनेर निर्णय गर्न सक्छन्।
कहिलेकाहीँ जनरल प्राक्टिसनरले बिरामीको अवस्था हेरेर इमर्जेन्सी उपचार चाहिने भन्न पनि सक्छन्। त्यस्तो अवस्थामा आकस्मिक मानसिक उपचारको लागि एम्बुलेन्स बोलाउन समेत सक्छन्।यस्तो भन्दै गर्दा मानसिक स्वास्थ्यको पनि इमर्जेन्सी हुन्छ र भन्ने आउन सक्छ। मानसिक समस्याको कारणले आत्महत्याको विचार आउने र त्यसतर्फ उद्दत छ भने तत्काल आकस्मिक उपचारको जरूरत पर्न सक्छ। त्यस्तै मानसिक समस्याले धेरै उत्तेजित हुने लगायतका समस्या देखिएमा पनि आकस्मिक उपचार जरूरी पर्छ।
कस्तो अवस्थामा जनरल प्राक्टिसनरलाई भेट्ने?
आफूलाई कुनै खालको मानसिक तनाव भएमा जनरल प्राक्टिसनर (जिपी) कहाँ जानुपर्छ। कस्तो अवस्थामा जिपीलाई भेट्ने भन्ने हुनसक्छ। त्यसका लागि केही लक्षणहरू पहिचान गर्नुपर्छ।
-सोचाइमा परिवर्तन आएमा
-भावनामा परिवर्तन आएमा
- दैनिक जनजीवन परिवर्तन भएमा
- अत्यधिक मात्रामा आत्तिने हुन्छ
-आफ्ना विगतका इच्छाहरू कम हुँदै जानु
- खाना रूचि कम वा बेसी भएमा
- साथीभाइ आफन्तलाई भेट्न मन नलाग्नु
-फरक र नकारात्मक विचार आउनु
-आफैलाई हानी गर्ने सोच आउनु
कहिलेकाहीँ मानसिक समस्या भएका व्यक्तिहरूको मनोबल अत्यधिक देखिन सक्छ। यस्तो बेलामा उसका नजिकका साथी र आफन्तले यसको पहिचान गरेर ध्यान दिनुपर्छ।
नेपालबाटै मानसिक समस्या भएर आउनेहरूले के गर्ने?
नेपालबाटै मानसिक समस्या लिएर आउनेहरूले नेपालको चिकित्सकको सुझावलाई ध्यान दिनुपर्छ। औषधी खान भनेको छ भने खानुपर्छ। अब मलाई ठीक भयो भनेर औषधि छोड्न हुँदैन।चिकित्सकले नै छोड्न भनेको छ भने अलग कुरा हो। छोटो समयका लागि आउने बिरामीले चिकित्सकको प्रेसक्रिप्सन सहितको औषधी ल्याउनु पर्छ। यहाँ आउँदा सधैं नेपालबाटै औषधी मगाउन सम्भव हुँदैन। त्यसैले नेपालको जुन चिकित्सकले जुन औषधी प्रेसक्रिप्सन गर्नुभएको छ उहाँहरूमार्फत् इमेल अथवा कुनै माध्यमबाट प्रष्टसँग लेखाउनुपर्छ।
चिकित्सकले औषधीको नाम लेख्दा ब्राण्डको नामभन्दा पनि औषधीको जेनेरिक नाम लेख्नुपर्छ। कति खाने, अनि कुन समयमा खाने सबै प्रष्टसँग लेख्नुपर्छ। चिकित्सकले त्यति गर्दिएमा यहाँको जिपीलाई देखाउँदा त्यसको विशेष अर्थ हुन्छ। त्यसलाई एउटा प्रमाणको रूपमा लिन मिल्छ। यहाँको चिकित्सकसँग भाषा लगायतका समस्या भयो भने पनि नेपालबाट ल्याएको प्रेसक्रिप्सनले सहज बनाउँछ। नेपालमा प्रयोग हुने मानसिक रोगका औषधीहरू अस्ट्रेलियामा किन्दा पनि मूल्यमा धेरै फरक पर्दैन। किनकि नेपालमा पनि औषधी पक्कै पनि सस्तो छैन होला। त्यसैले केही समयका लागि बाहेक लामो समयसम्म चाहिन्छ भनेर नेपालबाटै औषधीको पोका बोकेर आउनुपर्छ भन्ने छैन।
कतिपय अवस्थामा नेपालका चिकित्सकले अस्ट्रेलियामा आफूले चिनेका चिकित्सकलाई गएर भेट्नु भनेर पठाउँछन्। त्यस्तो गर्नु गलत हो। किनिक यहाँ जिपीलाई नभेटिकन विशेषज्ञ चिकित्सकलाई भेट्न असम्भव छ। कतिपय बिरामीले सिधै मलाई फोन गरेका हुन्छन्। मेरो यो औषधी सकियो मलाई फलानो डाक्टरले तपाईंलाई भेट्न भन्नुभएको छ भनेर भनेका हुन्छन्। यस्तो अवस्थामा हामीले गर्न मिल्ने केही हुँदैन। मानसिक रोग उपचारको तालिम लिएका कतिपय जिपी आफैले मानसिक समस्याको उपचार गर्न सक्छन्। अर्को कुरा विशेषज्ञकहाँ जाने भनेको लामो समयसम्म पर्खिन पर्ने पनि हुनसक्छ। त्यस्तै खर्च पनि धेरै लाग्न सक्छ।
अस्ट्रेलियामा मानसिक रोग लागेमा के गर्ने?
अस्ट्रेलियामा मानसिक बिरामीका लागि एउटा त मूलधारको उपचार प्रणाली छ। त्यो भनेको यहाँको पब्लिक तथा प्राइभेट हस्पिटल हुन्। अर्को भनेको गैरसरकारी संस्थाहरू हुन्छन्। उनीहरूले मानसिक समस्या भएकाहरूका लागि विभिन्न खालका जानकारी अनि काउन्सिलिङ गर्छन्। जस्तो: बिओण्ड ब्लु भन्ने संस्थाको हटलाइन समेत छ। उनीहरूको वेबसाइटमा विभिन्न खालका जानकारीमूलक सामग्री हुन्छन्।
त्यस्तै, हटलाइनमा फोन गर्यो भने काउन्सिलिङ गरेर अब यसपछि कहाँ जाने भनेर समेत सल्लाह दिइन्छ। कतिपय अवस्थामा सोसल वर्करहरूले समेत सहयोग गर्छन्। अर्को नियामी नेसनल भन्ने संस्था छ। यसले विद्यार्थीहरू अनि जसको मेडिकेयर छैन, उनीहरूको लागि काउन्सिलिङ दिने काम गर्छन्। यस्ता थुप्रै संस्थाहरू छन्। यसबारे नेपाली समुदायका नेताहरूलाई थाहा भयो भने सजिलो हुन्छ।
कस्तो अवस्थामा बिरामी नेपाल जाने?
कहिलेकाहीँ मानसिक समस्या भन्नसाथ आफूलाई नियन्त्रण गर्न नसक्ने अवस्था भन्ने बुझ्ने गरिन्छ। तर धेरैलाई हुने मानसिक रोग भनेको डिप्रेसन र एन्जाइटी हो। डिप्रेसन भएका बिरामीलाई लगातारको उदासपन हुन्छ भने एन्जाइटी भएका बिरामीमा आत्तिने समस्या हुन्छ। आत्तिने परिस्थितिमा धेरै आत्तिएको र आत्तिनै नपर्ने परिस्थितिमा आत्तिएको छ भने अस्ट्रेलियामै उपचार र काउन्सिलिङ गर्न सकिन्छ। तर जसको मेडिकेयर सुविधा छैन, जो विद्यार्थी भिसामा हुन्छ, जसलाई चिकित्सकको बाहेक अन्य सेवा चाहिन्छ भने उसलाई गाह्रो हुन सक्छ। कडा खालको डिप्रेसनले गर्दा काम र पढाइमा केन्द्रित नभएको हुनसक्छ। कतिपय अवस्थामा अन्य कडा खालको मानसिक समस्या समेत हुनसक्छ। त्यस्ता बिरामीहरू लगातार उपचारमा रहिरहन पर्ने हुन्छ। उनीहरूले आफ्नो हेरचाह समेत गर्न सकेका हुँदैनन्। त्यस्ता बिरामीको नेपालमै सहज तरिकाले उपचार हुनसक्छ।
अर्को कुरा अस्ट्रेलियाको उपचार सिस्टम भनेको आफ्ना नागरिकका लागि हो। यहाँ लाखौंको संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी भए पनि उनीहरूको लागि आफैले उपचारको व्यवस्था गरोस् भन्ने हो।मेडिकेयर सुविधा भएकाले नि:शुल्क पाउने सेवा इन्स्योरेन्स हुनेहरूले समेत लिन महंगो पर्न सक्छ। त्यसमा पनि पहिला पैसा तिरेर अनि इन्स्योरेन्सको दाबी गर्नुपर्ने समेत हुन्छ। जस्तो मानसिक रोग विशेषज्ञले दिने काउन्सिलिङ यहाँ स्थायी बसोबास गर्नेहरूलाई नि:शुल्क हुन्छ। तर अन्यको हकमा इन्स्योरेन्स भए पनि कुन-कुन सेवा लिएको छ भन्नेले समेत निर्धारण गर्छ। मेरो जानकारी भए अनुसार विद्यार्थीको इन्स्योरेन्स कार्डले धेरै सेवा दिन्छ तर सबै सेवा दिन्छ भन्ने हुँदैन। यस्तो अवस्थामा कुनै उपचार गर्दा यहाँ सहज भए पनि अरूको हेरचाह चाहिने खालको उपचारका लागि नेपालमै सहज हुन्छ।
(वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनुपम पोखरेल २० वर्षदेखि अस्ट्रेलियामा कार्यरत छन्। हाल उनी मेलवर्नस्थित मोनास तथा अष्ट्रिन हेल्थमा कार्यरत छन्। मानसिक रोग विशेषज्ञ पोखरेलसँग सेतोपाटीका लागि सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)